हलवालाले 'बुई' चढाउँछन् विदेशी फिल्म, मारमा नेपाली फिल्मकर्मी | Khabarhub Khabarhub

हलवालाले ‘बुई’ चढाउँछन् विदेशी फिल्म, मारमा नेपाली फिल्मकर्मी



एक समय थियो, देशभरका फिल्म हलमा नेपाली फिल्म हेर्न दर्शकको घुइँचो लाग्ने गर्थ्यो । दर्शकले सहजै टिकट नपाउँदा प्रायः फिल्मका टिकट ‘ब्ल्याक’ मा किन्नुपर्ने अवस्था थियो । नेपाली फिल्म महिनौँसम्म हलमा हुन्थे । दर्शकले दोहोर्‍याएर फिल्म हेर्ने गर्थे ।

अहिले भने हिन्दी फिल्म हाउसफूल हुन्छन् । तर, नेपाली फिल्म हेर्ने दर्शक पातलो हुँदै गएका छन् । बलिउडले चल्दै आएका मसालेदार फिल्मलाई आफ्नै शैलीमा ढाल्दै लैजानु र नेपाली फिल्ममेकरले फिल्ममा नेपाली मौलिकताको खोजी गर्न थाल्नु लगभग उस्तै बेला भयो । नेपाली फिल्म ‘मौलिकता’ को भुमरीमा अल्झिरहेका बेला बलिउड फिल्म हाबी भए ।

अब त अवस्था यस्तो आइसकेको छ कि, नेपाली निर्मातालाई बलिउड फिल्म ठूलो ‘थ्रेट’ बनिसकेको छ ।

बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘हाउसफूल ४’ रिलिज हुने भएपछि नेपाली फिल्म ‘घामड शेरे’ ले मल्टिप्लेक्स हलमा चाहेजति ‘शो’ पाएन । यो बिडम्बना नेपाली फिल्मका लागि भने पहिलो होइन । यसअघि पनि कतिपय बलिउड फिल्म रिलिज हुँदा नेपाली फिल्मले रिलिज मिति नै हेरफेर गरेका कैयन् उदाहरण छन् ।

वरिष्ठ कलाकार नीर शाह हिन्दी फिल्मको मारमा नेपाली फिल्म परेको स्वीकार्छन् । उनको बुझाइमा हिन्दी टेलिभिजन च्यानलको प्रभावका कारण पनि नेपालमा हिन्दी फिल्मका दर्शक बढ्दै गएका हुन् ।

‘हिन्दी फिल्म लगानीका हिसाबले पनि उत्तिकै सशक्त हुन्छन्, अर्कातिर हिन्दी फिल्मका दर्शक बरु बढ्दै गएका छन्, तर घटेका छैनन्,’ वरिष्ठ कलाकार नीर शाह भन्छन्, ‘यसबारेमा नेपाली फिल्ममेकरले आवाज उठाइरहनुभएको छ तर वितरकहरु खै किन हो सकारात्मक देखिनुभएको छैन ।’

कुनै समय नेपाली फिल्मको पनि बाक्लो क्रेज भएको नीर शाहको अनुभव छ । अहिले भने घरेलु दर्शकले नेपालीभन्दा विदेशी फिल्म नै बढी हेर्न थालेका छन् । ‘हिन्दी फिल्ममा लगानी पनि त्यही अनुसारको हुन्छ, प्रचार पनि उसरी नै गरिन्छ, हामीले अझै त्यस्ता फिल्म बनाउन सकेका छैनौँ, त्यसैले पनि फिल्मकर्मीले ठूला विदेशी फिल्म आउँदा हाम्रै फिल्मको पछाडि सार्नुपर्ने अवस्था छ,’ शाह भन्छन् ।

उनका अनुसार हामीले आफ्नै उत्पादनलाई पनि अझै सशक्त बनाउन सक्नुपर्छ । हिन्दी फिल्मको प्रकोपमा नेपाली फिल्म पर्ने गरेको उनको बुझाइ छ ।

हिन्दी फिल्म लगानीका हिसाबले पनि उत्तिकै सशक्त हुन्छन्, अर्कातिर हिन्दी फिल्मका दर्शक बरु बढ्दै गएका छन्, तर घटेका छैनन् ।

त्यसो त भारतमा रिलिज हुँदा नेपालमा पनि हिन्दी फिल्म शुक्रबारभन्दा अगाडि नै रिलिज हुने गर्छन् । जबकि, नेपालमा नेपाली फिल्म चाडबाडका बेलामा बाहेक अरुबेला शुक्रबार रिलिज गर्ने परम्परा छ । विदेशी ठूला फिल्म त्यसमाथि शुक्रबार नै रिलिज हुँदा नेपाली फिल्म मारमा पर्ने गरेका छन् । यसबारेमा सरकारी निकाय भने मौन छ ।

त्यसो त नेपाली फिल्मको बजार खोस्न विदेशी फिल्ममात्र जिम्मेवार छैनन् । नेपालमा पनि ‘च्याउ’झैँ फिल्म निर्माण हुने बाढी आएपछि घरेलु फिल्मका दर्शक बिच्किएका छन् । ती दर्शकलाई नेपाली फिल्मको आदत पार्नलाई भने फिल्म नै स्तरीय बनाउनुपर्ने हुन्छ ।

बलिउड अभिनेता अक्षय कुमारले एक भिडियो अन्तर्वार्तामा भनेका छन्, ‘मेरा फिल्म नेपाल र गुजराज (भारतको एक राज्य) मा हाउसफूल हुन्छन् ।’

उनको यो भनाइबाट नै पुष्टि हुन्छ कि, नेपालमा बलिउड सेलिब्रेटीको कति ठूलो क्रेज छ । अक्षय कुमार मात्र होइन, पछिल्लो समय दक्षिण भारतीय फिल्मसँग पनि नेपाली फिल्म डराएर भाग्नुपर्ने अवस्था छ । यसलाई नीर शाह भने आफ्नो उत्पादनको सुरक्षा गरेको बताउँछन् ।

यसै वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘कबड्डी ३’ दक्षिण भारतीय फिल्म ‘साहो’ सोही मितिमा रिलिज हुने भएपछि पछाडि धकेलिएको थियो । भलै ‘कबड्डी ३’ यस वर्षको सुपरहिटको सूचीमा सुरक्षित हुन सफल भयो ।

फिल्म ‘छ माया छपक्कै’ पनि दशैँमा रिलिज हुने भनिए पनि हिन्दी फिल्म ‘वार’ कै कारण दशैँपछि रिलिज भएको थियो । त्यसो त ‘छ माया छपक्कै’ टिमका सदस्य दीपकराज गिरीले उतिखेरै भनेका थिए, ‘हामी विदेशी फिल्मसँग जुध्न सक्छौँ, तर यहाँका वितरकसँग जुध्न सक्दैनौँ ।’

दीपकराज गिरीले भनेजस्तै यहाँका हलवालासँग नेपाली फिल्ममेकर जुध्न नसकेको स्पष्ट देखिएको छ । मल्टिप्लेक्स हल (जहाँ नेपाली फिल्मको सर्वाधिक कलेक्सन हुन्छ) ले नै चित्तबुझ्दो शो सङ्ख्या दिन नसकेपछि ‘घामड शेरे’ दुई हप्ता पछाडि धकेलिएको ताजा उदाहरण छ ।

केही दशकमै हिन्दी फिल्मले नेपाली फिल्मका दर्शक आफ्ना बनाइसकेको छ । अबको केही दशकमै हलिउड फिल्मको पनि प्रभाव बलिउडकै फिल्मको जस्तै पर्‍यो भने भोलिका दिनमा नेपाली फिल्मको विश्वव्यापीकरण त कल्पनाको कुरा, घरेलु दर्शक पनि फिल्म हेर्न नआउने हुन् कि भन्ने एउटा भय छ ।

फिल्म निर्माता संघका अध्यक्ष आकाश अधिकारीलेआफूहरुले फिल्म नीतिका लागि आधिकारिक रुपमा चलचित्र विकास बोर्डलाई लिखित समस्या पठाएको बताउँछन् । ‘भविष्यमा नेपाली फिल्म हेर्ने दर्शक अझै कम पातलो हुने हुन् कि भन्ने भय उत्तिकै छ,’ निर्माता अधिकारीले भने, ‘फिल्म भनेको व्यवसाय मात्र होइन, कला र संस्कृति पनि हो, यसलाई कसरी बचाउने भन्ने राज्यको पनि दायित्व हो ।’

संघका अध्यक्ष अधिकारीले स्वदेशी फिल्मलाई कसरी बचाउने भन्ने सुझाव लिखित रुपमै फिल्म विकास बोर्डलाई बुझाएको बताउँछन् ।

फिल्म नीति निर्माण हुँदा ती सुझाव पनि समावेश हुनेमा उनी विश्वस्त छन् । ‘नेपाली फिल्ममा मारमा पर्नु हाम्रो मात्र सरोकारको विषय भएन, यसमा राज्यले पनि पक्कै सोच्नेछ,’ अधिकारी भन्छन् ।

