आज जुन २६ अर्थात लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस ।
‘समृद्ध राष्ट्र निर्माणका लागि लागु औषधरहित स्वस्थ जीवन’ भन्ने मुल नाराका साथ सरकारले सचेतवनामूलक कार्यक्रम गरी यो दिवस मनाउँदै छ। सरकारले लागुऔषध प्रयोगकर्तालाई निस्तेज पार्ने र लागुऔषतको लतबाट हटाउने भन्दै वर्षेनी करोडौं रकम खर्चंदा यसको प्रभाव भने शून्यझैँ देखिन्छ ।
नयाँ अध्ययनअनुसार लागुऔषध प्रयोगकर्ताको संख्या प्रत्येक वर्ष बढ्दो छ। नेपालमा मात्र प्रत्येक वर्ष साढे १० हजार लागुऔषध प्रयोगकर्ता देखिने गरेको तथ्य सार्वजनिक भएको छ ।
लागुऔषध प्रयोग गर्ने डेढलाख नेपाली
केन्द्रीय तथ्याङ्क विभागले २०६३ सालमा गरेको अनुसन्धान अनुसार, नेपालमा ४६ हजार व्यक्ति लागुऔषध प्रयोग गर्ने गरेका थिए। यो तथ्यांक २०६९ सालमा आईपुग्दा बढेर ९१ हजार १ सय ५० पुग्यो । विभागले निकालेको तथ्यांकमा यो संख्या प्रतिवर्ष ११ दशमलव ६ प्रतिशतले बढ्ने गरेको उल्लेख छ।
त्यसयता सरकारले नयाँ तथ्यांक निकालेको छैन । २०६९ सालको तथ्यांकमा कुल ९१ हजार ५ सय ३४ मध्ये पुरुष ८५ हजार २ सय चार जना (९३.१) प्रतिशत र महिला ६ हजार ३ सय ३० (६.९) प्रतिशत लागुऔषध प्रयोगकर्ता थिए । लागुऔषध प्रयोगकर्ताको वृद्धिदर प्रतिवर्ष ११.६ प्रतिशतलाई नै आधार मान्ने हो भने पछिल्लो ६ वर्ष अर्थात २०७५ सम्मको संख्या १० हजार ६ सय १७ जनाको दरले बढेको देखिन्छ ।
२०६९ यताको पाँच वर्षलाई आधार मान्दा प्रतिवर्ष ११.६ प्रतिशतको वृद्धि जोड्दा ६३ हजार ७ सय १० जना बढेको देखिन्छ। २०६९ मा थपिएको संख्या जोड्दा अहिले नेपालमा डेढ लाखको हाराहारीमा लागूऔषध प्रयोगकर्ता छन् ।
यस्ता प्रयोगकर्तामध्ये १८ देखि २५ बर्ष उमेर समुहका युवापुस्ताको सङख्या झन्डै ८० प्रतिशत छ। पुरुषको संख्या बढी भए पनि महिला पनि लागुऔषधको कुलतमा फसेका छन् । दुई वर्षअघिको तथ्याङ्कमा महिला दुर्व्यसनीको संख्या ६ हजार ३ सय ३० थियो ।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका डिआइजी दिनेश अमात्यका अनुसार, लागूऔषध प्रयोतकर्ता सबैभन्दा बढी युवा देखिएका छन्। त्यसमा पनि कलेज पढ्ने र हुनेखाने परिवारका बढी छन् ।
२०६९ को तथ्यांकअनुसार कुल प्रयोगकर्ताको २० देखि २४ वर्षमुनीका ३३ प्रतिशत, २५ देखि २९ वर्षमुनीका २२ र १५ देखि १९ वर्षमुनीका २० प्रतिशले लागु औषधको प्रयोग गरेको पाइएको छ।
लागुऔषधको प्रयोग सुईबाट
लागुऔषध विश्लेषक कृष्णप्रसाद त्रिपाठीका अनुसार, लागुऔषधलाई प्राकृतिक, अर्ध प्राकृतिक वा अर्ध कृतिम र कृतिम गरी तीन भागमा वर्गीकरण गरिएको छ।
जसअनुसार प्राकृतिकतर्फ गाँजा, चरेश, अफिम आदि पर्छन । अर्ध प्राकृतिक वा अर्ध कृत्रिममा हिरोइन, कोकिन जस्ता औषध पर्छन। कृत्रिमतर्फ भने बुप्रेनर्फिन, डाइजेपाम, मेथाडोन आदि पर्दछन् ।
लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार, स्रोतको आधारमा ७०.१ प्रतिशत दुर्व्यसनीले अन्य दुर्व्यसनी साथीमार्फत लागुऔषध पाउने गरेका छन् भने ३०.७ प्रतिशत दुर्व्यसनीले घुम्ती लागुऔषधी बिक्रेताबाट खरिद गरी सेवन गरेको तथ्याङ्क छ। लागुऔषध सेवन गर्ने दुर्व्यसनीमध्ये ४३ प्रतिशतले मुखबाट र ५७ प्रतिशत दुर्व्यसनीले सुईमार्फत लागुऔषध प्रयोग गरेको पाइन्छ।
उत्पादन पनि ठूलो समस्या
नेपालमा लागुऔषध प्रयोग र तस्करीका हिसाबले मात्र नभई उत्पादनका हिसाबले पनि धेरै चुनौती देखाएको छ। पूर्वडिआइजी हेमन्त मल्लका अनुसार, नेपालमा दुई प्रकारका लागुऔषधको उत्पादन हुन्छ। एक गाँजा, अर्को अफिम। मल्ल भन्छन् –‘दुई ठूला राष्ट्र चीन र भारतको माग पूरा गर्न पनि नेपालमा गाँजा र अफिम उत्पादन हुन्छ।’
