नेपाली बैंकबाट ५ अर्ब लुट्ने ह्याकर ‘काले’को योजना– आमादेखि मामासम्म संलग्न | Khabarhub Khabarhub

नेपाली बैंकबाट ५ अर्ब लुट्ने ह्याकर ‘काले’को योजना– आमादेखि मामासम्म संलग्न



काठमाडौं– असोज ५ गते (आइतबार) । करिब ३ बजेतिर महानगरीय अपराध महाशाखामा एउटा सूचना आयो– एउटा व्यक्तिले शंकास्पद कारोबार गरिरहेको बारे ।

उक्त सूचना काठमाडौंको नयाँ बानेश्वरस्थित पानस रेमिटबाट आएको थियो । पानस रेमिटमै काम गर्ने एक कर्मचारीको आइडीबाट फरक फरक समयमा ६० हजारका दरले ६ पटक गरी पैसा निकालिएको सूचना अपराध मशाखामा पुगेको थियो ।

शंकास्पद कारोबारको सूचना पाउनेवित्तिकै अपराध महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले विशेष टोलीलाई ‘मूभ’ हुन निर्देशन दिए । थापालगायतका अधिकारीले महाशाखाको कार्यालयबाटै शंकास्पद कारोबारबारे थप सूचना तथा जानकारी लिए ।

आमादेखि मामासम्म ह्याकिङमा

महाशाखाबाट खटिएको विशेष टोलीले केही घण्टामै ३ जना व्यक्तिलाई पक्राउ गर्‍यो । पक्राउ परेकामध्ये पानस रेमिटका कर्मचारी १८ वर्षीय निमा तामाङले आफ्नो ‘मामा’ले भनेअनुसार पैसा निकालेको प्रहरीलाई बयान दिए ।

निमाले ‘मामा’कै आग्रहमा आफ्नी दिदी २० वर्षीया निर्मला तामाङ र आमा ४० वर्षीया लक्ष्मी लामा तामाङलाई पनि पैसा निकाल्न लगाएको बताए ।

ह्याकरहरुबाट बरामद भएको नगद

निमाको बयानपछि प्रहरीले उनले भनेका ‘मामा’को खोजी गर्‍यो । निमाले भनेका मामा थिए, नुवाकोटको मेघाङ गाउँपालिका–४ का ४३ वर्षीय लवाङ तामाङ ।

लवाङको खोजीमा जुटेको प्रहरीले आइतबार राति १ बजेमात्रै उनलाई फेला पार्‍यो । काठमाडौंको बालाजुमाथिको क्षेत्रबाट लवाङ पक्राउ परे ।

प्रहरीले लवाङसँग सोधपुछ शुरु गर्‍यो । प्रहरीसँगको बयानका क्रममा उनले कृषि विकास बैंकबाट ३१ लाख रुपैयाँ झिकेको र उक्त पैसा पुष्प (सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका ४२ वर्षीय पुष्पराज खड्का)लाई राख्न दिएको बताए । प्रहरीले रातारात पुष्पको पनि खोजी शुरु गर्‍यो ।

पुष्प पनि आइतबार राति नै बालाजु क्षेत्रबाटै पक्राउ परे । प्रहरीले पुष्पको साथबाट ३१ लाख रुपैयाँ बरामद गर्‍यो । प्रहरीले पैसाको स्रोतबारे सोधखोज गरेपछि यकीन भयो, उनीहरु बैंक ह्याकिङमा संलग्न गिरोहका सदस्य हुन् ।

प्रहरीले कृषि बिकास बैंक ह्याकिङ प्रकरणमा संलग्न १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट मेघाङ, लवाङ तामाङ, रसुवा नौकुण्डकी लक्ष्मी लामा तामाङ, निर्मला तामाङ, निमा तामाङ, सर्लाहीका हरिवनका पुष्पराज खड्का, काठमाडौं तार्केश्वरका २६ वर्षीय संजय घले, लमजुङ दोर्दीका विद्यासागर लामिछाने, तनहुँको भानु नगरपालिकाका २३ वर्षीय श्रवण कुमार श्रेष्ठ, भक्तपुर ठिमीकी २३ वर्षीय सुनिता श्रेष्ठ, भारतको कलकत्ता घर भइ काठमाडौंको टेबहाल बस्ने ३० वर्षीय शुबन्कर पन्जा, कैलालीको भजनी नगरपालिकाका २२ वर्षीय विजय शाह र चन्द्र बहादुर बुढा छन् ।

