माथिल्लो त्रिशूलीका लागि ६५ अर्बको वैदेशिक लगानी स्वीकृत « Khabarhub

माथिल्लो त्रिशूलीका लागि ६५ अर्बको वैदेशिक लगानी स्वीकृत


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माथिल्लो त्रिशूली एक जलविद्युत् आयोजना निर्माणका लागि वैदेशिक लगानी भित्र्याउन मार्ग प्रशस्त भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा रहेको लगानी बोर्डको आइतबारको बैठकले सो आयोजनाका लागि ६५ अर्ब रुपैयाँ बराबरको लगानी ल्याउन स्वीकृति दिएको हो ।

वैदेशिक लगानीका लागि स्वीकृति प्राप्त भएपछि अब आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकलाई आग्रह गर्ने तयारी गरेको छ । प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको कूल २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–एक जलविद्युत् आयोजनाको गत कात्तिक १५ गते वित्तीय सम्झौतामा हस्ताक्षर भएको थियो ।

नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका महाप्रबन्धक गिरिराज अधिकारीले बोर्डको बैठकले स्वीकृति दिएपछि आफूहरुलाई काम गर्न थप सहज भएको बताए । ‘वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐन, २०७५’ अनुसार रु दुई अर्ब माथिको लगानीको स्वीकृति बोर्डले दिनुपर्ने प्रावधान छ ।

‘बोर्डको निर्णयको पत्र प्राप्त हुने बित्तिकै वैदेशिक लगानी ल्याउन नेपाल राष्ट्र बैंक जान्छौँ, त्यहाँबाट स्वीकृति हुने बित्तिकै निर्माण व्यवसायी परिचालन गर्छौं,’ महाप्रबन्धक अधिकारीले भने, ‘आगामी वैशाखदेखि निर्माण शुरु गर्ने तयारी भइरहेको छ ।’

प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको माथिल्लो त्रिशूली–एक आयोजना निजी क्षेत्रको हालसम्मकै ठूलो आयोजना हो । आयोजनामा विभिन्न नौवटा अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाको ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी छ ।

कूल अनुमानित लागत रु ६५ अर्बको सो आयोजनामा बैंक तथा वित्तीय संस्थाले कूल रु ५१ अर्ब लगानी गर्ने सम्झौता भइसकेको छ । उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको ठूलो आयोजना हो ।

आयोजनामा विश्व बैक समूहको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले १६ करोड १३ लाख, एशियाली विकास बैक (एडीबी)ले छ करोड, एशियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)ले तीन करोड ९६ लाख, कोरियाली निर्यात–आयात बैंक (केएक्जिम) ले १० करोड, कोरिया डेभलपमेन्ट बैक (केडीबी)ले तीन करोड आठ लाख डलर ऋण लगानी गर्ने सम्झौता भइसकेको छ ।

यसैगरी, सीडीसी ग्रुप पीएलसी (सीडीसी)को दुई करोड १९ लाख, नेदरल्यान्ड डेभलपमेन्ट फाइनान्स कम्पनी (एफएमओ)को एक करोड ५४ लाख, फ्रेन्च डेभलपमेन्ट फाइनान्सियल इन्स्टिच्युशन (प्रोपारको) एक करोड १० लाख र अन्तर्राष्ट्रिय विकासका लागि ओपेक फन्डको एक करोड ३२ लाख डलर ऋण लगानी रहनेछ । द बैैक अफ न्युयोर्क मेलनले ‘अफसोर एकाउन्ट’ र नेपाल इन्भेष्टमेन्ट बैंकले ‘अनसोर एकाउन्ट’ बैंकका रुपमा काम गर्नेछन् ।

आयोजनाबाट वार्षिक रुपमा एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने कूल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायामा उत्पादन हुनेछ । उत्पादित ऊर्जा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–थ्री बी हब सबस्टेशनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ ।

काठमाडौं लोड सेन्टरबाट नजीक रहेको र विद्युत्को अत्यधिक माग हुने हिउँदमा समेत १०४ मेगावाट क्षमता विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत् प्रणालीका लागि आयोजना आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर ऊर्जा प्राप्त हुनेछ ।

नेपाल सरकार र नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीबीच १४ पुस २०७३ मा आयोजना विकास सम्झौता (पीडीए) भएको थियो । नेपाल विद्युत् प्राधिकरण र कम्पनीबीच १४ माघ २०७४ विद्युत् खरिद–बिक्री सम्झौता भएको थियो ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ५ : ०५ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको