किम-ट्रम्प भेटवार्ता: कति सांकेतिक कति व्यवहारिक ? « Khabarhub

किम-ट्रम्प भेटवार्ता: कति सांकेतिक कति व्यवहारिक ?



आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच दुई कोरियालाई छुट्याउने असैन्यकृत क्षेत्र अर्थात् डीएमजेडमा भेटवार्ता भयो । यही बेला उत्तर कोरियाली भूमिमा पाइला राखेर डोनाल्ड ट्रम्पले इतिहास नै कायम गरे । दुई नेताबीच ५० मिनेट कुराकानी समेत भयो ।

ट्रम्पले ट्वीटमार्फत् भेटका लागि गरेको प्रस्ताव अन्तिम समयमा आएर किमले स्वीकारेपछि भेटवार्ताको वातावरण बनेको हो । ट्वीटरमार्फत् ट्रम्पले भेटवार्ताको सामान्य हात मिलाउने प्रस्ताव मात्र गरेका थिए । दुई नेताबीचको कुराकानी सामान्य शैलीको रहेको र आणविक निशस्त्रीकरण वा अन्य महत्वपूर्ण विषयमा गम्भीर कुराकानी नभएको अमेरिकी अखबार न्यूयोर्क टाइम्सले लेखेको छ ।

आणविक वा यस्तै कुनै गम्भीर विषयमा छलफलका लागि नभई सामान्य कुराकानीका लागि भएको भेटवार्ताको व्यवहारिक भन्दा पनि सांकेतिक महत्व धेरै छ ।

ट्वीट नीति

यसअघि कुनै पनि अमेरिकी राष्ट्रपति उत्तर कोरियासँग कुनै पनि किसिमको कुटनीतिक सम्बन्धको पक्षमा थिएनन् । सोही अनुसार अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच कुनै किसिमको भेटवार्ता हुने गरेको थिएन ।

यस पटकको भेटवार्ताले त्यस्तो परम्परालाई तोडेको छ । यो भेटवार्ता ट्रम्पले किमलाई भेटवार्ताका लागि ट्वीटरबाट गरेको प्रस्तावपछि भएको हो । सामाजिक सञ्जालबाट गरिएको प्रस्ताव स्वीकार गर्दै किमले ट्रम्पसँग भेटवार्ता गर्न तयार हुनुले दुई नेताबीचको व्यक्तिगत सम्बन्ध अर्को स्तरमा पुगेको विश्लेषण गरिएको छ ।

त्रिपक्षीय कुराकानी

ट्रम्प र किमबीच ५० मिनेट बन्द कोठामा कुराकानी हुनुअघि किमले ट्रम्पसँगै असैन्यकृत क्षेत्र भ्रमणमा आएका दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनसँग पनि सामान्य कुराकानी गरेका थिए ।

यस अवसरमा राष्ट्रपति ट्रम्प, सर्वोच्च नेता किम र राष्ट्रपति मुनबीच संक्षिप्त त्रिपक्षीय कुराकानी भएको थियो । यसबाट कोरियाली समस्याको समाधानका लागि तीन मुलुक संयुक्त रुपमा काम गर्न तयार रहेको सन्देश पनि मिलेको छ ।

त्यो ऐतिहासिक कदम

सन् १९५० को दशकमा शुरु भएको कोरियाली युद्धयता हरेक अमेरिकी राष्ट्रपतिले दक्षिण कोरियाप्रति अमेरिकी सद्भाव देखाउनका लागि दक्षिणी सीमाबाट दुई कोरियालाई छुट्याउने असैन्यकृत क्षेत्रको भ्रमण गर्दै आएका थिए ।

यसअघिका अमेरिकी राष्ट्रपतिले सैनिक पोसाकमा असैन्यकृत क्षेत्रमा दुरबिनबाट उत्तर कोरियातर्फ नियाल्ने कुटनीतिक परम्परा नै थियो । तर, यो भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले उत्तर कोरियातर्फ सैनिक पोसाकमा दुरबिनबाट हेर्ने भन्दा पनि औपचारिक पोसाकमै किमसँग असैन्यकृत क्षेत्रमा भेट गरी दक्षिणी सीमाबाट उत्तर कोरियाको भूमिमा पाइला राखे ।

असैन्यकृत क्षेत्रलाई अमेरिका र उत्तर कोरियाबीच शत्रुताको संकेतको रुपमा हेरिँदै आएको थियो । यसले कोरियाली प्रायद्विपमा परम्परागत अमेरिकी नीति यसपटक परिवर्तन भएको र ट्रम्पले उत्तर कोरियालाई पनि केही हदसम्मको महत्व दिएको संकेत मिलेको छ ।

आशा अझै मरेको छैन

त्यसबाहेक यो भेटवार्ताले कोरियाली प्रायद्विपमा शान्ति तथा आणविक निशस्त्रीकरणतर्फ शान्तिपूर्ण कदम अझै जीवित रहेको महत्वपूर्ण सन्देश दिएको छ ।
यसअघि फेब्रुअरी महिनामा भियतनामको राजधानी हनोईमा भएको दोस्रो शिखर वार्ता विनानिष्कर्ष टुंगिएपछि यो आशा दिन प्रतिदिन धूमिल बन्दै गएको थियो । राष्ट्रपति ट्रम्प र सर्वोच्च नेता किमबीच अकस्मात भएको भेटवार्ताले दुबै नेताको सम्बन्ध अझै नबिग्रिसकेको र शान्तिपूर्ण कुटनीतिक माध्यमबाट कोरियाली समस्याको हल हुने सम्भावना अझै जीवित नै रहेको टिप्पणी भइरहेको छ ।

व्यवहारिक महत्व

त्यसबाहेक दुई नेताबीच भएको भेटवार्ताको ठूलो व्यवहारिक महत्व भने नरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विश्लेषण गरिरहेका छन् ।
उत्तर कोरियाले आणविक हतियार तथा क्षेप्यास्त्र त्यागिसकेको छैन भने उत्तर कोरियामाथिको अमेरिकी नाकाबन्दी पनि निरन्तर छ । दुबै मुलुकले आणविक निशस्त्रीकरणतर्फ अग्रसर रहेको दाबी गर्दै आएका छन् ।

विभिन्न विषयमा दुई मुलुक अझै सहमत हुन सकेका छैनन् । यस्तो अवस्थामा दुई नेताबीच भएको भेटवार्तामा आणविक निशस्त्रीकरणबारे महत्वपूर्ण छलफल नभएकाले यो भेटवार्ताबाट फोटो खिचाउने र कोरियाली जनता तथा विश्व समुदायलाई कुटनीतिक वार्तामार्फत कोरियाली समस्या समाधान हुने आशा जिवितै रहेको सन्देश दिनेबाहेक अरु केही उपलब्धी हासिल भएको छैन ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ४ : १५ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना