साग खेलकुद : भारत र पाकिस्तानले स्वीकृति नपठाउँदा अलमल ! | Khabarhub Khabarhub

साग खेलकुद : भारत र पाकिस्तानले स्वीकृति नपठाउँदा अलमल !



काठमाडौं-असार २३ गते युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा शपथ लिइरहँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का १८ औं सदस्य सचिव रमेश कुमार सिलवाल गम्भिर मुद्रामा देखिएका थिए । उनीमात्रै होइनन्, त्यहाँ उपस्थित युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना लगायत अधिकाशं व्यक्तिहरु गम्भिर मुद्रामा उपस्थित थिए ।

१४ दिनसम्म सदस्य सचिव विहीन भएको राखेपले नयाँ नेतृत्व पाउँदा सिलवालबाट नेपाली खेलकुदले ठूलो अपेक्षा गरेको छ । राजनीतिक रुपमा नेकपाबाट राखेप प्रवेश गरेका सिलवाललाई काम गर्न सहज छ र उनीबाट पार्टीले पनि यही अपेक्षा गरेको हुनुपर्छ ।

अरु कुराहरुलाई यतिबेला ‘सेकेन्ड्री’ मा राखेर आफूले मंसिरमा नेपालमा आयोजना हुने गरि तय भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई प्राथमिकतामा राख्ने सदस्य सचिव सिलवालले बताएका थिए ।

तीन–तीन पटक सागको मिति सरिसकेको अवस्थामा राखेपको नेतृत्वमा आएका सिलवालले आफ्नो कारणले अर्थात्, नेपालले तयारी पूरा गर्न नसकेर सागको मिति सर्ने अवस्था नआउने दाबी गर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय समुदायसामू देशको प्रतिष्ठा बढाउने कार्यभार पाएका सदस्य सचिव सिलवाल अहिले पनि खेल समयमै हुनेमा ढुक्क छन् । आत्मविश्वासका साथ भन्छन्,‘साग तोकिएकै समयमा हुन्छ ।’

सदस्य सचिव सिलवालले दावी गरेपनि अहिलेकै अवस्थामा साग मंसिर १५ मा आयोजना हुनेमा शंका गर्ने ठाउँ प्रशस्तै छन् । चार महिना करीब बाँकी रहँदा सागका लागि आवश्यक पर्ने पूर्वाधार बन्न सकेका छैनन् भने खेलाडीको बन्दप्रशिक्षण शुरु हुन सकेको छैन ।

सागका लागि सरकारले दिने बजेटको पनि टुङ्गो लागिसकेको छैन । तर बजेट भाषणमा भने साग गर्नका लागि आवश्यक बजेट उपलव्ध गराउने उल्लेख गरिएको थियो ।

साग नजिकिएपनि बजेट, कार्यविधी, पूर्वाधारहरु नबन्नु र खेलाडीको बन्द प्रशिक्षणसमेत नहुँदा कसरी साग सञ्चालन हुन सक्छ भन्ने प्रश्नमा सदस्य सचिव सिलवाल भन्छन्,‘अहिले अन्य कुराहरु सेकेन्डरी हो । महत्वपूर्ण विषय पूर्वाधारको हो । त्यसको पनि केही दिन अगाडि मन्त्रालयमा ठेकेदारहरुसँग बैठक बस्दा सम्पूर्ण पूर्वाधार निर्माणको काम कार्तिक १५ भित्र सकिने बताइसकेका छन् ।’

उनले साग तोकिएकै समयमा आयोजना हुन्छ भनेर दावी गरिरहँदा पनि त्यसलाई पुष्ट गर्ने आधार भने केही पनि छैन । यो कुरालाई सदस्य सचिव सिलवाल आफैले पनि स्वीकारिसकेका छन् । ‘सागलाई लिएर अहिले अन्तर्राष्ट्रिय भेटघाट गराइ हाल्ने अवस्था पनि छैन । जसलाई पनि साग तोकिएकै समयमा हुन्छ हामीले यति तयारी गरिसक्यौं भन्ने ठाउँ नै छैन । अहिलेसम्म उद्घाटन हुने दशरथ रंगशाला समेत निर्माण भइनसक्दा साग हुन्छ भनेर विश्वस्त पार्ने गाह्रो छ,’ सिलवालले खबरहबसँग भने,‘कसले विश्वास गर्छ तोकिएकै समयमा हुन्छ भनेर । संरचना निर्माणलाई प्राथमिकतामा राखेर अगाडि बढेका छौं । केही समयभित्रै साग हुन्छ भन्नेमा सबैले विश्वास गर्ने गरि काम गरेर देखाउँछौं ।’

