नरेन्द्र मोदीको दोस्रो सत्तारोहण– जातिवाद र परिवारवादको पतन | Khabarhub Khabarhub

नरेन्द्र मोदीको दोस्रो सत्तारोहण– जातिवाद र परिवारवादको पतन



‘सबैको सहयोग र सबैको विकास’ को नारा दिएर ५ वर्षसम्म देशको नेतृत्व गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमाथि त्यहाँका जनताले पुनः विश्वास प्रकट गरी पुनः ५ वर्षका निम्ति सरकार चलाउने जनादेश दिएका छन् । भारतको सत्ताधारी भारतीय जनता पार्टी नेतृत्वको नेशनल डेमोक्र्याटिक अलायन्स (एनडीए)को गठबन्धनलाई त्यहाँका जनताले ऐतिहासिक समर्थन दिनुमा प्रधानमन्त्री नरेन्द्र मोदीको सक्षम, सशक्त एवं सुयोग्य नेतृत्व क्षमतालाई प्रमुख कारण मानिन्छ । भारतीय राजनीतिमा व्याप्त जातिवाद, परिवारवाद एवं नातावादको जालोलाई ध्वस्त पार्दै उनले त्यहाँको राजनीतिमा नयाँ युगको सूत्रपात गरेका छन् । यसपालिको निर्वाचनमा मोदीलाई चुनाव जिताउनमा सकारात्मक राजनीतिले महत्वपूर्ण काम गरेको छ ।

नेहरु–गान्धी परिवारका पण्डित जवारहलाल नेहरु र इन्दिरा गान्धीले मात्रै यस अघि लगातार दुई पटकसम्म बहुमत प्राप्त सरकारको नेतृत्व गरेका थिए । साधारण मध्यमवर्गीय परिवारका तथा विपक्षी भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले लगातार दुईपटकसम्म बहुमत प्राप्त सरकारको नेतृत्व गर्ने अवसर पाउने भारतका तेस्रो व्यक्ति हुन् । नरेन्द्र मोदीले चुनाव प्रचारमा सकारात्मक राजनीतिको बढी प्रयोग गरे तथा जनतामा आफूप्रति विश्वास बढाउने खालका काम गरे । न त पारिवारिक पृष्ठभूमि, न त कुनै किसिमको सहानुभूतिपूर्ण लहर, तर पनि विपक्षी दलहरुको लज्जास्पद पराजयलाई अवश्य पनि नरेन्द्र मोदीको कुशल, सक्षम एवं विराट नेतृत्व क्षमतालाई प्रमुख कारण मान्नु पर्दछ ।

पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीजस्तै सोझो र सरल भाषामा जनतासँग संवाद कायम गर्ने तथा जनताको विश्वास जिती आफूलाई तिनको प्रिय नेता बन्ने कला वर्तमानको विश्व राजनीतिमा नरेन्द्र मोदीबाहेक विश्वका कमै नेतामा रहेको पाइन्छ । नरेन्द्र मोदी यथार्थमा जननेता हुन् र उनलाई देशका जनताले आफ्नो प्रिय नेता ठान्दछन् । सकारात्मक राजनीतिबाट पनि चुनाव जित्न सकिन्छ भन्ने यथार्थलाई मोदीले सावित गरिदिएका छन् ।

न त पारिवारिक पृष्ठभूमि, न त कुनै किसिमको सहानुभूतिपूर्ण लहर, तर पनि विपक्षी दलहरुको लज्जास्पद पराजयलाई अवश्य पनि नरेन्द्र मोदीको कुशल, सक्षम एवं विराट नेतृत्व क्षमतालाई प्रमुख कारण मान्नु पर्दछ

‘राष्ट्रवाद’ र ‘विकास’लाई आफ्नो प्रमुख चुनावी मुद्दा बनाएका नरेन्द्र मोदीले गत वर्ष एनडीएले प्राप्त गरेको ३९ प्रतिशत मतसहित ३३६ सिटको तुलनामा यसपालि ५४.०४ प्रतिशत मतसहित ३५३ सिटमा सफलता हासिल गरे । उनी स्वयंको पार्टी भाजपाले पनि सन् २०१४ मा प्राप्त गरेको २८२ सिटको तुलनामा यसपालि २१ सिट बढि ३०३ सिट प्राप्त गरेको छ । ४८ वर्षपछि भारतमा कुनै राजनीतिक पार्टीले बहुमतसहित सत्तामा पुनरागमन गरेको छ । भाजपाको ठूलो सफलताकै कारण लगातार दोस्रोपटक पनि देशको संसदमा प्रमुख प्रतिपक्षी दलको हैसियत कुनै पनि राजनीतिक पार्टीले प्राप्त गर्न सकेनन् । भारतीय राष्ट्रिय कांग्रेसले गत वर्ष ५४३ सिटमध्ये ४४ सिट मात्रै प्राप्त गरेको थियो जुनकि आवश्यक सङ्ख्या ५५ भन्दा कम थियो । यसपटक पनि उसले ५२ सिट मात्रै हासिल गरेको छ ।

