बेइजिङ– छिमेकी मुलुक चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी त्यहाँ आयोजित अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनी २०१९ को उद्घाटन समारोहमा सहभागी भएकी छन् ।
राष्ट्रपति भण्डारी आइतबार चिनियाँ राष्ट्रपति सी चिनफिङ तथा अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र र मार्ग मञ्चमा भाग लिन आएका विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमखुसँगै अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनी २०१९ को उद्घाटन समारोहमा सहभागी भएकी हुन् ।
बेइजिङको दक्षिण पश्चिमी बाहिर भागमा केन्द्रबाट करीब ७० किलोमिटरको दूरीमा रहेको कुनमिङ नगरमा आयोजित उक्त प्रदर्शनीको चिनियाँ राष्ट्रपति चिनफिङले उद्घाटन गरे । राष्ट्रपति सीले यसै प्रदर्शनीबाट विश्वको सबै कुनामा हरित विकासको धारणा फैलन सक्ने आशा व्यक्त गरे ।
‘हरियालीमा बाँच, राम्रोसँग बाँच’ (लिभग्रिन, लिभ बेटर) नारा रहेको यो प्रदर्शनी १६२ दिन चल्ने छ । प्रदर्शनीमा ११० मुलुकको सहभागिता रहेको छ । राष्ट्रपति भण्डारीले उक्त प्रदर्शनीमा रहेको नेपाली प्याभिलियनको उद्घाटन समेत गरिन् ।
राष्ट्रपति भण्डारी आइतबार माउन्ट उताईस्थित महान् स्वेत चैत्य (ग्रेट ह्वाइट पगोडा) को अवलोकन गरिन् । सान्सीप्रान्तको उताई पहाडी भागमा अवस्थित यो चैत्य इँटाले बनेको छ । यसलाई सरिरा वाताइयुआन मन्दिर पनि भनिन्छ ।
प्रतिक्रिया