राखेप सदस्य-सचिव रमेश कुमार सिलवाल

सार्क राष्ट्रहरुको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भएकाले यो प्रतियोगिताले सार्कमा निकै महत्व दर्शाउँछ । तर, सार्कमा हुने राजनीतिले साग खेलकुदलाई प्रभाव पार्ने गरेको यसअघिको इतिहासले पनि देखाउँछ ।

सागमा राजनीति पनि गज्जबको हुने गर्छ । साग त्यहीँ प्रतियोगिता हो, जसलाई नेपालकै पहलमा सन् १९८४ मा पहिलो संस्करण नेपालमै खेलाउँदै शुरु गरिएको थियो । सार्क सम्मेलनमा जसरी सार्क राष्ट्रका प्रमुखहरु प्रस्तुत हुनेगरेका छन्, त्यसले सागमा पनि असर गर्छ । पछिल्लो पटक सार्क सम्मेलन हुन नसकेको र भारतले सार्क भन्दा विमस्टेकलाई प्राथमिकतामा राखेका कारण पनि सागलाई प्रभाव पार्न सक्ने आकलनहरु भएका छन् । भारतले विमस्टेक राष्ट्रहरुलाई समेटेर खेल आयोजना गर्ने हल्लाका बीच साग यसको ‘कोपभाजन’ मा पर्ने त होइन भन्ने शंका उत्पन्न भएको छ ।

पछिल्लो समय भारत र पाकिस्तानबीच बढेको राजनीतिक दूरीले पनि सागलाई प्रभाव पर्ने सम्भावनाहरुलाई नकार्न नसकिने विश्लेषकहरु बताउँछन् ।

‘भारत–पाकिस्तान सम्बन्धले सागलाई असर गर्दैन’

सार्क राष्ट्रहरुमा सबैभन्दा बलियो राष्ट्र भारत हो । त्यसैले सागमा भारत आफुलाई बलियो देखाउन चहान्छ । उद्यपी अहिलेसम्मको संस्करणमा भारत नै सागको शीर्ष टोली हो । तर, भारतले सागमा पाकिस्तान पनि हुने भएकाले पटक–पटक असहज वातावरण बनाउँदै आएको छ । भारतले आफुलाई बलियो बनाइरहँदा पाकिस्तान भने सागमार्फत छिमेकी राष्ट्रहरु सँग सम्बन्ध बनाउन भएपनि प्रतियोगितामा सहभागी हुँदै आएको छ ।

सन् २००१ मा हुने गरि तय भएको नवौं संस्करणको साग आयोजना २००४ मा मात्रै भयो । त्यो ढिलाई हुनुमा भारत र भुटानले सागबाट हात झिक्नुलाई लिइन्छ । तत्कालिन समयमा अफगानिस्तानमा भएको युद्दलाई ‘इस्यु’ बनाउँदै भारतले प्रतियोगिताबाट हात झिकेको थियो । ००१ मा हुने भनिएको प्रतियोगिता पछि २००३ हुने भन्दै मिति तोकिएको थियो । पछि पुन: इरानमा भएको द्वन्दलाई लिएर १ बर्ष सारियो । पछि २००४ मा भयो । शुरुमा भारत र भुटानले प्रतियोगिताबाट बाहिरिँदा उनीहरुले पछि इस्लामावादमै भएको प्रतियोगितामा सहभागिता जनाए तर, माल्दिभ्स प्रतियोगिताबाट बाहिरियो ।

नेपालकै पहलमा सार्क राष्ट्रबीचको सम्बन्ध सुधारमा योगदान पुगोस् भन्ने उदेश्यले शुरु गरिएको प्रतियोगिता तेस्रो पटक काठमाडौंले आयोजनाको जिम्मा पाएको छ । त्योसँग सँगै नेपालले सागका ८ वटै राष्ट्रलाई काठमाडौंमा उर्तानु पनि यतिबेला काठमाडौंलाई चुनौति छ । चुनौति यस अर्थमा कि प्रतियोगिता शुरु भइसकेपछि यी दुई मध्ये एकले पनि साग नखेल्ने भन्दा नेपालमा हुने साग जुन माहौल बनाउन सक्थ्यो त्यो बन्दैन ।

तर, अहिलेसम्म यी दुई देशका प्रतिनिधिहरुसँग भएका अनौपचिारिक कुराकानीमा कुनै पनि राष्ट्रले सहभागीता नजनाउने कुरा नगरेको सदस्य सचिव सिलवालले खबरहबसँग बताए ।

‘अहिले हामीसँग ४ देशले खेल्ने पक्का गरिसकेका छन् । बाँकी ४ देशलाई पनि पत्र पठाएका छौं । प्रतिकिया आउन बाँकी नै छ,’ सिलवालले भने,‘भारत र पाकिस्तानको पनि ‘कन्फरमेशन’ आउन बाँकी छ । अहिले हामी सागका लागि अन्तर्राष्ट्रिय ‘मिटिङ’ गर्न सक्ने अवस्थामा छैनौं । सम्पूर्ण तयारी भइसकेको भए बैठक बोलाउन सहज हुन्थ्यो ।’

राजनीतिक कुराहरुलाई खेलकुदले जोड्न सक्ने भएकाले पनि सागमा सबै देशले सहभागीता जनाउनेमा आफु विश्वस्त रहेको सिलवाल बताउँछन् ।
‘सार्कमा राजनीति हुन्छ, सागमा खेलकुद । कहिलेकाँही राजनीतिलाई खेलकुदले मिलाउने गरेको छ’ सिलवालले भने,‘ कुनै दुर्घटना घट्न गए भन्न सकिँदैन नभए नेपालका तर्फबाट साग आयोजनाका लागि कुनै कसुर बाँकी छाड्दैनौं ।’

पूर्वाधार बन्नै बाँकी !

यसअघि नेपालमा आयोजना भएका दुई संस्करण सफलता साथ दशरथ रंगशालामा सम्पन्न भएको थियो । तर, देशको एकमात्र ठूलो रंगशाला लामो समयदेखि पुनर्निर्माण भइरहेको छ । १३ औं संस्करणको सागका लागि यो रंगशाला तयार हुन्छ भन्नेमा सदस्य सचिव सिलवाल विश्वस्त छन् ।

रंगशाला निर्माणको काम नसकिँदा पनि यसअघि देखि सागको मिति सर्दै आएको थियो । अन्तिम पटक भन्दै मंसिरका लागि सारिएको सागको पनि अहिलेसम्म पूर्वाधार निर्माणमा खास्सै प्रगति भएको छैन ।

पूर्वाधारका कामलाई तिव्रताका साथ अगाडि बढाउनु पर्ने बताउँछन् सागका किर्तिमानधारी खेलाडी तथा तेक्वान्दो प्रशिक्षक दिपक बिष्ट । ‘अहिलेसम्म ओपनिङ र क्लोजिङ सेरेमोनी हुने रंगशालाकोसमेत निर्माण सम्पन्न हुन सकेको छैन । अझै ४ महिना बाँकी छ । दिन–रात लागेर भएपनि तयारी गर्नु पर्छ खेल साग आयोजना गर्न सकिन्छ,’ बिष्टले भने,‘खेलाडीका लागि खेल हुनु जरुरी हो ।’

दशरथ रंगशाला, पोखरा रंगशाला र हिटिङ सिस्टमसहित स्वीमिङ पूलको निर्माण सक्नु नै सबैभन्दा ठूलो चुनौति रहेको सदस्य सचिव सिलवाको भनाइ छ ।

२० खेल मात्रै विषेश प्रशिक्षणमा !

