चार दिनदेखि फोहोर उठ्न नसक्दा काठमाडौं बन्यो दुर्गन्धित | Khabarhub Khabarhub

चार दिनदेखि फोहोर उठ्न नसक्दा काठमाडौं बन्यो दुर्गन्धित



काठमाडौं- काठमाडौं उपत्यकाका सडक छेऊ तथा चोकमा यतिबेला फोहोरका डंगुर थुप्रिन थालेका छन् । चार दिनदेखि काठमाडौंको फोहोर उठ्न नसक्दा फोहोर थुप्रिएका हुन् । फोहोर उठ्न नसक्दा काठमाण्डौं दुर्गन्धित बन्दै गएको छ । फोहोरका कारण मुख छोपेर हिड्नु पर्ने बाध्यता छ ।

नुवाकोटस्थित ओखरपौवा, सिसडोल ल्याण्डफिल साइटका स्थानीयले विभिन्न माग राख्दै फोहोर लैजान अवरोध गरेसँगै राजधानीको फोहोर उठ्न छाडेको हो । फोहोर व्यवस्थापन उचित रुपमा हुन नसक्दा अस्तव्यस्त भएको, अब सधैँका लागि ल्याण्डफिल साइटमा फोहोर फाल्न बन्द गर्नुपर्ने र ल्याण्डफिल साइटबाट सिर्जित समस्याहरुको अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन गर्नुपर्नेलगायतका स्थानीयको माग रहेको छ । आफुहरुले राखेको माग पूरा नभएसम्म सिसडोल ल्याण्डफिल साइटमा फोहोर फाल्न नदिने सिसडोल व्यवस्थापन संघर्ष समितिले जनाएको छ ।

के भन्छ सिसडोल संघर्ष समिति ?

फोहोरले सिसडोल ल्याण्डफिल साइट भरिँदा पनि महानगरले विकल्प नखोजेपछि सिसडोलका स्थानीयले अब भने फोहोर फाल्न बन्द नै गर्नु पर्ने अडान लिएका छन् । स्थानीयले प्रक्रियागत रुपमा आफ्ना माग राख्न एक हप्ता अघि मात्र संघर्ष समिति गठन गरेका हुन् ।

सिसडोल संघर्ष समितिका वरिष्ठ सल्लाहकार ज्ञानेन्द्र गजुरेल भन्छन्, ‘लामो समयदेखि फोहोर अवरुद्ध हुँदै खुल्दै गर्ने क्रम चलिरहेको थियो । तर अब भने हामी सिसडोलमा फोहोर फाल्न बन्द नै गर्छौं ।’

महानगरले आफुहरुसँग गरेको सहमति कागजमा मात्रै सीमित हुने गरेको गजुरेलले खबरहबलाई बताए । ‘अब सिसडोलमा फोहोर फाल्न पाइँदैन’ उनले भने ‘त्यहाँ जति पनि फोहोर छ, त्यसलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’

नुवाकोट–१ का प्रदेश संसाद बद्री मैनालीलाई काठमाडौं महानगरपालिकाले यसअघि पटक-पटक बोलाएर सहमति गर्ने गरेपनि सिसडोलका स्थानीयको पीडालाई बेवास्ता गरिएको गजुरेलको भनाइ छ ।

‘हामीले सांसदलाई धेरैपटक कार्यक्रममा बोलायौँ’ गजुरेलले भने ‘कार्यक्रममा बोलाउँदा सांसदले भनेका थिए, फोहोर मेरो घरमा खस्दैन मलाई केही थाहा छैन ।’ तर महानगरले संघर्ष समितिको कुरालाई बेवास्ता गरी सांसदको कुरा मात्र सुनेको आरोप लगाउँदै उनले भने ‘हामीलाई फोहोर चाहिँदैन, सिसडोलबाट फोहोरको अन्त्य हुनुपर्छ, यो हामी सिसडोलवासीको साँझा माग हो ।’

राज्यले २ वर्षका लागि फोहोर राख्ने भनेर लिएको जग्गा १४ वर्ष बितिसक्दा पनि विकल्प नखोजिनुले सिसडोलबासीमाथि धोका भएको उनीहरुको भनाइ छ । अहिले ल्याण्डफिल साइटमा व्यक्तिको जग्गा काट्दा पहिरो गइरहेको छ । फोहोरको चाङले आसपासका ४५ रोपनी जग्गासमेत प्रभावित भएको समितिका उपसंयोजक राजन बलामीले बताए ।

‘ल्याण्डफिल साइटकै कारण विगत ८ वर्षदेखि खेतीयोग्य जमिन बाझो भएर बसेको छ’ उनले भने । क्षतिपूर्ति दिँदा पनि महानगरले हेप्ने गरेको बताउँदै उनी भन्छन्, ‘रोपनीको जम्मा १५ सय रुपैयाँ दिएको छ । के यो उचित हो ?’

यसअघि २०७५ चैत २५ गते पनि सिसडोलका स्थानीय यही गुनासो लिएर महानगरपालिका आएका थिए । त्यसबेला महानगरले इन्जिनियर खटाएर सर्वेक्षण गर्छौं भन्दै हप्तादिन पर्खन आग्रह गरेको थियो ।

बलामीकाअनुसार महानगरले १५ दिनभित्र रिपोर्ट ल्याउन नसकेको खण्डमा स्थानीयलाई ल्याण्डफिल साइट बन्द गर्नु भनेको थियो । यद्यपि, महानगरले त्यसो भनेको ३ महिना बितिसक्दा पनि रिपोर्ट तयार नभएको उनले बताए ।

शनिबार सिसडोलमा झडप, ९ जना घाइते

सिसडोल व्यवस्थापन संघर्ष समितिकाअनुसार गत बिहीबारदेखि राजधानीबाट फोहोर लिएर गएका गाडीहरु बाटोमै अड्किएका थिए । आफुहरुको माग पूरा नभसम्म फोहोर खसाल्न नदिने उनीहरुले अडान लिए ।

‘सिसडोलमा हामी बसिरहेका थियौँ’ बलामीले भने ‘५ सयभन्दा बढी प्रहरी आएर जबरजस्ती हातपात गरे ।’ ‘हामीले फोहोर खसाल्न नदिने अडान लिएका थियौँ । प्रहरीले हामीमाथि लाठ्ठी बसार्‍यो । यसक्रममा स्थानीय ९ जना घाइते भएका छन् ।’ उनले भने ।

बलामीकाअनुसार ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न नदिने भन्दै १५ जना स्थानीय बसेका थिए । उनीहरुलाई प्रहरीले जबरजस्ती भ्यानमा राखेर चौकी लगेको थियो । स्थानीयलाई नियन्त्रणमा लिएपछि जबरजस्ती गाडीका फोहोर ल्याण्डफिल साइटमा झारिएको थियो ।

यसैबीच, सिसडोलवासी आन्दोलित भएसँगै काठमाडौं महानगरपालिकाले संघर्ष समितिलाई वार्ताका लागि आज बोलाएको छ । वार्तामा स्थानीयको माग सम्बोधनका लागि महानगरले प्रयास गर्ने बताएको छ । तर पनि स्थानीयबासीले भने महानगरको आश्वासनमा नपर्ने जनाएका छन् ।

यता काठमाडौंको फोहोर नउठाएको भन्दै काठमाडौं, प्रदर्शनीमार्गस्थित वाल्मिकी क्याम्पसका विद्यार्थीले काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यविरुद्ध नाराबाजी गरेका छन् । फोहोर व्यवस्थापनमा महानगर गम्भीर नबनेको भन्दै विद्यार्थीहरुले आइतबार बिहान प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण सडक अवरुद्ध हुँदा त्यस क्षेत्रको यातायात व्यवस्था केहीबेर अस्तव्यस्त बनेको थियो ।

यो पनि पढ्नुहोस्

बर्खा लाग्नासाथ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या

काठमाडौंको फोहोरलाई मोहरमा बदल्न सम्भव छ

 

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ३ : ५४ बजे

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको