लण्डन– बेलायतको संसदमा भएको घण्टौँ लामो छलफलपछि युरोपेली संघ (इयु)बाट बेलायत बाहिरिने (ब्रेक्जिट) प्रक्रियाका लागि उपायहरू खोज्ने उद्देश्यले बिहीबार संसदमा भएको मतदानमा सम्झौताबिहीन ब्रेक्जिट, लेबर पार्टीको वैकल्पिक सम्झौतालगायतका प्रस्तावित सबै ८ विकल्पमा बहुमत जुट्न सकेन ।
भन्सारका विषयमा थप वार्ता गर्ने र संसदले पारित गर्ने जुनकुनै सम्झौतालाई जनमत संग्रहबाट पारित गर्नुपर्ने प्रस्ताव भने बहुमतको नजिक देखिएका थिए ।
सांसदहरूको मनसाय बुझ्ने उद्देश्यका साथ भएको उक्त मतदानको नतिजा बाध्यकारी नभए पनि त्यसले अगाडिको जटिल बाटो भने स्पष्टसँग चित्रण गरेको छ ।
दिइएका ८ विकल्पमा एप्रिल १२ तारिखमा सम्झौता बिना नै ईयू छाड्नेदेखि लिएर दोस्रो जनमत संग्रह गर्ने बिषयसम्मका थिए । मार्च २९ मा सम्झौता बिना नै बहिर्गमन गर्ने भएपनि यसलाई मे २२ वा अप्रिल १२ सम्म सार्नुपर्ने भन्ने प्रस्तावको पक्षमा ४४१ मत परेको थियो ।
कतिपयले बहुमत नजिक रहेका केही विकल्पलाई सोमवार पुनः यस्तै मतदानमा लैजानुपर्ने बताएका छन् । अन्यको जोड भने अब दोस्रो आमनिर्वाचनमा जाने र त्यसले स्थापित गर्ने संसदले मात्र यो गतिरोधको अन्त्य गर्न सक्छ भन्ने छ ।
कुनै विकल्प नभेटिँदासमेत बेलायतले १२ एप्रिलमा बिना सम्झौता ईयू छाड्न सक्छ । तर, अहिलेलाई त्यसको सम्भावना समेत कम देखिएको छ, किनकी उपलब्ध थुप्रै विकल्पमा सांसदहरू नै दोधारको अवस्थामा देखिएका छन् ।
मतदान अघि प्रधानमन्त्री टेरीजा मेले आफूले तयार पारेको सम्झौता पारित गरिए ईयूसँगको भावी सम्बन्धबारे हुने वार्ताका लागि नयाँ नेतृत्वलाई पद छाड्ने बताएकी थिइन् । तर, उनले ‘सोचिएभन्दा अगावै’ भने पनि त्यसको स्पष्ट समय सीमा भने खुलाएकी छैनन् ।
प्रधानमन्त्री मेले भनेजस्तै भएमा समेत नयाँ प्रक्रियाको नेतृत्व कसले गर्ने भन्ने पनि स्पष्ट छैन । एकजना मन्त्रीले जनाएअनुसार प्रधानमन्त्री मेले तयार पारेको सम्झौता नै उपलब्ध ठीक विकल्प हो भन्ने यसले देखाएको छ । यसअघिको समय सीमा मार्च २९ मा सकिनेछ ।
त्यस समयभित्र आफ्नो सम्झौता प्रस्ताव दोस्रोपटक अस्वीकृत भएपछि प्रधानमन्त्री मेले ईयूसँग थप समय माग्दै ‘त्यो लम्बिने अवस्थाका लागि आफू नेतृत्वका लागि तयार नभएको’ बताएकी छन् ।
बेलायतले ब्रेक्जिटका लागि आउँदो मे २२ सम्मको समयसीमा पाउनेछ । यदि सांसदहरूले सो सहमतिलाई अनुमोदन गरेनन् भने ब्रेक्जिटका लागि एप्रिल १२ सम्मको सानो समय सीमा दिइनेछ ।
प्रतिक्रिया