कुनै पनि प्रतियोगिता आयोजना गर्ने देशले उत्क प्रतियोगितामा आफुले सबैभन्दा धेरै उपाधि हात पार्ने लक्ष्यमा रहेको हुन्छ । त्यसै अनुसार तयारी पनि गर्छ । तर, नेपालले भने प्रतियोगिताका लागि ४ महिनामात्रै बाँकी रहँदा पनि सहभागि २७ वटै खेलको अभ्यास शुरु गर्न सकेको छैन् । पछिल्लो एक महिनादेखि विभिन्न खेलहरु विषेश प्रशिक्षणमा रहेपनि अहिलेसम्म २० वटा खेलले मात्रै प्रशिक्षण शुरु गरेको राष्ट्रिय टिम तयारी निर्देशक महेन्द्र कुमार राईले बताए ।

‘अहिलेसम्म २० वाट खेलले प्रशिक्षण शुरु गरेका छन् । यो महिनाको १६ गतेभित्र सबै खेलले प्रशिक्षण शुरु गरिसक्नेछन् । पहिले देखि विषेश प्रशिक्षणमा रहेका टोलीले साउन १० गतेदेखि बन्द प्रशिक्षण शुरु गर्नेछन्,’ निर्देशक राईले बताए ।

विषेश प्रशिक्षणमा रहेपनि बन्द प्रशिक्षण शुरु हुन नसकेकोमा प्रशिक्षक बिष्टले दुखेसो पोखेका छन् । ‘खेलाडी र हामीले गर्न सक्ने जति हामी प्रशिक्षण गरिरहेका छौं । तर, अहिलेसम्म ‘क्लोज क्याम्प’ शुरु हुन सकेको छैन,’ बिष्टले भने,‘समय कम छ । सागमा लागि धेरै भन्दा धेरै उपाधि जित्ने लक्ष्य सहित तयारीमा लाग्नु पर्छ ।’

‘कार्यविधि अझै १५ दिन नआए पनि हुन्छ’

कुनै पनि काम गर्न त्यसको व्यवस्थापनका तथा परिचालनका लागि कार्यविधि आवश्यक पर्दछ । तर, साग खेलकुदका लागि भने अहिलेसम्म मन्त्रालयले कार्यविधि बनाउन सकेको छैन । लामो समयदेखि कार्यविधि बनाएर मन्त्रिपरिषद्मा पेश गरेको जानकारी दिइरहेपनि मन्त्रिपरिषद्ले अहिलेसम्म कार्यविधि पास गर्न सकेको छैन । खेलकुद मन्त्रालयले सागका लागि सवा ५ अर्ब बजेट माग गरेका कारण कार्यविधि पास हुन नसकेको खेल विश्लेषकको अनुमान छ ।

कार्यविधि आउन ढिलाई भइरहेको भन्दै आलोचना भएपनि सदस्य सचिव सिलवाल भने आफुलाई अझै १५ दिन कार्यविधि नचाहिने बताउँछन् । ‘हामी अहिले अन्य कुराहरुमा व्यस्त छौं । हामीलाई अझै १५ दिन त कार्यविधि आवश्यक नै छैन । कार्यविधिमा खेलाडीलाई कसरी कहाँ राख्ने, कुन चिजलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुराहरु फोकस गरेको हुन्छ । तर, अहिले पूर्वाधारका कुराहरुलाई फोकस गरेर लागिरहेका छौं,’ सदस्य सचिव सिलवालले भने ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ९ : ०१ बजे

सुदूरपश्चिमका तीन पालिकामा फोहर प्रशोधन केन्द्र बन्दै

महेन्द्रनगर– सुदूरपश्चिमका दुई जिल्लाका तीन पालिकामा फोहर व्यवस्थापनका लागि प्रशोधन

सांसद चौधरीको तर्क- विदेश पढ्न जाने विद्यार्थी बढे, नेपालको शिक्षा प्रणाली सुधारौँ 

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेपाल विश्वविद्यालयका

आगलागी र वन डढेलोबाट २६ जनाको मृत्यु

काठमाडौं– वैशाखमा अधिकतम् तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र

दैलेखमा बिजुलीको पोल बोकेको ट्याक्टर दुर्घटना, मृतकको संख्या तीन पुग्यो

दैलेख- गएराति भएको ट्याक्टर दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको

दुर्गम क्षेत्रमा आयोडिनयुक्त नुन सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता