मोतिहारी–चितवन ग्यास पाइपलाइन शिलान्यास | Khabarhub Khabarhub

मोतिहारी–चितवन ग्यास पाइपलाइन शिलान्यास


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- मोतिहारी चितवन ग्यास पाइपलाइन र अमलेखगञ्ज चितवन इन्धन पाइपलाइन विस्तारकार्य शुरु गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाराको अमलेखगञ्जस्थित पाइपलाइन निर्माणस्थलमा सङ्केत पिल्लर गाडी औपचारिकरूपमा सो कार्य प्रारम्भ गरेका हुन् ।

मोतिहारी–चितवन ग्यास पाइपलाइनसँगै अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइनको विस्तारसमेत हुने भएको छ । अमलेखगञ्जबाट चितवनको लोथरसम्म करिब ६२ किलोमिटर पाइपलाइन विस्तार हुने नेपाल आयल नियमले जनाएको छ ।

देशका विभिन्न भागमा पाइपमार्फत इन्धन आपूर्ति गर्ने योजनाअनुसार पाइपलाइन विस्तारको कार्य थालनी गरिएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री यादवले बताए । उनले देशभर पाइपमार्फत इन्धन आपूर्ति गर्ने योजनाअनुसार पाइपलाइन विस्तारकार्य भएको, जसमा पेट्रोलियम पदार्थ मात्र नभई खाना पकाउने ग्यास समेत पाइपमार्फत ल्याउने कामको शुरुआत भएको जानकारी दिए ।

अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइन विस्तार गर्न अनुमानित लागत रु पाँच अर्ब ६७ करोड लाग्ने र पेट्रोलियम पदार्थ भण्डारण गर्नका लागि रु चार अर्ब १९ करोड लाग्ने नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । उनले अमलेखगञ्जमा भण्डारणका लागि पर्याप्त जग्गा नभएको कारण चितवनसम्म पाइपलाइन विस्तार गर्न लागिएको बताए । चितवनमा इन्धन तथा खाना पकाउने ग्यासको भण्डारण गरिए मुलुकको अन्य भागमा सहजै आपूर्ति गर्न सकिने निर्देशक भट्टराईको भनाइ थियो ।

दोस्रो चरणको पाइपलाइन विस्तारसँगै चितवनको लोथरमा एक लाख किलोलिटर भण्डारण गर्नका लागि ट्याङ्की निर्माणको कामसमेत हुने आयल नियमले जनाएको छ । भारत बिहारको मोतिहारी हुँदै चितवनको लोथरसम्म कूल १३१ किलोमिटर ग्यास पाइपलाइन निर्माण गर्ने योजना रहेकोछ । मोतिहारी–चितवन ग्यास पाइपलाइन नामाकरण गरिएको यस परियोजनामा करीब रु १५ अर्ब लगानी लाग्ने अनुमान गरिएको छ । पाइपलाइन निर्माणका लागि रु ११ अर्ब १९ करोड र ग्यास भण्डारणका लागि ट्याङ्की निर्माणमा रु तीन अर्ब ८१ करोड लाग्ने निगमले अनुमान गरेको छ ।

भारतीय सीमा रक्सौलदेखि चितवनसम्म ९८ किलोमिटर लामो पाइपलाइन निर्माण हुनेछ । पाइपबाट आएको ग्यास भण्डारण गर्न २० हजार मेट्रिक टनको ट्याङ्की निर्माण हुनेछ ।

दुवै परियोजनाको सम्भाव्यता अध्ययन नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनले संयुक्तरूपमा गरी विस्तृत प्रतिवेदन प्राप्त भएपछि मात्र कूल लागत तथा समय निर्धारण गरिने निगमले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ४ : ३४ बजे

पर्यटकीय गन्तव्य बन्दै जन्तीढुङ्गा

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१२ बाँसडोलदेखि माथि रहेको ‘जन्तीढुङ्गा’ पछिल्लो समय

बसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन : ३१ लिटर अखाद्य तेल नष्ट

काठमाडौं- काठमाडौं महानगरपालिकाले सोमबार वडा नं. २३ र २४ अन्तर्गत

उहिलेका सगिनी अर्थात्‌ तीजका गीत

काठमाडौँ – आज नेपाली हिन्दु महिलाहरूले हरितालिका तीज मनाउँदैछन्‌ ।

एक सयभन्दा धेरै बोइङ जहाज किन्ने कोरियन एयरको योजना

वाशिङ्टन डीसी- कोरियन एयरले एक सयभन्दा बढी बोइङ विमान खरिद

सिद्धार्थ बैंकले दिएको लाभांश लिन गएनन् लगानीकर्ता

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले दिएको लाभांश लिन लगानीकर्ता नगएको