चीनमा राष्ट्रपतिको सम्बोधन : नेपाल २०३० अगाडि नै मध्यम आय भएको राष्ट्र बन्ने बाटोमा | Khabarhub Khabarhub

चीनमा राष्ट्रपतिको सम्बोधन : नेपाल २०३० अगाडि नै मध्यम आय भएको राष्ट्र बन्ने बाटोमा


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सन् २०३० अघि नै दिगो विकासको लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्ने बाटोमा रहेको बताएकी छन् ।

दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय फोरम (बीआरआई)लाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले छिमेकी लगायत अन्य मित्र राष्ट्रहरुसँग द्धिपक्षिय तथा बहुपक्षिय सहकार्य र सहयोग बढाउने नेपालको चाहना रहेको पनि बताइन् ।

‘लामो राजनीतिक संक्रमणपश्चात नेपालले राजनीतिक स्थायीत्व प्राप्त गरेको छ । हाम्रो अबको उद्देश्य जनताको जीवनस्तरमा देखिने गरी परिवर्तन ल्याउनु हो । हाम्रो राष्ट्रिय चाहना समृद्ध नेपाल सुखी नेपालीको उद्देश्यद्वारा निर्देशित छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘अति कम विकसित राष्ट्रबाट स्तरोन्नती हुनु हाम्रो तत्कालको उद्देश्य हो । हामी सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न चाहान्छौं ।’

पढ्नुहोस् राष्ट्रपति भण्डारीको सम्बोधनको पूर्णपाठ,

महिला तथा सज्जनवृन्द,

मैले यहाँहरु सबैका लागि बुद्धको भूमि तथा सर्वोच्च शिखर सगरमाथाको देश, नेपालको सरकार तथा जनताका तर्फबाट न्यायो अभिवादन तथा शुभेच्छा टक्राएको छु ।

यस महत्वपूर्ण कार्यक्रममा सहभागीताका लागि आमन्त्रण गर्नु भएकोमा तथा न्यायो आतिथ्यता प्रदान गर्नु भएकोमा म महामहिम सि जिन फिङ्गलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु । साथै चिनियाँ जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वर्षगाँठका अवसरमा चिनियाँ सरकार र जनतालाई हार्दिक बधाइ दिन चाहान्छु ।

विश्व आज गम्भीर परिवर्तनको मोडमा छ । संसारका धेरैजसो भागमा गरिबी घटेको छ । स्वास्थ्य तथा शिक्षामा पहुँच सहज बनेको छ । र धेरै अर्थतन्त्रहरु समृद्ध बन्दै गइरहेका छन् । अभुतपूर्वस्तरका प्रारम्भिक क्रान्तिले सम्भावनाहरुको ढोका खोलिदिएको छ । आपसी सहयोग नभएको भए यी उपलब्धीहरु सम्भव हुने थिएनन् । आपसी सहकार्यविना यी सफलता सोच्न सकिने थिएन ।

यसका बाबजुद नयाँ तथा पुराना चुनौतीहरु स्पष्ट रुपमा देखा परेका छन् । सम्पत्तिको असमान वितरण व्याप्त छ । धेरैका लागि विकासका प्रतिवद्धताहरु पूरा भएका छैनन् । करोडौं मानिसहरु गरिबीको अमानवीय चक्रमा अहिले पनि बाँचेका छन् । संरक्षणवाद र एकांकी प्रवृत्तिहरु सतहमा आइरहेका छन् ।

त्यसप्रकारको पश्चगामी सोचले कठिन रुपले आर्जन गरिएका उपलब्धीहरुलाई संकटमा पार्ने मात्र नभइ भावि पुस्तालाई समेत अन्यायमा पार्ने छ । विश्वमा कुनै एक कुनामा व्याप्त गरिबी पूरै विश्वका लागि खतरा बन्न सक्छ भन्ने कुरा हामीले स्वीकार गर्नुपर्दछ ।

तसर्थ विविध चुनौतिको बढोत्तरीले कम होइन, अझ बढी सहकार्यको माग गरेको छ । सम्पन्न हुन बाँकी विकासले कम होइन, अझ बढी आपसी सहयोगको माग गर्दछ । उज्जवल र अझ राम्रो भविष्यको खोजले कम होइन, अझ बढी सम्पन्न सन्जालको माग गर्दछ ।

एसिया विश्व अर्थतन्त्रको एक प्रमुख शक्ति हो । समृद्ध विश्वको भविष्यका लागि यो क्षेत्र अझ बढी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अवस्थामा छ । धेरै समृद्ध सभ्यता भएकाले एसियाको भविष्य, सहनशीला र सहकार्यमा आधारित हुनुपर्दछ ।

बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत् मानव जातीको साझा भविष्य निर्माण गर्ने राष्ट्रपति सिको दुरदृष्टिले विशाल सम्भावना बोकेको छ । यो सहकार्य, सहयोग र सम्पन्नताको लागि एक महत्वपूर्ण क्षण हो । आपसी हितका लागि संयुक्त प्रयास, न्यायोचित र समतामुलक विश्व व्यवस्थाका लागि समावेशी विकास र मानव जाति तथा पृथ्वीको सुरक्षाका लागि हरित विकास यसको मर्म हो । यसले कनेक्टिभिटीको प्रवर्द्धन, पूर्वाधार विकास, बजारलाई जोड्ने तथा यस क्षेत्र एवम् बाहिरका देशहरुमाझ बिभिन्न क्षेत्रमा सहयोगको अभिवृद्धिमा जोड दिएको छ । यसले एकांकीपनको सट्टा खुलापन, टकरावको सट्टा सहयोग तथा अर्थहीन खेलको सट्टा लाभमा आधारित सहयोगको प्रवर्द्धन गर्दछ ।

विश्वव्यापीरुपमा स्रोतसाधनको ठूलो अभाव रहेको परिप्रेक्षमा दिगो विकासका लक्ष्यहरु कार्यान्वयन गर्न बीआरआईले महत्वपूर्ण भूमिका निर्धारण गर्न सक्दछ । साथै विकासको फलबाट कुनै पनि विचार र कुनै पनि राष्ट्र विमुख नहुने किसिमको समृद्ध भविष्यका लागि बीआरआई एक माध्यम बन्न सक्दछ ।

नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्ण छ । बढ्दो कनेक्टिभिटीसँगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धको लागि व्यापक अवसरहरुको ढोका खुल्दछ ।

नेपाल चीन सीमाना पार रेलवे लगायत हिमालय वा बहुआयामिक कनेक्टिभिटी नेटवर्कको विकासले नेपाल र चीनबीच मात्रै नभई यस क्षेत्रका अन्य देशसँग समेत कनेक्टिभिटीलाई प्रवर्द्धन गर्दछ ।

लामो राजनीतिक संक्रमणपश्चात नेपालले राजनीतिक स्थायीत्व प्राप्त गरेको छ । हाम्रो अबको उद्देश्य जनताको जीवनस्तरमा देखिने गरी परिवर्तन ल्याउनु हो । हाम्रो राष्ट्रिय चाहना समृद्ध नेपाल सुखी नेपालीको उद्देश्यद्वारा निर्देशित छ । अति कम विकसित राष्ट्रबाट स्तरोन्नती हुनु हाम्रो तत्कालको उद्देश्य हो । हामी सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न चाहान्छौं ।

हाम्रा विकासका चुनौतीहरु सामना गर्न छिमेकीहरु लगायत अन्य मित्र राष्ट्रहरु तथा विकासका साझेदारसँग द्वीपक्षीय तथा बहुपक्षीय सहकार्य र सहयोग बढाउन चाहान्छौं ।

अन्तमा दिगो विश्व शान्ति र समृद्धि हासिल गर्न न्यायपूर्ण, निष्पक्ष, समतामुलक, समावेशी र नियममा आधारित विश्व व्यवस्था निर्माण गर्नेतर्फ हाम्रो सामुहिक प्रयास अघि बढाउन अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो वेल्ट एण्ड र रोड फोरम सक्षम हुने छ भन्ने विश्वासका साथ यस सम्मेलनको भव्य सफलताको लागि शुभकामना दिन चाहान्छु ।

धन्यवाद ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ३ : ११ बजे

एनपीएल विजेता जनकपुर ब‍ोल्टसलाई रौतहटमा भव्य स्वागत

काठमाडौं– नेपाली प्रिमियर लिग (एनपीएल)  विजेता टीम जनकपुर बोल्ट्सका खेलाडीहरूलाई

फेवातालमा ड्रागन बोट रेस फेस्टिभल (तस्बिरहरू)

पोखरा- आइतबारदेखि पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस

पर्यटकको आकर्षक केन्द्र बन्दै जखेरा ताल 

दाङ– लमही नगरपालिका–३ मा पर्ने जखेरा ताल पछिल्लो समय आन्तरिक

सोवारिग्पा शिक्षालाई व्यवस्थित गर्न जोड

काठमाडौं– शताब्दीऔँदेखि प्रचलनमा रहेको सोवारिग्पा उपचार पद्धतिसम्बन्धी उच्च शिक्षा अध्ययन

विपन्न परिवारका विद्यार्थीलाई ट्रयाक सुट

उर्लाबारी-अरनिको हस्पिटल उर्लाबारीले मोरङको मिक्लाजुङ-३स्थित सूर्यमुखी प्राथामिक विद्यालयका विद्यार्थीलाई ट्रयाक