प्रादेशिक रुपले विश्लेषण गर्ने हो भने गत वर्ष सन् २०१४ को निर्वाचनमा भारतीय राष्ट्रिय कांग्रेसले तमिलनाडू, आन्ध्रप्रदेश, गुजरात, राजस्थान, उडिसा, झारखण्ड, दिल्ली, जम्मु–कश्मिर, उत्तराखण्ड, हिमाचल, गोवा, नागाल्याण्ड, सिक्किम, त्रिपुरा र केन्द्रशासित करीब ६ वटा प्रदेशहरुमा आफ्नो खाता पनि खोल्न सकेको थिएन । परिस्थिति यसपालि पनि धेरै फेरिएको छैन र कांग्रेसले यस वर्षको निर्वाचनमा पनि गुजरात, दिल्ली, राजस्थान, उत्तराखण्ड, हरियाणा, जम्मु–कश्मिर, हिमाचल, तेलंगाना, आन्ध्र प्रदेश, उडिसा, त्रिपुरा र करीब आधा दर्जन केन्द्र शासित प्रदेशमा खातासम्म खोल्न सकेन ।

उत्तर प्रदेश, बिहार, मध्यप्रदेश, झारखण्ड, महाराष्ट्र, पश्चिम बगांललगायतका प्रदेशहरुमा ‘येन केन प्रकारेण !’ सिट जितेर पार्टीले चित्त बुझाउनुपर्‍यो । जबकि उपरोक्त प्रदेशहरुमा नै ४ सय भन्दा बढी लोकसभाका सिटहरु रहेको छ । सन् २०१४ को निर्वाचनमा कांग्रेसले देशको कुनैपनि प्रदेशमा दोहोरो अङ्कमा सिट जित्न सकेको थिएन ।

यस वर्ष केरलमा कांग्रेसले राम्रो सफलता हासिल गरेको छ । केरलबाहेक तमिलनाडूमा पनि पार्टीले आफ्ना सहयोगी डिएमकेसित मिलेर राम्रो सफलता हासिल गरेको छ, तर त्यसबाहेक एउटा पञ्जाबमा मात्रै पार्टीले ८ सिट जितेको छ अन्यथा अन्य कुनै प्रदेशमा ३ सिट पनि जित्न सकेको छैन । कांग्रेसका अध्यक्ष राहुल गान्धीले पनि अमेठीमा पराजय भोग्नुपर्‍यो । केरलको वायनाडमा जहाँ अल्पसङ्ख्यक मुसलमान र इसाइहरु बहुमतमा छन्, त्यहाँ राहुल गान्धीले अवश्य पनि चुनावी सफलता हासिल गरेका छन् ।

परिवारवाद, जातिवाद र नातावादमा विश्वास राख्ने नेताहरुले यसपटकको लोकसभा निर्वाचनमा ठूलै पराजय भोग्नुपर्‍यो

कांग्रेसका दिग्गज नेताहरु– मल्लिका अर्जुन खड्गे, पूर्व मुख्यमन्त्रीहरु सुशीलकुमार सिन्दे र अशोक चैहान (महाराष्ट्र), भूपेन्द्र सिंह हुडा (हरियाणा), शीला दीक्षित (दिल्ली), दिग्विजय सिंह (मध्यप्रदेश), हरिस रावत (उत्तराखण्ड), विरप्पा मोइली (कर्नाटक) गरी करीब ९ जना पूर्व मुख्यमन्त्रीले यसपटकको मोदी लहरमा पराजय भोग्न बाध्य भए । गुना र ग्वालियरका राजा मानिएका सिन्धिया राजपरिवारका प्रभावशाली ज्योतिर्यादित्य सिन्धिया पनि यसपटकको चुनावमा पराजय भोग्न बाध्य भए । खेल र चलचित्र जगतका केही अनुहारलाई पनि कांग्रेसले जिताउन सकेन । विजेन्द्र कुमार र कृष्ण पुनिया (ओलम्पिक पदक बिजेता), शत्रुघ्न सिन्हा र पूनम सिन्हा (पति–पत्नी) तथा राज बब्बर एवं उर्मिला मातोंडकरले पनि चुनावमा पराजय भोग्नुपर्‍यो । राजस्थानका मुख्यमन्त्री अशोक गहलोतका छोरा वैभव गहलोत तथा तेलंगानाका मुख्यमन्त्रीकी छोरीले पनि पराजय भोग्नुपर्‍यो । कर्नाटकका मुख्यमन्त्री एचडी कुमारास्वामीका पुत्र निखिल कुमारास्वामीले पनि पराजय भोग्नुपर्‍यो ।

भारतका कम्युनिस्ट पार्टीहरुको निम्ति पनि मोदी लहरले ठूलै क्षति पुर्‍यायो । कम्युनिस्ट पार्टीहरुको गढ मानिएको पश्चिम बङ्गाल र त्रिपुरामा पार्टीले खाता पनि खोल्न सकेन भने केरलमा सत्ताधारी भएर पनि उसले १ सिटमै चित्त बुझाउनुपर्‍यो ।

परिवारवाद, जातिवाद र नातावादमा विश्वास राख्ने नेताहरुले यसपटकको लोकसभा निर्वाचनमा ठूलै पराजय भोग्नुपर्‍यो । कर्नाटकमा अहिले जनता दल एसका एचडी कुमारा स्वामीको नेतृत्वमा कांग्रेससहितको गठबन्धन सरकार अस्तित्वमा छ, तर त्यहाँका २८ लोकसभा सिटमध्ये सत्ताधारी गठबन्धनले ३ सिटमै चित्त बुझाउनुपर्‍यो । मुख्यमन्त्रीका बुबा तथा भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडा पनि चुनावी पराजय भोग्न बाध्य भए । भारतीय राजनीतिका दिग्गज नेता शरद पवारकी छोरी सुप्रिया शुले पनि परम्परागत निर्वाचन क्षेत्र महाराष्ट्रको बारामतीमा पराजय भोग्नुपर्‍यो ।

भारतको लोकसभामा सबैभन्दा बढी सिट संख्या भएको उत्तरप्रदेशमा जातीय एवं पारिवारिक राजनीतिका पर्याय मानिएका मायावती र अखिलेश यादवले मोर्चा बनाइ चुनाव लडे पनि पूर्व मुख्यमन्त्री अखिलेश यादवले आफ्नी पत्नी डिम्पल यादव तथा पारिवारिक सदस्यहरु धर्मेन्द्र यादव र अक्षय यादवलाई चुनाव जिताउन सकेनन् । उत्तर प्रदेशका सबै सिट जित्ने दावी गरेका उनले ५ सिटमै चित्त बुझाउनुपर्‍यो, जबकि उनका सहयोगी मायावतीले १० सिटमै सन्तोष गर्नुपर्‍यो । मायावती आफूलाई तथा अखिलेश यादव आफ्नो बुबा मुलायम सिंह यादवलाई भारतको प्रधानमन्त्री बनाउन चाहन्थे । प्रधानमन्त्री नरेन्द्र मोदीलाई हटाउन विपक्षी दलहरुबीच एकजुटता कायम गर्न महाअभियान चलाएका आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबू नायडुले ऐतिहासिक पराजय भोगेपछि थन्किएका छन् ।

यसपटकको निर्वाचनमा भाजपाले प्रधानमन्त्री मोदीको कुशल नेतृत्व, राष्ट्रवादको एजेण्डा, आतंकारीहरुमाथि गरिएको एयर स्ट्राइक तथा सर्जिकल स्ट्राइकलाई प्रमुख राजनीतिक मुद्दा बनाएको देखियो

बिहारको राजनीतिमा विगत चार दशकदेखि निर्णायक सावित हुँदै आएका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको पार्टीले आफ्नो खातासम्म खोल्न सकेन । लालु यादवकी छोरी तथा सम्धीले पराजय भोग्नुपर्‍यो । मोदीको विरोध गरी चुनाव लडेका चर्चित अभिनेता शत्रुघ्न सिन्हाले पनि ठूलो पराजय भोग्नुपर्‍यो । जातिवादी र परिवारवादी राजनीतिमा विश्वास गर्ने शरद यादव, पूर्व मुख्यमन्त्री जितनराम माझी, उपेद्र कुशवाहा तथा पप्पु यादव (पति–पत्नीसहित)ले पराजय भोग्नुपर्‍यो । झारखण्डमा पनि दुईजना पूर्व मुख्यमन्त्री शिवु सोरेन तथा बाबुलाल मराण्डीले ठूलो पराजय भोग्नुपर्‍यो । प्रधानमन्त्री मोदीको विरोधमा खुलेर लागेकी पश्चिम बगांलकी मुख्यमन्त्री ममता बनर्जीले गत वर्ष प्रदेशमा ३४ सिट जितेकोमा यस वर्ष २३ सिटमै चित्त बुझाउनुपर्‍यो जबकि भाजपाले १८ सिट जिती मुख्यमन्त्री बनर्जीको टाउको दुखाइ बढाइदिएको छ । चार महिना अघि भएको विधानसभा निर्वाचनमा कांग्रेसले जितेको मध्यप्रदेश, राजस्थान र छत्तीसगढका ६५ सिटमध्ये कांग्रेसले जम्मा ४ सिट जित्नुले नै भाजपाका नेताहरुको परिश्रम र गहिरो जनसम्पर्कलाई दर्शाउँछ ।

यस निर्वाचनमा भाजपाले प्रधानमन्त्री मोदीको कुशल नेतृत्व, राष्ट्रवादको एजेण्डा, आतंकारीहरुमाथि गरिएको एयर स्ट्राइक तथा सर्जिकल स्ट्राइकलाई प्रमुख राजनीतिक मुद्दा बनाएको देखियो भने विगत ५ वर्षमा मोदी सरकारले गरीब, महिला तथा ग्रामीण जनतालाई लक्षित गरी ल्याएका कार्यक्रमहरु खाना पकाउने ग्याँस वितरण, ‘उज्जवला योजना’, गरिबहरुलाई ५ लाख रुपैयाँसम्मको बिमा योजना, सबै गाउँमा बिजुली पुर्‍याउनु, आवास योजना, उपल्लो जातिका गरिबलाई सरकारी जागिरमा १० प्रतिशत आरक्षणको निर्णयले पनि भाजपालाई चुनावमा सफलता दिलाउने काम गर्‍यो । जबकि विपक्षीहरुले अघि सारेको बेरोजगारीको मुद्दालाई भाजपाले चर्चामा नै आउन दिएन ।

कांग्रेसले आफ्नो घोषणापत्रमा अघि सारेको ‘न्याय’ योजनामाथि जनताले पत्यार गरेनन्, तथा प्रत्येक वर्ष ७२ हजार रुपैयाँ दिने घोषणामाथि पनि कसैले विश्वास गरेनन् । मोदीमाथि विपक्षी दलहरुले लगाउने गरेका प्रायःजसो आरोपलाई मोदीले बडो चलाखीपूर्वक आफ्नो अस्त्र बनाइहाल्थे । ‘पाले’ (चौकीदार) चोर हो’ भन्ने कांग्रेसको आरोपलाई म पनि चौकीदार (पाले) भन्ने प्रत्याकर्मणले उल्टै कांग्रेसलाई नै अन्योलमा राख्ने काम गर्‍यो । सांस्कृतिक राष्ट्रवाद (हिन्दूत्व)लाई यदाकदा अगाडि सारेर भाजपाले हिन्दू भावनालाई आफूभन्दा बाहेक अन्यत्र जान दिएन । बाध्य भएर कांग्रेसले पनि हिन्दूत्वको मुद्दा समात्नुपर्‍यो र यो नै उसको पराजयको कारण बन्यो । नोटबन्दी र जिएसटीबाट जनता पीडित थिए, तर राष्ट्रवादको नाराका कारण जनता मोदीलाई समर्थन गर्न बाध्य भए ।

सकारात्मक राजनीतिबाट पनि चुनाव जित्न सकिन्छ भन्ने कुरालाई मोदीले सावित गरिदिएका छन् 

मोदीले देशका आमजनतालाई राजनीतिमा चाख लिन प्रेरित गरे । जातिवाद र परिवारवादको जालोलाई भत्काउन उनले जनतालाई प्रेरित गरे । भनिन्छ सांसदरु मिलेर प्रधानमन्त्रीको छनोट गर्दछन्, तर भारतमा भएको १७ औं लोकसभा निर्वाचनमा मोदीले नै सांसदहरूलाई जिताएका छन् । अमेरिकी राष्ट्रपतिको निर्वाचन शैलीमा भएको यस निर्वाचनमा मोदी र मोदी विरोधमा चुनाव केन्द्रित थियो । सारा विपक्षीहरु मिलेर पनि उनलाई पराजित गर्न सकेनन्, भाजपा अध्यक्ष अमित शाह पनि आधुनिक चाणक्य नै हुन्, जसले अति सूक्ष्म, सुनियोजित र सफल रणनीतिमार्फत पार्टीलाई ऐतिहासिक सफलता दिलाए । सकारात्मक राजनीतिबाट पनि चुनाव जित्न सकिन्छ भन्ने कुरालाई मोदीले सावित गरिदिएका छन् ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  २ : ३७ बजे

जसपा नेपालबाट अलग भएका सात सांसदविरुद्धको रिटमा आज पेसी

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्वोच्च अदालतमा दायर गरेको

काठमाडौंमा हावाहुरीसहितको वर्षा

काठमाडौं– काठमाडौँमा हावाहुरीसहितको वर्षा भएको छ । आज बिहानैबाट काठमाडौँका

आईपिएलका रोचक ‘कम ब्याक’: चर्चामा कोहली

रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी)को शानदार ‘कम ब्याक’ यस आईपिएलको मुख्य

भारतसँग जोडिएका पर्साका सीमानाका तीन दिन बन्द हुने

पर्सा– भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका वीरगञ्जसहित

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।