गलकोटको तिहारे मेलामा चर्खे पिङको रमाइलो | Khabarhub Khabarhub

गलकोटको तिहारे मेलामा चर्खे पिङको रमाइलो


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- एकापट्टि चर्खे, आडैमा लिङ्गे पिङ थियो । कोही मच्चिरहेका थिए भने कतिपय मच्चाइरहेका थिए । बीचमा सोरठी गुञ्जिरहेको थियो । पञ्चेबाजाको उस्तै ताल थियो । तिहारे मेलामा सर्वसाधारण रमाइरहेका थिए ।

गलकोट नगरपालिका–७ मल्ममा आयोजित तिहारेमेलाले परम्पराको झल्को दिन्थ्यो । भाइमाला उन्ने, मौलिक नृत्य, रस्साकस्सी, भलिबल प्रतियोगिता, सांस्कृतिक झाँकीलगायत मेलाका आकर्षण थिए । तीन दिनसम्म चलेको उक्त मेलालाई स्थानीयवासीले शनिबार बिदा गरे । कला, संस्कृति जगेर्ना गर्ने उद्देश्यले २०७० सालदेखि शुरु भएको सो मेला वर्षेनी तिहारमा लाग्ने गर्छ । जनहित कला केन्द्रले मेला व्यवस्थापन र सञ्चालन गर्दै आएको छ ।

यस वर्षको मेलामा विशेष आकर्षणका रुपमा चर्खे पिङ रहेको थियो । मेला भर्न आएकाहरुले १० वर्षपछि चर्खे पिङ खेल्न पाए । गाउँबाट लोप हुनै लागेको पिङलाई संरक्षण गरिएको केन्द्रका प्रमुख ज्ञानबहादुर थापाले बताए । पिङ निर्माण गर्न रु ३० हजार खर्च भएको थियो । स्थानीयवासीले पिङ बनाउन सहयोग गरेका हुन् । चाडवाडमा राखिने चर्खे, लिङ्गे पिङ हराउन थालेपछि संरक्षणका लागि सहयोग गरेको स्थानीयवासीले बताए ।

धेरै समयपछि चर्खे पिङ खेल्न पाउँदा रमाइलो लागेको स्थानीयवासी सुशीला परियारले बताए । बालबालिकादेखि वयश्कसम्म मेला अवधिभर चर्खे र लठ्ठे पिङमा रमाएका थिए । मेलाको अर्को आकर्षण भाइमाला उन्ने प्रतियोगिता पनि हो । छिटो र राम्रो माला उन्ने महिलालाई पुरस्कृत गरिन्छ । यसपालि भाइमाला उन्ने प्रतियोगितामा कोपिला खड्का प्रथम र सरस्वती केसी द्वितीय हुनुभयो । कलाको उत्थान र परम्पराको रक्षाका लागि मेला सहयोगी बनेको केन्द्रका प्रमुख थापा बताउँछन् ।

मेलामा मल्ममा प्रचलित सोरठी गीत र नृत्यले पनि दर्शकलाई लोभ्यायो । पाका कलाकारको प्रस्तुति हेरेर सबै प्रफुल्लित देखिन्थे । पञ्चेबाजा, भजनलगायतका सांस्कृतिक झाँकी पनि मेलामा प्रदर्शन गरिएको थियो । लोकनृत्य प्रतियोगितामा मौलिक वेषभूषामा सजिएका कलाकारको प्रस्तुति पनि बेजोड देखिन्थ्यो । रस्साकस्सी प्रतियोगिताले उस्तै रौनक थपेको थियो ।

भलिबल खेलका पारखीले समेत मेलाबाट आनन्द बटुलेका थिए । भलिबल प्रतियोगिता पनि मेलाको नियमित आकर्षण बनेको छ । प्रतियोगितामा ‘सनसाइन गलकोट जापान’ को समूह विजेता बन्यो भने उपविजेता आयोजक समूह बन्यो । केन्द्रले मल्म, गैराखर्कस्थित आफ्नै खेल मैदानमा मेला सञ्चालन गर्दै आएको छ ।

केन्द्रले रु छ लाखमा जग्गा किनेर मैदान र कार्यक्रमस्थल व्यवस्थापन गरेको थियो । मेलालाई थप व्यवस्थित र प्रभावकारी बनाउने योजना केन्द्रको छ । उक्त मेलामा गायक वसन्त थापा, गायिका निशा श्रीष, सुरज थापालगायतले मनोरञ्जन प्रदान गरेका थिए । मेलाको उद्घाटन गण्डकी प्रदेशसभा सदस्य दिलमाया रोकामगर गौतमले गरेकी थिइन् ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ९ : १६ बजे

सिद्धार्थ बैंकले दिएको लाभांश लिन गएनन् लगानीकर्ता

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले दिएको लाभांश लिन लगानीकर्ता नगएको

शिवजीको पूजा र ‘सेल्फी’मा रमाउँदै महिला (तस्बिरहरू)

काठमाडौं– भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्व मंगलबार देवाधिदेव

सरकारले उखु किसानका माग पूरा गर्नुपर्छ : डा. कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलनरत उखु

महालक्ष्मी विकास बैंकको कम्पनी सचिवमा पन्त

काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडको कम्पनीको सचिवमा सोमराज पन्त

मुक्तिनाथ म्युचुअल फण्ड १ : ३.८ प्रतिशत लाभांश खातामा जम्मा

काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा मुक्तिनाथ