काठमाडौं– महांकालस्थित वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरको बीचमा रहेको सडकमा दुई अस्पतालमा पुग्ने बिरामी र उनीहरुका आफन्तको बाक्लो चहलपहल देखिन्छ । अस्पतालको पर्खालसँगै मोटरलाइकलहरु खचाखच पार्किङ गरिएको छ ।
मोटरसाइकल पार्किङ गरेर राखिएको ट्रमा सेन्टरकोे पर्खालमा सांकेतिक तस्वीरसहित ठूला अक्षरमा ‘धुम्रपान निषेधित क्षेत्र’ लेखिएको छ । तस्वीरसहितको उक्त सन्देशले सो क्षेत्रमा सूर्तिजन्य पदार्थको सेवन गर्न पाइदैंन भन्ने ज्ञान शिक्षित अशिक्षित सबैलाई दिन्छ । तर उक्त सन्देशको छेउमै बसेमा मानिसहरु चुरोटको धुँवा उडाइरहेका हुन्छन् भने गुट्खा चपाइरहेका हुन्छन् ।
वीर अस्पताल क्षेत्रमा पुग्दा मानिसहरु ‘धुम्रपान निषेधित क्षेत्र’ लेखिएको पर्खालमुनि चुरोटको धुँवा उडाउँदै थिए । निषेधित क्षेत्रमा धुम्रपान गर्नेहरुमा युवा, वृद्ध,वृद्धा र महिलाहरु थिए । केही युवाहरु ट्रमा सेन्टरकै प्रवेशद्वारमा सामूहिक रुपमा नै चुरोट सेवन गर्दै थिए ।
सूर्तिजन्य पदार्थ नियमन नियन्त्रणका लागि बनाइएको सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियम निर्देशिका, २०७१ अनुसार सार्वजनिक स्थानमा सूर्तिजन्य पदार्थको सेवन गर्नेलाई तत्काल कारबाहि गर्ने व्यवस्था रहेको छ ।
जसमा प्रहरी, महानगर, उपमहानगर र नगरप्रहरीलाई समेत कारवाही गर्ने अधिकार दिएको छ भने महानगरका अधिकारीलाई सूर्तिजन्य पदार्थ सेवन विक्रिवितरणको अवस्था अनुगमनको अधिकार दिएको छ । तर ट्रमा सेन्टरको प्रवेशद्वारमै रहेका काठमाडौं महानगरपालिकाका प्रहरीहरु भने चुरोट सेवन गरिरहेकाहरुसँग नै गफमा व्यस्त देखिन्थे ।
निषेधित लेखिएको अस्पताल परिषरमा खुलमखुल्ला धुम्रपान भइरहेको देखेर हामीले त्यहाँको अवस्थाको फोटो खिच्यौं । तस्बिर खिच्दै गर्दा चुरोट सेवन गर्दैगरेका व्यक्तिसँग गफिँदै गरेका महानगरका कर्मचारीले किन फोटो खिचेको भन्दै हप्काए ।
‘तपाई को हो ? कस्को फोटो खिचेको ? नसोधिकन अरुको फोटो खिच्न पाइँदैन भन्ने थाहा छैन ?’ महानगरका ती कर्मचारीले फोटो खिचेकोमा आक्रोशित हुँदै प्रश्न गरे ।
नियमनकारी निकायका कर्मचारी नै धुम्रपान निषेधित क्षेत्रमा चुरोटसेवन गरिरहेका व्यक्तिसँग गफिँदै गर्दा त्यसको अनुमति कोसँग लिने ? मनमा खेलेको प्रश्नका बीच महानगरका ति कर्मचारीसँग सोधियो ‘फोटो खिच्न अनुमति लिनुपर्छ भन्ने महानगरको कर्मचारीलाई सार्वजनिक स्थानमा धुम्रपान गर्न हुँदैन र धुम्रपान गर्ने व्यक्तिलाई कारबाही गर्ने अधिकार छ भन्ने जानकारी छ कि छैन ? कि वेवास्ता गर्नुभएको ?’ उनको प्रश्नमा मैले प्रतिप्रश्न गरे । महानगरका ती कर्मचारी जवाफविहीन बने र त्यहाबाट हिँडे ।
सार्वजनिक स्थानमा धुमपान गरे जरिवाना
सूर्तिजन्य पदार्थको नियन्त्रण ऐन–२०६८ का अनुसार राज्य तथा सरकारी निकाय, संस्था वा कार्यालयलाई सार्वजनिक स्थलको रुपमा व्याख्या गरिएको छ ।
त्यस्तै शिक्षण संस्था, पुस्तकालय, तालिम, तथा स्वास्थ्य सम्बन्धि संस्था, विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीका साधन, वालकल्याण गृह, शिशु स्याहारा केन्द्र, वृद्धाश्रम, अनाथालय, बाल उद्यान तथा क्लब, सार्वजनिक शौचालय, उद्योग तथा कल कारखानाका कार्यस्थललाई सार्वजनिक स्थल भनि तोकेको छ ।
त्यस्तै चलचित्र घर, सांस्कृतिक केन्द्र तथा नाट्यशाला, होटल, मोटल, रिसोर्ट, रेष्टुरेण्ट, बार, भोजनालय, चमेनागृह, लज, छात्र वा छात्रावास तथा अतिथि गृह, रङ्गशाला, कभर्डहल, शारीरिक सुगठन व्यायाम केन्द्र, पौडी पोखरी तथा पुल हाउस, डिपार्टमेण्टल स्टोर तथा मिनी मार्केट, धर्मशाला तथा धार्मिक स्थल,सार्वजनिक सवारीका प्रतिक्षालय तथा टिकट काउण्टर लाई सार्वजनिक स्थलको रुपमा ऐनले व्याख्या गरेको छ ।
