कहाँ पुग्यो समाजवादी पार्टी र राजपाबीचको एकता प्रक्रिया ? | Khabarhub Khabarhub

कहाँ पुग्यो समाजवादी पार्टी र राजपाबीचको एकता प्रक्रिया ?


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मूलधारको राजनीतिमा आउने योजनामा रहेका मधेसवादी दलले पार्टी एकताको प्रक्रिया अघि बढाएका छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालबीच एकीकरण प्रक्रिया अघि बढेको हो । दुवै दलले एकता प्रक्रियालाई निर्णायक बनाउन वार्ता टोली नै गठन गरी काम अघि बढाएको राजपा अध्यक्ष मण्डलका एक नेताले बताए ।

गठिन वार्ता टोलीमा राजपाका तर्फबाट अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोको नेतृत्वमा बृषेशचन्द्र लाल र केशव झा सदस्य रहेको वार्ता टोली गठन भएको छ । त्यस्तै समाजवादी पार्टी नेपालका तर्फबाट राजेन्द्र श्रेष्ठ र राम सहाय यादव सदस्य रहेको वार्ता टोली गठन भएको छ ।

धारणा बनाउन राजपाको बैठक

पार्टी एकतालाई प्रभावकारी बनाउन र एकताको अन्तिम खाका तयार पार्न राष्ट्रिय जनता पार्टीले शुक्रबार राजनीतिक समितिको बैठक बोलाएको छ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा पार्टी एकताको धारणा तय गर्दै पार्टीको आगामी कार्यदिशाका विषयमा छलफल गर्ने एजेन्डा रहेको महासचिव मनिषकुमार सुमनले जानकारी दिए ।

नेता सुमनका अनुसार लामो समयदेखि राजनीतिक घटनाक्रमका विषयमा पार्टी भित्र बैठक नभएकाले पार्टीको भावी रणनीति निर्माण र नयाँ कार्यगत नीतिका विषयमा बैठकमा छलफल हुनेछ ।

यसैबीच उपेन्द्र यादव र डा. बाबुराम भट्टराई नेतृत्वमा रहेको समाजवादी पार्टी नेपालले पनि राजपासँगको एकताका लागि आन्तरिक तयारी थालेको छ ।

यादव र डा.भट्टराईबीचको पार्टी एकताका विषयमा छलफल हुँदैदेखि राजपासँग पनि पार्टी एकताका गर्ने विषयमा छलफल भएको थियो । त्यसै अनुसार अहिले एकता प्रकृयाले गति लिएको नेताहरुले बताएका छन् ।

अन्य दलसँग कार्यगत एकता र पार्टी एकताका विषयमा छलफल गर्ने जिम्मेवारी पाएका नेताद्वय राजेन्द्र श्रेष्ठ र रामसहाय यादव औपचारिक तथा अनौपचारिक छलफलमा जुटेका छन् ।

उनीहरुले अहिले राजपासँगको एकता प्रक्रियालाई पूर्णता दिन सामूहिक रुपमा तथा दोस्रो तहका नेताहरुसँगको छलफललाई अघि बढाएका छन् । एक चरणमा एकताको कुरा अघि बढेपछि अध्यक्ष मण्डलसँग बसेर छलफल गर्ने समाजवादी पार्टी नेपालको योजना छ ।

एकताका मुख्य ३ उद्देश्य

राजपा र समाजवादी पार्टी नेपालको एकीकरणका मुख्य ३ उद्देश्य रहेको राजनीतिक विश्लेषक बताउँछन् । वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई बलियो बनाउन, संघीय सरकारमा दुईतिहाईको मत पु¥याउँदै संविधान संशोधनको मार्ग प्रशस्त गर्न तथा मधेसका मुद्दामा केन्द्रित रहेको दललाई देशकै बैकल्पिक शक्तिका रुपमा उदय गराउन एकताको सोच अघि बढेको हो ।

अर्काथरी विश्लेषकले चीनको दबाबमा उपेन्द्र यादव लगायत पूर्व वामपन्थी नेता एकीकरण प्रकृयामा जान खोजेका छन् ।

चीनका राष्ट्रपति सी जीङ पीङको नेपाल भ्रमणलाई लक्षित गर्दै मधेशवादी दल एक भएर शक्तिका रुपमा प्रस्तुत हुन खोजेको कतिपयको आकलन छ ।

पार्टी एकतापछि शक्तिशाली बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अघिल्लो निर्वाचनमा पाएको जनमतबाट सिकेर एकताबाटै जनता खुसी हुने निष्कर्षसहित एकता प्रक्रियामा जुट्न स्थानीय तहका कार्यकर्ताले शीर्ष तहका नेता तथा कार्यकर्तालाई सुझाव दिएका छन् ।

मधेस केन्द्रित दलले मधेसका माग सम्बोधन गर्न काम गर्ने भनेपनि निहीत स्वार्थका कारण मत बाँडिएर अन्य दलले फाइदा लिएको महशुस गरेका मधेसवादी दल एकता प्रक्रियामा अघि जुटेका हुन् ।

एकतापछिको शक्ति सन्तुलन

उपेन्द्र यादव र डा.बाबुराम भट्टराईबीच एकीकरण भएपछि बनेको समाजवादी पार्टी नेपाल र ६ सदस्यीय अध्यक्षमण्डल रहेको राजपाबीचको शक्ति झण्डै बराबर नै छ । उपेन्द्र यादव नेतृत्वको पार्टी संघीय सरकारमा सहभागी छ । उपप्रधानमन्त्रीसहित २ मन्त्रालयको जिम्मेवारी लिएर उपेन्द्रको दल संघीय सरकारमा सहभागी छ । त्यस्तै राजपासँग मिलेर प्रदेश नम्बर २ मा संयुक्त सरकार सञ्चालन छ ।

त्यस्तै राजपाले प्रतिनिधिसभाका १७ सीटमा प्रतिनिधित्व गरेको छ । राष्ट्रियसभामा २ गरी संघीय संसदमा राजपाका १९ सीट छन् । नयाँ शक्ति पार्टी नेपालसँग एकीकरण भएपछि समाजवादी पार्टी नेपालका पनि प्रतिनिधिसभामा १७ र राष्ट्रियसभामा २ गरी १९ सीट छ ।

प्रदेशमा उपेन्द्र नेतृत्वको समाजवादी पार्टी नेपाल केहि सीटले अघि छ । राजपाको प्रदेश–२ मा २५ जना, प्रदेश ५ मा १ जना, प्रदेश ७ मा २ जना गरी २८ जना प्रदेशसभा सदस्य छन् । समाजवादी पार्टी नेपालका पनि प्रदेश–१ मा २ जना, प्रदेश २ मा २९ जना र प्रदेश ५ मा ३ जनासहित ३४ जना प्रदेश सदस्य छन् ।

दुई पार्टीबीच एकता गर्ने हो भने मधेसमा नेपाली कांग्रेस र नेकपाले अहिले प्राप्त गरेको सीट पनि आफूहरुले पाउने र पहाडी क्षेत्रमा पनि प्रभाव पार्न सकिने उनीहरुको आकलन रहेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ५ : ३५ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले