शहरी क्षेत्रमा शल्यक्रियामार्फत प्रसूति सेवा बढ्दो | Khabarhub Khabarhub

शहरी क्षेत्रमा शल्यक्रियामार्फत प्रसूति सेवा बढ्दो


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व स्वास्थ्य संगठनले शिशूको स्वास्थ्य ५ प्रतिशत वा गर्भवती आमाको स्वास्थ्य ५ प्रतिशत जोखिममा रहेको अवस्थामा गर्भवती महिलाको शल्यक्रिया गरेर प्रसूति गराउनुपर्ने बताउँछ ।

विश्व स्वास्थ्य संगठनका अनुसार जोखिमकाे अवस्थामा रहेका गर्भवती महिलाको शल्यक्रियाद्वारा गराइने प्रसूतिको दर ५ प्रतिशत भन्दा कम छ भने त्यस क्षेत्रमा गर्भवती महिलाले सुरक्षित रुपमा प्रसूति सेवा नपाएको मानिन्छ ।  त्यस्तै कुनै पनि स्वास्थ्य संस्थामा १५ प्रतिशत भन्दा बढी गर्भवतीको शल्यक्रिया मार्फत प्रसूति गराइनुलाई पनि गलत हुने विश्व स्वास्थ्य संगठनको ठहर छ ।

तर, कुनै पनि स्वास्थ्य संस्थामा कूल प्रसूति गराउने गर्भवतीमध्ये १० देखि १५ प्रतिशत शल्यक्रियाद्वारा प्रसूति हुनुलाई उचित मानिन्छ । पछिल्लो समय नेपालका शहरी क्षेत्रहरुमा शल्यक्रिया मार्फत प्रसूति गराउने क्रम बढ्दै गएको छ । प्रसूति सेवा प्रदान गर्ने नेपालका शहरी क्षेत्रका प्रमूख १२ वटा अस्पतालहरुमा शल्यक्रिया गरेर शिशू जन्माउने क्रम १५ प्रतिशत भन्दा माथि रहेको पाइएको छ ।

प्रदेश नम्बर एकमा रहेको कोशी अञ्चल अस्पताल, विराटनगरमा आर्थिक वर्ष २०७५/७६ को साउन देखि चैत्र सम्ममको तथ्यांकको अनुसार ९ महिनाको अवधिमा ७ हजार १ सय ३३ जनाको प्रसूति गराइएको थियो । जसमा १ हजार ७ सय ५५ जनाको शल्यक्रियामार्फत सुत्केरी गराइएको अस्पतालको तथ्यांक छ ।

यस्तै प्रदेश नम्बर २ को जनकपुर अञ्चल अस्पताल, धनुषामा ७ हजार ७ सय ४ जनाको सुत्केरी गराइएकोमा २ हजार १ सय १ जनाको शल्यक्रियामार्फत सुत्केरी गराइएको छ । प्रदेश २ कै नारायणी उपक्षेत्रीय अस्पताल, विरगञ्जमा ८ हजार १ सय ५२ जनाको सुत्केरी गराइएकोमा १ हजार ३ सय ३१ जनाको शल्यक्रिया शिशू निकालिएको छ ।

यस्तै प्रदेश ३ को काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा ९ महिनामा १८ हजार ८ सय ६६ जनाको सुत्केरी गराइएकोमा ५ हजार ४ सय ७२ जनाको शल्यक्रियामार्फत शिशू जन्माइएको छ । प्रदेश ३ कै भरतपुर अस्पताल, चितवनमा पनि ८ हजार ६ सय १० जनाको सुत्केरी गराइएकोमा ३ हजार ४ सय ३६ जनाको शल्यक्रिया मार्फत सुत्केरी गराइएको छ ।

यसैगरी गण्डकी प्रदेशमा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा ९ महिनाको अवधिमा ८ हजार ६ सय १० जनाको सुत्केरी गराइएकोमा २ हजार २ सय ७४ जनाको शल्यक्रियामार्फत सुत्केरी गराइएको छ ।

यस्तै प्रदेश नम्बर ५ मा रहेको लुम्बिन अञ्चल अस्पताल, बुटवलमा १० हजार १ सय ३३ जनाको सुत्केरी गराइएकोमा २ हजार ७ सय २५ जनाको शल्यक्रियामार्फत सुत्केरी गराइएको छ । प्रदेश ५ कै भेरी अञ्चल अस्पताल, बाँकेमा ५ हजार १ सय ९७ जनाले प्रसूति सेवा पाएकोमा ९ सय ३५ जनाको शल्यक्रियाद्वारा शिशू जन्माएका हुन् ।  प्रदेश नम्बर ५ कै अर्को अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि ४ हजार ६ सय १८ जनाले प्रसूति सेवा पाएकोमा ९ सय २९ जनाले शल्यक्रियामार्फत शिशू जन्माएका छन् ।

कर्णाली प्रदेशको मध्य पश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा ३ हजार ९ सय ९६ जनाले सुत्केरी सेवा पाएकोमा ७ सय ३९ जनाको शल्यक्रियामार्फत सुत्केरी गराइएको छ । प्रदेश सातको सेती अञ्चल अस्पतालमा पनि ९ महिनाको अवधिमा ७ हजार ४ सय ९९ जनाको सुत्केरी गराइएकोमा १ हजार ८ सय ८८ जनाको शल्यक्रिया मार्फत सुत्केरी गराइएको छ ।

यो तथ्यांकलाई हेर्दा शहरी क्षेत्रका अस्पतालहरु शल्यक्रियाद्वारा प्रसूति गराउने दर उच्च देखिन्छ ।

कुन अस्पतालमा कति प्रतिशत बढी ?

विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संस्थामा १५ प्रतिशत भन्दा बढी गर्भवतीको शल्यक्रियामार्फत सुत्केरी गराइनु गलत मान्दछ ।

तर यी १२ वटै अस्पतालहरुमा शल्यक्रियाद्वारा सुत्केरी गराइएको प्रतिशत १५ प्रतिशत भन्दा बढी नै रहेको छ । कुन कुन अस्पतालले कति प्रतिशत गर्भवती महिलाको शल्यक्रियामार्फत प्रसूति गराएका छन्

कोशी अञ्चल अस्पताल :२५

जनकपुर अञ्चल अस्पताल :२७

नारायणी उपक्षेत्रीय अस्पताल :१६

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालः२९

भरतपुर अस्पतालः ३७

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालः २६

लुम्बिन अञ्चल अस्पतालः२७

भेरी अञ्चल अस्पतालः१८

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानः२०

मध्य पश्चिमाञ्चल क्षेत्रीय अस्पतालः१९

सेती अञ्चल अस्पतालः२५

किन बढ्दैछ शल्यक्रिया ?

शहरी क्षेत्रका अस्पतालमा धेरैजस्तो रेफर भएर आएका गर्भवतीहरु बढी हुन्छन् । ग्रामिण क्षेत्रका वर्थिङ सेन्टरहरुमा सामान्य तरिकाले सुत्केरी हुन नसकेका महिलाहरु नै शहरी क्षेत्रका अस्पतालमा आउने हुँदा उनीहरुको शल्यक्रिया गर्नुपर्ने अवस्थाकै सुत्केरी हुनसक्ने परिवार कल्याण महाशाखाकी सुरक्षित मातृत्व शाखाकी प्रमुख डा पुण्या पौडेलले बताइन् ।

‘सरकारी अस्पतालहरुमा पनि शल्यक्रियाद्वारा प्रसूति गराउने दर बढ्नुको कारण भनेको शहरी क्षेत्रका सरकारी अस्पतालमा ग्रामिण क्षेत्रबाट रेफर भएर आउने गर्भवती धेरै हुन्छन्,’ डा पौडेलले भनिन्, ‘उनीहरुको अवस्था जटिल हुने भएर नै केन्द्रका अस्पतालहरुमा यो दर बढी भएको हुनसक्छ ।’

निजी तथा सरकारी कुनैपनि अस्पतालमा १५ प्रतिशत भन्दा बढी गर्भवतीको शल्यक्रियामार्फत प्रसूति गराइनु गलत नै भएको मिडवाइफ्री सोसाइटी अफ नेपालकी अध्यक्ष डाक्टर लक्ष्मी तामाङले बताउछिन् ।

उनले भनिन्- ‘विश्व स्वास्थ्य संगठनले १५ प्रतिशतभन्दा बढी गर्भवतीको शल्यक्रिया हुनुलाई असामान्य नै मानेको छ, त्यसैले कुनैपनि अस्पतालमा १५ प्रतिशत भन्दा बढी गर्भवतीको शल्यक्रियामार्फत प्रसूति गराइनु भनेको त्यहाँ केही स्वार्थ छ, चलखेल पनि हुनसक्छ ।’

निजी अस्पतालमा डरलोग्दो अवस्था

नेपालको ठूला निजी अस्पतालहरु झनै शल्यक्रियामार्फत प्रसूति गराउन अघोषित प्रतिस्पर्धा नै रहेको डा तामाङ बताउँछिन् ।

‘शल्यक्रियाद्धार बढी प्रसूति गराउने अस्पतालहरुमा निजी अस्पतालहरु अगाडि नै छन् ।,’ डा तामाङले भनिन्, ‘निजी अस्पतालहरुमा इन्जेक्सन दिएर नै अपाकृतिक रुपमा प्रसूति गराउने समेत गरिएको छ ।’

निजी अस्पतालहरुमा अपाकृतिक रुपमा बेथा लाग्ने औषधि दिएर समेत शल्यक्रिया गर्ने गरिएको डा तामाङले बताइन् ।

उनले भनिन्, ‘औषधि तथा सुईहरु लगाएर गर्भवतिहरुलाई अप्राकृतिक रुपमा बेथा लगाइदिन्छन्, जसले गर्दा प्राकृतिक वेथा जस्तो शिशू आमाको योनीमार्गबाट शिशू जन्मन सक्दैन र जोखिममा पर्‍यो भन्दै शल्यक्रिया समेत गरिन्छ ।’

निजी अस्पतालहरुमा शल्यक्रियामार्फत प्रसूति गराउँदा अस्पताल बसाइको क्रम लम्बिने र खर्च बढ्ने भएकाले निजी अस्पतालहरु आम्दानी बढाउन पनि निजी अस्पतालले शल्यक्रिया मार्फत प्रसूति गराउने गरेको बताइन् ।

परिवार कल्याण महाशाखाकी महाशाखाकी सुरक्षित मातृत्व शाखाकी प्रमुख डा पुण्या पौडेलका अनुसार सामान्य तरिकाले सुत्केरी गराउने जनशक्ति निजी अस्पतालमा नहुँने कारणले पनि चिकित्सकले शल्यक्रियाद्वारा प्रसूति गराउने गरेको बताउँछिन् ।

‘निजी अस्पतालहरुमा प्रसूति गराउने अन्य दक्ष कर्मचारीहरु नै कम हुन्छन्, शल्यक्रियाद्वारा प्रसूति गराउने चिकित्सहरु नर्मल डेरीभरी हुने समय र जोखिम कुर्दैनन्, गर्भवतिको शल्यक्रिया गरेरै बच्चा निकाल्न उनीहरुका लागि सहज हुन्छ,’ डा पौडेलले भनिन्, ‘निजी अस्पतालमा चिकित्सकलाई आफ्नो ड्युटी र जिम्मेवारीसँग मात्रै मतलब हुन्छ नर्मल डेलिभरीको रिक्स लिन चाहँदैनन् । त्यसैले निजीमा शल्यक्रियाद्वारा प्रसूति गराउने क्रम बढी भएको हुनसक्छ ।’

आमा र बच्चालाई हुने जोखिम

शल्यक्रियामार्फत शिशू जन्माउँदा आमा र शिशू दुवैको ज्यान झनै जोखिममा हुने डा तामाङ बताउछिन् ।

‘आमाको योनीमार्गबाट जन्मिने शिशूमा भन्दा शल्यक्रिया गरी जन्मिएका शिशूहरुमा ५० प्रतिशतमा दम, ३० प्रतिशतमा मधुमेह हुने सम्भावना रहन्छ,’ डा तामाङ भन्छिन्, ‘शल्यक्रिया गरेकी आमाले पहिलो सन्तान जन्मदा शल्यक्रिया गरेमा दोस्रो सन्तान जन्मिँदा पनि शल्यक्रिया नै गर्नुपर्छ, शल्यक्रिया गर्दा अत्याधिक रक्तश्राप हुने, संक्रमण हुने सम्भावना बढी हुन्छ ।’

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ६ : ३५ बजे

मेनुकाको आँखामा राखियो ‘कस्मेटिक प्रोथेस्टिक’, देख्न नसकेपनि चस्मा लगाउन नपर्ने

काठमाडौं– गायिका मेनुका पौडेलको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ भनिने कृत्रिम आँखा

बजेट तर्जुमा प्रक्रियामै प्रधानमन्त्रीको हस्तक्षेप, अप्ठेरोमा अर्थमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेट तर्जुमा

ब्रोकर कमिसन कटौती : काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर !

काठमाडौं– नेपालमा एउटा निकै चर्चित उखान छ – ‘काम कुरो

२२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन

काठमाडौं– इन्जिनियनिङ पढिरहेकी २२ वर्षीया किशोरी स्नेहा लामिछाने एक सातादेखि

एकीकृत समाजवादीको स्पष्टीकरण : सरकारको विकल्प खोज्न दायाँबायाँ गरिएको छैन

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले अहिले नै