भेनेजुएलाका राष्ट्रपति मदुरोलाई सेनाको समर्थन | Khabarhub Khabarhub

भेनेजुएलाका राष्ट्रपति मदुरोलाई सेनाको समर्थन


१३ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काराकास– भेनेजुएलाको शक्तिशाली सेनाले बिहीबार राष्ट्रपति निकोलास मदुरोलाई पूर्ण समर्थन गरेको जनाएको छ । अमेरिका समर्थित विपक्षी नेता हुँवा गुएइदोले आफू नै भेनेजुएलाको अख्तियारप्राप्त अन्तरिम राष्ट्रपति रहेको दाबी गरिरहनुभएको छ ।

देशभर भडकिएको हिंसा र प्रदर्शनका क्रममा शुक्रबारसम्म २६ जनाको मृत्यु भइसकेको छ । राष्ट्रपति मदुरोले संयुक्तराज्य अमेरिकामा रहेको भेनेजुएलाको राजदूतावास र वाणिज्यदूतावास बन्द गर्ने घोषणा गर्नुभएको छ । साथै, मदुरोले भेनेजुएलामा रहेका अमेरिकी कुटनीतिज्ञहरुलाई ७२ घण्टाभित्र देश छाड्न आदेश दिनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मदुरोको सत्तालाई “अवैधानिक” भनी घोषणा गरिसक्नुभएको छ । विपक्षी नेता गुएइदोको घोषणालाई अमेरिका, युरोपेली युनियन तथा ब्राजिल, अर्जेन्टिना, कोलम्बिया समेतका केही दक्षिण अमिरिकी मुलुकहरुले समर्थन गरेका छन् ।

तर भेनेजुएलामा लगानी र सहयोग गरिरहेका चीन र रुसले राष्ट्रपति मदुरोलाई समर्थन गरेसँगै परिस्थितिले नाटकीय मोड लिन थालेको छ ।

तेलको धनी राष्ट्र भेनेजुएला आर्थिक रुपमा अत्यन्त कमजोर स्थितिमा छ ।

मदुरो गतवर्ष भएको राष्ट्रपतिको चुनावमा पुनः विजयी हुनुभएको थियो, तर यो चुनावमा धाँधली भएको जनाउँदै विपक्षीहरु तथा धेरै अन्य मुलुकले लगातार विरोध गरिरहेका छन् । तर, आफूलाई समाजवादी नेता भन्न रुचाउने मदुरोको शासनसत्ता शक्तिशाली सेनाको भूमिकामा अडेको विश्वास गरिन्छ ।

सेनाको जनरल समेत रहनुभएका रक्षामन्त्री भ्लादिमिर पाड्रिनोले ५६ वर्षीय मदुरो नै मुलुकको “वैधानिक राष्ट्रपति” रहेको घोषणा गर्नुभएको छ । उहाँले सम्भावित “सत्ता विद्रोह” विरुद्ध जस्तोसुकै कदम चाल्न भेनेजुएलाको सेना दृढ र एकताबद्ध रहेको बताउनुभएको छ ।

पाड्रिनोको घोषणा लगत्तै अरु आठ जना जनरलले पनि राष्ट्रपतिको पक्षमा समर्थन जनाएका छन् ।

मदुरोका समर्थकहरु न्यायाधीश रहेको सर्वोच्च अदालतले पनि मदुरोको “वैधानिक अख्तियारी” प्रति समर्थन जनाएको छ । “विदेशी सरकारहरुको उक्साहटमा भेनेजुएलामा सत्ता विद्रोहको तयारी भइरहेको हामीलाई लागेको छ ।”

अन्तरिम राष्ट्रपति घोषणा गर्नुभएका विपक्षी नेता हुँवा गुएइदोको भविष्य पनि अन्यौलमा पर्न थालेको अनुमान गरिएको छ । तर, युरेसिया ग्रुपमा आबद्ध विश्लेषकहरुले गुएइदोलाई विदेशी शक्तिराष्ट्रले समर्थन गरेका कारण मुख्य विपक्षी नेताका रुपमा स्थापित गर्न मद्दत गरेको बताएका छन् । यसपटक गुएइदोले शक्तिशाली भेनेजुएली सेनाको उच्च नेतृत्वको विश्वास जित्न सक्नुभएको छैन ।

उनीहरुले तत्कालै मदुरोको शासनसत्ता ढल्न सम्भव नदेखिएको बताएका छन् । तर, सत्ता परिवर्तनको पछिल्लो प्रयत्नमा दर्जनौंको ज्यान गएको छ ।

वासिङटनमा, अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भेनेजुएलाको सङ्कटका विषयमा छलफल गर्न संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदको आपतकालीन बैठक बोलाउन आग्रह गर्नुभएको छ । पोम्पेओले भन्नुभयो, “बहसको समय घर्किसक्यो । पूर्व राष्ट्रपति निकोलास मदुरोको सत्ता अवैधानिक हो ।” प्रदर्शनकारीमाथि भइरहेको निर्मम दमनले अमेरिका दुःखी छ, उहाँले भन्नुभयो ।

निहत्था प्रदर्शनकारीमाथि सैनिक शक्ति प्रयोग गरिएकोप्रति आपत्ति जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “सबै विकल्प खुला रहेको” प्रतिक्रिया दिनुभएको छ । राष्ट्रपति ट्रम्पले भेनेजुएला विरुद्ध थप आर्थिक नाकाबन्दी लगाउने सम्भावना पनि छ ।

भेनेजुएलामा उत्पादित एक तिहाई इन्धन संयुक्तराज्य अमेरिका निकासी हुने गर्दछ । विश्लेषकहरुले तेल आयातमा कुनै किसिमको नाकाबन्दी लगाइए त्यसले अमेरिकी अर्थतन्त्रमा समेत असर पर्ने बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला विवादमा पनि डेमोक्र्याट पार्टीबाट खासै समर्थन प्राप्त गर्नुभएको छैन । डेमोक्र्याटी पार्टीका एकजना वरिष्ट सदस्य एवं सिनेटर बर्नी स्यान्डर्सले भन्नुभयो, “हामीले विगतका पाठबाट सिक्नु पर्दछ र कुनै मुलुकको सत्ता परिवर्तनमा अल्झिनु हुँदैन वा कुनै किसिमको सत्ता विद्रोहलाई समर्थन गर्नु हुँदैन । विगतमा हामीले चिली, ग्वाटेमाला, ब्राजिल र डोमिनिकन रिपब्लीकमा अमेरिकी प्रयत्न खासै फलदायी नरहेको उदाहरण हाम्रै अघिल्तिर छ ।”

उहाँले भेनेजुएलाको सत्ताले निहत्था प्रदर्शनकारीमाथि गरेको निर्मम दमनको भत्र्सना गर्नुभयो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मदुरोलाई टेलिफोन गरी समर्थन जनाउनुभएको छ । भेनेजुएलामा उत्पन्न सङ्कट बाहिरी मुलुकको उक्साहटमा भएको समेत पुटिनले बताउनुभएको छ ।

भेनेजुएलालाई सबैभन्दा बढी ऋण उपलब्ध गराइआएको चीनले बाह्य शक्तिले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेकाप्रति आपत्ति जनाएको छ ।

मदुरोलाई मेक्सिको, क्युबा र बोलिभियाका बामपन्थी सरकारहरुले विगतमा झैं समर्थन यथावत रहेको जनाएका छन् ।

प्रकाशित मिति : १३ माघ २०७५, आइतबार  ५ : ०६ बजे

कांग्रेसलाई निर्वाचनको होइन, देशको चिन्ता छ : महामन्त्री शर्मा

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई आगामी निर्वाचनको

खुम्बुमा भूकम्पको परकम्प

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्रमा पटक–पटकको भूकम्पका परकम्प गएको छ

धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती

काठमाडौं – सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा

पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो

पर्वत – आवश्यक संरक्षण र उपयोग गर्न नसक्दा पर्वतका वन

सर्वेन्द्र खनाललाई प्रश्न : माओवादीमा जाने की रावललाई साथ दिने ?

काठमाडौं– आइतबार नेकपा एमाले पार्टीबाट अलग भएको घोषणा गरेका नेपाल