त्यसो त बलिउड पनि हलिउड फिल्म बजारबाट प्रभावित हुनेमा उत्तिकै जागरुक छ । हलिउडका ठूला फिल्म भारतमा रिलिज हुँदा त्यसको असर बलिउडमा पनि पर्ने गरेको छ । भारतमा रिलिज हुने विदेशी फिल्म हिन्दी भाषामा डबिङ गरी प्रदर्शन गरिने गरिन्छ ।

विश्वभरमै सर्वाधिक कमाइ गरेको हलिउड फिल्म ‘एभेन्जर्सः इन्फिनिटी वार’ ले भारतमा आक्रामक व्यापार गर्दा बलिउडमा हलिउड फिल्मको प्रभाव बढेको हो कि भन्नेमा बलिउडकर्मीले चासो देखाएका थिए । भलै आजका दिनसम्म पनि भारतमा बलिउड स्टारका ‘स्टारडम’ बिकिरहेको छ ।

विदेशी फिल्म नेपालमा ‘गरुड’ बनेर आइरहँदा नेपाली वितरकले भने नेपाली फिल्मलाई पर्याप्त ‘शो’ दिन पनि नाक खुम्च्याउँछन् ।

चलेका मल्टिप्लेक्स हलका मालिकले व्यवसाय मात्र सोच्ने गरेको तर नेपाली फिल्मलाई ‘पाखा’ लगाएको निर्माताहरुले आरोप लगाउँदै आएका छन् । हल सञ्चालकहरुले फिल्मलाई ‘स्वतन्त्र व्यापार’ भन्दै विदेशी फिल्म चाहेअनुसार रिलिज गर्ने गरेका छन् ।

‘हलवालाले आफूले रुचाएका निर्मातालाई धेरै शोज दिने तर मन नपराएका निर्मातालाई कम शो दिने गरेका छन्,’ आफ्नो फिल्म रिलिजका क्रममा रहेका एक निर्माता खबरहबसँगको कुराकानीमा भन्छन्, ‘यसबारेमा कति बोल्नु, बोल्दा पनि बेकारमा आँखी भइन्छ, यहाँ कुरा गरेरै साध्य छैन, सबै भद्रगोल छ ।’

फिल्म ‘छ माया छपक्कै’ का निर्देशक दीपेन्द्र लामाले वितरकको पनि आफ्नै बाध्यता भएको बताउँछन् । वितरकले नेपाली फिल्म पनि वितरण गर्ने र विदेशी फिल्म पनि किनेर वितरण गर्ने हुँदा एक पक्ष प्रभावित हुँदा अर्को पक्ष चुप लाग्ने गरेको बताउँछन् ।

‘मेरो पहिलो फिल्म ‘घामपानी’ रिलिज भएको तेस्रो हप्तापछि ‘बाहुबली २’ रिलिज भएको थियो, ‘घामपानी’ को ‘पिकअप’ का बेला ‘बाहुबली २’ रिलिज हुँदा फिल्म प्रभावित भएको थियो,’ दीपेन्द्र लामा भन्छन्, ‘तर, यहाँ के छ भने एउटा ब्यानरले विदेशी फिल्म पनि वितरण गर्छ, फेरि आफै फिल्म पनि बनाउँछ, आफ्नो फिल्म रिलिज हुँदा घाटा परेजस्तो हुन्छ, त्यसैले पनि कतिपय निर्माता आफूलाई पर्दा मात्र मारमा परेको गुनासो गर्छन् ।’

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  १ : ०६ बजे

भारतीय चुनाव आयोगले सोध्यो प्रधानमन्त्री मोदी र राहुल गान्धीसँग स्पष्टीकरण 

भारतको केन्द्रीय चुनाव आयोगले प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता

स्याउका बोटमा फूल लाग्न थालेपछि बगैंचा सेताम्मे

जुम्ला– यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा

पाँच वर्षभित्र तीन क्षेत्रमा ११४ खर्ब लगानी

काठमाडौं – सरकारले अर्थतन्त्रका तीन क्षेत्रमा आगामी पाँच वर्षभित्र १

सिसै सिसाको प्रतिक्षालय (तस्बिरहरु)

काठमाडौं– धरहरा पुनर्निर्माण योजनाअन्तर्गत बनेको नयाँ प्रतीक्षालय अहिले सबैको ध्यानको

खोटाङमा बनबाट डढेलो बस्तीमा पस्दा १३ घर जले, ११ परिवारको बिचल्ली

वनमा लागेको डढेलो बस्तीमा पस्दा खोटाङको बाराहापोखरी गाउँपालिका-१ मा कम्तीमा