यी स्थानमा धुमपान वा सूर्तिजन्य पदार्थ सेवन गर्नेमाथि सजायको व्यवस्था पनि गरिएको छ ।
सार्वजनिक स्थलमा सूर्तिजन्य नियन्त्रण नियमन ऐन २०६८ को परिच्छेद ५ को सजाय तथा पुनरावेदनको (क) मा धुमपान वा सूर्ति सेवन गर्त तुरुन्त रोक लगाउने र त्यसरी रोक लगाउँदा नमानेमा वा पटक पटक धुमपान वा सूर्तिसेवा गरेमा निजलाई त्यस्तो सार्वजनिक स्थालबाट बाहिर निकाल्ने वा एकसय रुपैयाँ जरिवाना वा दुबै सजाय गर्ने व्यवस्था गरेको छ ।
त्यस्तै (ख) मा धुमपान वा सूर्ति सेवन गर्ने व्यक्ति सर्वाजनिक स्थलसँग सम्बन्धित व्यक्ति वा कर्मचारी भएमा धुमपान वा सूर्ति सेवन गर्न तुरुन्त रोक लगाउने र पटक पटक धुमपान वा सूर्तिसेवन गरेमा अनुशासनमा नरहेको सरह मानी निजको सेवा शर्त सम्बन्धी कानून बमोजिम सचेत गराउने वा अन्य विभागीय कारबाही गर्ने व्यवस्था गरेको छ ।
डाक्टरलाई हप्काउँछन्
ट्रमा र वीर अस्पताल परिषर मात्रै होइन, प्रायः सरकारी अस्पतालका प्रवेशद्वार क्षेत्रको सडक सुर्तीजन्य पदार्थ विक्री गर्ने साना व्यापारीको मुख्य बजार क्षेत्र नै बनको छ ।
अस्पताल परिसरमा धुम्रपान गरिरहेकाहरुलाई चिकित्सकले सचेत पनि गराउँछन् । निषेधित क्षेत्रमा धुम्रपान गर्नेहरुलाई सचेत गराउन खोज्दा आफैले गाली खाने गरेको नमिठो अनुभव डाक्टरहरुको छ ।
‘हामीले नै पहल गरेर अस्पतालको पर्खालमा धुम्रपान निषेधित क्षेत्र लेखेका हौं, तर वीर र ट्रमा सेन्टरको त्यो क्षेत्रमा मानिसहरुले चुरोट, सुर्ती सेवन गरिरहेका हुन्छन्,’ वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डाक्टर सन्ध्या चापागाईंले खबरहबसँग भनिन्, ‘हामीले यहाँ चुरोट खान पाइँदैन भन्दा कतिले फाल्छन् । कतिले त हामीलाई नै थर्काउँछन् ।’
सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटु र उच्च रक्तचापको बिरामीहरु बढ्दै गएको डा चापागाईंको भनाइ छ ।
नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण वार्षिक १७ हजारको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । सरकारी तथ्यांकको अनुसार नेपालमा ५५ लाख १ हजार ३ सय ५८ जनाले चुरोट सेवन गर्छन् ।
धुम्रपान तथा सुर्ती सेवन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक भएको भन्दै सरकारले यसको नियन्त्रण नियमनका लागि विशेष कानुन पनि बनाएको छ । सुर्तीजन्य पदार्थको उत्पादन, आयात, बिक्रीवितरण र सेवनलाई नियन्त्रण गर्न सरकारले ऐन, नियमावली तथा निर्देशिकाहरु बनाएको छ ।
सरकारले बनाएको निर्देशिकामा सार्वजनिकस्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने र उक्त कानूनको पालना नगर्नेलाई जरिवाना तथा जेल सजाय हुने व्यवस्था छ । सुर्तीजन्य पदार्थको नियन्त्रण नियमन गर्ने भन्दै राज्यकोषबाट वार्षिक करोडौं खर्च समेत हुन्छ । तर सुर्तीजन्य पदार्थ नियमन नियन्त्रणमा हुने खर्च बालुवामा पानी खनाए जस्तो मात्रै देखिन्छ ।
सरकारले बनाएको नियम कानुनलाई सम्बन्धित निकायले अनुगमन र नियन्त्रणमा ध्यान नदिदा सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको सेवन नरोकिएको डा. चापागाईं बताउँछिन् ।
‘सुर्तीजन्य पदार्थ नियमन नियन्त्रण गर्न नेपालमा कानून छ, जरिवाना तोकिएको छ, कारवाही गर्ने अधिकार पनि दिएको छ । तर सम्बन्धित निकायले कानुन कार्यान्वयन नै गरेको छैन,’ डा चापागाईं भन्छिन्, ‘सरकारले अनुगमन र कारवाही नगर्दा अस्पताल परिसरमा चुरोटको धुँवा उडाइरहेका देख्नु पर्छ । यस्तो देख्दा दुःख लाग्छ ।’
प्रतिक्रिया