हुन त नेपालमा गाँजा र अफिमबाहेक भाँङ तथा धतुरो पनि उत्पादन हुन्छ। तर भाङ र धतुरो व्यवसायिक समस्याका रुपमा देखिएको छैन। लागुऔषध विश्लेषक त्रिपाठीका अनुसार, अहिले नेपालका आधा भन्दा बढी जिल्लाहरुमा लागुऔषधको खेती हुँदै आएको छ। उनी भन्छन्–पहिले पहिले नेपालका ७/८ वटा जिल्लामा मात्र व्यवसायिक रुपमा गाँजा र अफिम उत्पादन हुने गरेको थियो। त्यसमध्ये तराईका केही जिल्लाका साथ मकवानपुर र धादिङ पर्थे।
तर, अहिले रुकुम, रोल्पा, बाजुरा, भोजपुर, खोटाङ, रामेछापलगायत पहाडी जिल्लामा व्यवसायिक रुपमा गाँजाको खेती हुन्छ। यसबाहेका तराईका सिरहा, सप्तरी, महोत्तरी, धनुषालगायतका जिल्लामा अफिम खेती हुनेगर्छ। यो कुरा नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख डिआइजी दिनेश अमात्य पनि स्वीर्काछन्। उनी भन्छन्–अहिले नेपालका अधिकांश जिल्लामा गाँजा तथा अफिम उत्पादन हुन्छ। अहिले पनि प्रहरीले निरन्तर रुपमा गाँजा तथा अफिम खेती नष्ट गरिरहेको छ।
नेपालमा अबैध रुपमा उत्पादन हुने गाँजा भन्दा पनि अझ बढी अफिममा फाइदा हुने भएकाले तस्करले लुकिछिपी खेती गर्न लगाउने गरेको पाइएको छ। पूर्वडिआइजी मल्ल भन्छन्–सीमित पैसा पाउने लोभमा नेपाली कृषकहरुले गाँजा तथा अफिमको खेती गर्छन्। अनि उनीहरुलाई गाँजा तथा अफिम खेती गर्न तस्करहरुले उक्साउने गरेका छन्। उनी थप्छन्–‘नेपाली कृषकहरुलाई भारतीय तस्करहरु आएर गाँजा र अफिम खेती गर्न बीउ, मल तथा पैसा दिने गरेका छन्।
कारोबारले उत्पन्न गरेको समस्या
लागुऔषध अवैध ओसारपसार नियन्त्रण गर्न कानून कार्यान्वयन गर्ने निकायहरू क्रियाशील रहेपनि अन्तर्राट्रिय रुपमा संगठित र सक्रिय गिरोहको सञ्जालले गर्दा नियन्त्रण कार्य झन् चुनौतिपूर्ण बन्दै गएको छ। लागुऔषध ओसार पसारका लागि तस्करहरुले नेपाललाई ट्रान्जिट बनाएको विश्लेषकहरुको ठहर छ।
नेपाल प्रहरीका पूर्वएआइजी देवेन्द्र सुवेदीका अनुसार, खुला सिमानका कारण नेपाल र भारतको स्थलमार्ग हुँदै ठूलो परिणामका लागुऔषध ओसारपसार हुने गर्छ। भारतबाट ब्राउन सुगर, औषधीजन्य लागुऔषध, हेरोइन कोकिनलगायतका लागुऔषध नेपाल आउँछ। नेपालबाट गाँजा, चरेश र अफिम ठूलो परिमाणमा भारत तर्फ तस्करी हुने गर्छ। पूर्वडिआइजी मल्लका अनुसार, अन्तर्राष्ट्रिय तस्करहरुले काठमाडौंलाई ट्रान्जिट प्वाइन्ट बनाएका छन्। दक्षिण एसियामा उत्पादन हुने आधिकांश लागुऔषध भारतबाट नेपालको बाटो हुँदै यूरोप र अमेरिकी मुलुकसम्म पुग्ने गर्छ।
किन हुँदैन नियन्त्रण ?
नेपाल प्रहरीले लागुऔषध नियन्त्रण गर्ने भन्दै ब्यूरो नै बनाएर थुप्रै जनशक्ति छुट्याएपनि प्रविधिको अभावमा उपलब्धिमुलक नतिजा निकाल्न सकेको छैन। यतिसम्मकी कुन लागुऔषध हो र कुन होइन भनेर छुट्याउने प्रविधि समेत प्रहरीसँग छैन। प्रहरी प्रवक्ता विश्वराज पोखरेल भन्छन् – अनुमानका भरमा लागूऔषध चिन्नुपर्ने अवस्था छ।
अनुसन्धान भन्छ–लागुऔषधको प्रयोग बढ्दो छ। यसले हजारौं युवालाई बरवादीको बाटोमा पुर्याएको छ। अपराध बढाएको छ। तर, प्रहरीले चलखेल कम गर्न आफूहरु सक्रिय भएको दाबी गरेको छ। अनि विज्ञहरु भन्छन् – खुला सीमानाका कारण लागुऔषधको कारोबार बढेको हो। जे भएपनि अहिले लागुऔषध ठुलो समस्याको रुपमा देखिएको भने पक्का हो। यसको प्रकोप रोक्न हरेक क्षेत्रबाट प्रयास हुनु जरुरी छ।
यो पनि पढ्नुहोस्
लागुऔषध उत्पादन गर्न नेपालका किसानलाई भारतीयको लगानी!
प्रहरीको पारदर्शितामा प्रश्न : कहाँ जान्छ प्रहरीले बरामद् गरेको लागुऔषध ?
अन्तर्राष्ट्रिय लागुऔषध कारोवारीको नेपाल कनेक्सन, ५ वर्षमा ७४१ प्रहरीको फन्दामा
प्रतिक्रिया