बैंकका कर्मचारीले पत्याएनन् ह्याकिङको घटना

प्रहरीले आइतबार राति करिब ३ बजेतिर कृषि बिकास बैंकको अपरेशन डिपार्टमेन्टका अधिकारीहरुलाई सम्पर्क गरेर ह्याकरहरुले बैंकबाट पैसा लुटेको जानकारी गराएको थियो । तर, बैंकका कर्मचारीले आफूहरुको प्रणालीमा कुनै पनि ह्याकिङ नभएको जानकारी दिए ।

बैंकका कर्मचारीको जवाफ पछि पनि प्रहरीले अनुसन्धान जारी राख्यो । सोमबार बिहान नै अपराध महाशाखाको टोली कृषि बिकास बैंकको मुख्य कार्यालय पुग्यो । प्रहरी टोलीले नै अनुसन्धानमा सक्रियता देखाएपछि बैंकका कर्मचारीले आफ्नो प्रणालीबारे ‘भेरिफिकेशन’ शुरु गरे । भेरिफिकेशनको क्रममा पत्ता लाग्यो, बैंकिङ प्रणालीबाट झण्डै ५ करोड (४ करोड ७३ लाख ९६ हजार) रुपैयाँ ‘चोरी’ भइसकेको रहेछ ।

तर, कृषि विकास बैंकको ह्याकिङमा भने अपेक्षाभन्दा फरक अभ्यास भएको देखियो । आर्थात् ह्याक गरेर चोरिएको रकम नेपाली नागरिककै नाममा खोलिएका बैंक खातामा गएको देखियो ।

यसरी चोरी भएको रकम केही रेमिट कम्पनी, विकास बैंक, कृषि विकास बैंककै विभिन्न शाखामा खोलिएका नेपाली नागरिकका खातामा जम्मा भएको थियो । प्रहरीका अनुसार यस्ता खाता ८ जना नेपाली नागरिकको नाममा खोलिएका थिए ।

प्रहरीले सबै नागरिकको ‘केवाईसी’ (नोन योर कस्टुमर) फर्म मगाएर अनुसन्धान शुरु गर्‍यो । अनुसन्धान शुरु भएपछि देशका विभिन्न ठाउँमा रहेका ८ जनाको यकीन भयो । जसमध्येका २ जना आइतबार राति नै पक्राउ परिसकेका थिए । बाँकी ६ जनालाई पक्राउ गर्न महाशाखाले विभिन्न जिल्लाका प्रहरी कार्यालयसँग समन्वय गर्‍यो ।

५ अर्ब लुट्ने योजनाका साथ लागेका थिए ‘काले’का एजेन्ट

प्रहरीका अनुसार ह्याकिङ प्रकरणका मुख्य योजनाकार एक विदेशी नागरिक हुन् । उनले नै विभिन्न नेपाली नागरिकसँग सम्पर्क गरी, समय–समयमा भारतको मुम्बई बोलाइ, आवश्यक तालिम दिएर ह्याकिङका लागि परिचालन गरेका थिए । यसरी तालिम लिनेमा ८ जना एजेन्ट रहेका प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार नेपालमा ह्याकिङ गर्न एजेण्ट परिचालन गर्ने विदेशी नागरिकको नाम पिटर हो । नेपाली एजेण्टहरुले उनलाई ‘काले’ भनेर चिन्छन् । ‘उसले नेपालीसँग नेपाली, भारतीयहरुसँग हिन्दी र अन्य देशका व्यक्तिसँग अंग्रेजी भाषामा कुरा गर्छन् रे,’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी शहकुल थापा भन्छन् ।

एसएसपी थापाका अनुसार उनीहरुले धेरै लामो समयदेखिको योजनाका आधारमा नेपालका बैंकहरुलाई ‘टार्गेट’मा राखेका थिए ।

‘ह्याकिङलाई सफल बनाउनकै लागि भारतमा रहेका भनिएका पिटर भनिने व्यक्तिले नेपालका एजेन्टमाथि पनि धेरै लगानी गरेको देखिन्छ,’ एसएसपी थापा भन्छन्, ‘उनीहरुले लामो समयदेखि नेपालका विभिन्न बैंकको प्रणालीमाथि आक्रमण गरेर लुट्ने योजना थियो ।’

वाणिज्य बैंकको ह्याकिङमा विकास बैंकको संलग्नता

प्रहरीका अनुसार कृषि विकास बैंकको मास्टर अकाउण्ट (मुख्य खाता)बाट ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ ‘चोरी’ भएको थियो । तर, चोरी भएकोमध्ये ६० लाख रुपैयाँ मात्रै कृषि बिकास बैंकभन्दा बाहिर गएको देखिन्छ ।

कृषि बिकास बैंकबाट बाहिर गएको ६० लाखमध्ये ३१ लाख रुपैयाँ पुष्पराज खड्का र लवाङ तामाङको साथबाट बरामद भएको थियो । १२ लाख रुपैयाँ काठमाडौंको नयाँ बानेश्वरस्थित पानस रेमिटबाट ह्याक भएको थियो भने, १५ लाख रुपैयाँ कैलाश विकास बैंकको मास्टर अकाउण्ड (मुख्य खाता)मा ट्रान्सफर भएको थियो ।

प्रहरीका अनुसार कैलाश विकास बैंकको सर्भर प्रयोग गरेर कृषि बिकास बैंकको मास्टर खाताबाट १५ लाख चोरी भएको छ ।

अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापा

‘कैलाश विकास बैंकमा थप रकम पनि ट्रान्सफर हुने सम्भावना रहेछ । तर, हामीले अनुसन्धान शुरु गरेपछि बैंकको मास्टर अकाउन्टबाट हुने कारोबार तत्कालका लागि रोक्न भनेर अनुरोध गरेका कारण थप रकम चोरी हुन पाएन,’ अपराध महाशाखाका प्रमुख थापा भन्छन्, ‘यो ह्याकिङमा बैंककै संलग्नताजस्तो देखिन्छ । सायद बैंकका उच्च तहका कर्मचारी संलग्न हुन सक्छन् । यस विषयमा अहिले हामीले अनुसन्धान गरिरहेका छौं ।’

हुन्डी कारोबारी मुख्य सहयोगी

प्रहरीका अनुसार नेपाली बैंक ह्याक गरेर भारतमा रहेका ह्याकरसम्म पुर्‍याउनमा मुख्य सहयोगीको रुपमा केही हुण्डी कारोबारी सक्रिय रहेका पाइएको छ । जसमध्येका १ जना भारतीय नागरिक शुबन्कर पन्जा पक्राउ परिसकेका छन् ।

भारतको पश्चिम बंगालअन्तर्गतको कलकत्ता घर भएका पन्जा विगत केही समयदेखि काठमाडौंमा बस्दै आएका थिए । उनले काठमाडौंको न्यूरोडमा गहना पसल समेत चलाउँदै आएका थिए ।

गहना पसलको आवरणमा लामो समयदेखि हुन्डी कारोबारीका रुपमा सक्रिय पन्जा नेपाली बैंक ह्याक गरेर चोरीएको पैसा भारत पुर्‍याउनका लागि मुख्य सहयोगीका रुपमा सक्रिय रहेका प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार नेपालका मुख्य ८ जना एजेन्टले आफूले १० देखि ३५ प्रतिशतसम्म कमिशन राखेर बाँकी रकम भारतमा रहेका ह्याकरलाई पठाउने योजना बनाएका थिए । जसका लागि उनीहरुबीच ह्वाट्एपमा कुराकानी हुने गरेको थियो ।

प्रहरीका अनुसार म्यासेजिङ एप् ह्वाट्सएपमा छुट्टै च्याटिङ ग्रुप नै बनाएका थिए । सोही च्याटिङ ग्रुपमा उनीहरुबीच ह्याकिङका विषयमा कुराकानी हुने गरेको थियो ।


तस्वीर– अदीप श्रेष्ठ

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ६ : ३७ बजे

सुनको मूल्य घट्याे, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

सवारी दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते

कास्की– पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा आठजना चिनियाँ पर्यटक

सुदूरपश्चिममा सरकारमा दाबी गर्न दिएको समय आज सकिँदै

धनगढी– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ मुख्यमन्त्री दाबी

लगानी सम्मेलन : हात्ती आयो फुस्सा !

काठमाडौं– सरकारले आगामी वैशाख १६ र १७ गते ‘नेपाल इन्भेष्टमेन्ट

सार्वजनिक पदमा रहेकाले सामुदायिक विद्यालयमा सन्तान पढाउनुपर्ने

गोरखा– गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना