प्रदेश नं २ को नाम र राजधानी टुङ्गो लगाउन सकस « Khabarhub

प्रदेश नं २ को नाम र राजधानी टुङ्गो लगाउन सकस


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– प्रदेश नं २ को नाम र राजधानी टुङ्गो लगाउने विषयमा अन्यौल बढ्दै गएको छ । प्रदेशको नाम के हुने भन्ने विषयको बहसले अहिले जनकपुरसहित पूरा प्रदेश नै तातेको छ । यस विषयमा विभिन्न टीकाटिप्पणी भइरहेको छ भने सामाजिक सञ्जालमा पक्षविपक्षमा दोहोरी शुरु भएको छ ।

बिहीबार प्रदेशसभा सचिवालयमा दलैपिच्छे राजधानी र प्रदेशको नामबारे फरकफरक प्रस्ताव दर्ता भएपछि थप अन्यौल देखिएको हो । यतिमात्रै नभई केही दलका सांसदहरुले पनि पार्टीमा विद्रोह गर्दै छुट्टै प्रस्ताव गर्दा गराएका छन् । त्यसैले प्रदेश २ को नामकरण र स्थायी राजधानी तोक्ने विषय लम्बिने भएको छ ।

दलहरुले प्रदेशको नाम र स्थायी राजधानीबारे आफ्नो प्रदेशसभामा दर्ता गराएका प्रस्तावउपर निर्णयमा लैजाने प्रक्रियाबारे छलफल गर्न शनिबार प्रदेशसभा सचिवालयले बैठक बोलाएको थियो तर बैठक बस्दै नबसी स्थगित भयो । प्रदेशसभा सचिवालयका प्रवक्ता अवधकिशोर कुसवाहाका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको हो ।

यसरी अब अर्को बैठक कहिले बस्नेबारे टुङ्गो नहुँदा प्रक्रिया लम्बिएको छ । प्रदेश २ को नाम र राजधानीको विषयमा प्रदेशसभाले आह्वान गरेअनुसार संसदीय दलहरुले आ–आफ्नो तर्फबाट नामकरणको प्रस्ताव दर्ता गराउँदा सत्तारुढ दल समाजवादी पार्टी र विपक्षी दल काङ्ग्रेसभित्र प्रदेशको नामका विषयमा मतभेद देखिएको छ ।

सबै दलको आफ्नै एजेन्डा हुँदाहुँदै पनि सत्तापक्ष र विपक्षी दलमा देखिएको फरक मतले गर्दा आउने दिनमा प्रदेशको नाम र राजधानीको लागि पार्टीभित्रै आन्तरिक विवाद सिर्जना हुन पुगेको हो । काङ्ग्रेसका केही सांसदहरूले नै प्रदेशको नाम मध्य मधेश हुनुपर्ने माग गर्दै प्रस्ताव गर्दा गराएका छन् । सत्तारुढ दलका केही सांसदहरूले पनि पार्टीको लाइनविपरीत राजधानी वीरगञ्ज हुनुपर्ने प्रस्ताव दर्ता गराएका छन् । छुट्टै प्रस्ताव दर्ता गराउनेमा काङ्ग्रेसका चार र सत्तारुढ समाजवादीका सात जना प्रदेशसभा सदस्य छन् ।

नेकपामा समेत मधेश प्रदेशका पक्षधर छन् तर नेकपाले जानकी प्रदेश र जनकपुर, पूरै धनुषा राजधानीको लागि प्रस्ताव दर्ता गराउँदा कुनै पनि प्रदेशसभा सदस्यले हालसम्म औपचारिक रूपमा असन्तुष्टि बाहिर सार्वजनिक गरेका छैनन् । प्रदेशसभामा रहेका नेकपा, काङ्ग्रेस, समाजवादी पार्टी, राजपा नेपालले फरकफरक प्रस्ताव दर्ता गराएपछि प्रदेशको नाम र राजधानीको विवाद अझ बल्झिने बुद्धिजीवीले टिप्पणी गरेका छन् ।

नाम र राजधानीको सवालमा दलहरूले गरेको प्रस्ताव अदूरदर्शी रहेको समेत उनीहरुको टिप्पणी छ । राजनीतिक विश्लेषक प्रा डा सुरेन्द्र लाभले राजनीतिक अदूरदर्शीताका कारण दलहरूले प्रदेश २ को ऐतिहासिक र सांस्कृतिक महत्वको हिसाबले नाम प्रस्ताव गर्न नसकेको बताए ।

बुद्धिजीवी रोशन जनकपुरीले संसदीय दलहरूले गरेको प्रस्तावको कारण दीर्घकालसम्मका लागि विवाद रहिरहने टिप्पणी गरे । उनले आउने दिनमा भारतको विहारबाट झारखण्डजस्तै प्रदेश २ मा समेत सांस्कृतिक र पहिचानको आन्दोलन हुनसक्ने खतरा औँल्याए।

रोशन जनकपुरीले ऐतिहासिक सांस्कृतिक तथा राजनीतिक परिदृश्यको हिसाबले ‘मिथिला भोजपुरा मधेश’ नाम नै सबैभन्दा उपयुक्त हुने भए पनि त्यसमा राजनीतिक दलहरू चुकेको विचार व्यक्त गरे । राजनीतिक विश्लेषकले दलहरू आ–आफ्नै अडानमा रहिरहे हाल प्रदेशसभामा दर्ता गराइएका प्रस्तावमध्ये कुनै प्रस्ताव पारित हुने सम्भावना नरहेको पनि बताएका छन् । उनीहरूले प्रदेशसभामा सहमति भएर कुनै नाम पारित भए पनि पछिसम्म विवाद रहिरहन सक्ने औँल्याएका छन् ।

प्रदेश २ को प्रदेशसभामा कूल १०७ सांसद छन् । जसमध्ये सत्तारुढ समाजवादी पार्टीको ३०, राष्ट्रिय जनता पार्टीको २५, प्रमुख प्रतिपक्षी नेकपाको ३२, र काङ्ग्रेसका १९ जना सांसद छन् भने सङ्घीय समाजवादी पार्टीका एक जना सांसद छन् ।

प्रदेशको नामकरण र स्थायी राजधानी तोक्न दुई तिहाइ बहुमत आवश्यक पर्छ । जसअनुसार दुई तिहाइ बहुमतका लागि ७२ जना सांसदको समर्थन आवश्यक रहेको छ । तसर्थ प्रदेशको नामकरण र स्थायी राजधानी तोक्नका लागि कसैसँग दुई तिहाइ बहुमत नरहेकोले एक अर्को दलसँग सहमति गर्नुपर्ने र आआफ्नो अडानबाट केही पछि हट्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ७ : २२ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको