काठमाडौं- हरेक वर्षको जुलाई ३० तारिखका दिनलाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको रुपमा मनाउँदै आएको छ । मानव बेचबिखन सम्बन्धी अपराधको बारेमा सचेतना फैलाउन यस दिनको सन्देश व्यापक रुपमा आम मानिसमा पुर्याउन जरुरी छ ।
आजको आधुनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य यस धर्तीमा फस्टाउँदै जानु कथित सभ्य समाजको कलंक हो । भनिन्छ, संसारमा फष्टाउँदो गतिमा रहेका प्रमुख तीनवटा अवैध संगठित अपराधहरु हातहतियार, मानव बेचबिखन तथा लागू औषध मध्ये मानव बेचबिखन दोस्रो ठूलो अपराधको रुपमा दर्ज भएको छ । जसमा प्रतिवर्ष ४२ बिलियन डलर बराबरको कारोबार हुने गर्दछ ।
विश्वका सरकारहरु यो अपराध नियन्त्रण गर्न लगभग असफल छन् । आधुनिक युगको दासता भनी परिभाषित यस अपराधलाई नियन्त्रण गर्नबाट सरकारहरु असफल हुनु भनेको मानव मात्रको लागि लज्जाको विषय हो । मानव बेचबिखन एउटा यस्तो अपराध हो जसले पुरुष, माहिला र बालबालिकालाई तारो बनाउँछ । उनीहरुलाई गलत कार्यहरुमा लगाइन्छ ।
दलालहरुको माध्यमबाट अनुचित श्रम तथा यौन शोषणजस्ता कार्यमा जवर्जस्ती संलग्न गराइन्छ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने र मनोरञ्जन उद्योगमालगाई शोषण गर्नेजस्ता परम्परागत शोषणका कार्यबाट आज बेचबिखनको प्रवृति फेरिँदै बदलिंदै गएको छ ।
पीडित व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबर्जस्ती तथा धोकाधढीद्वारा जुनसुकै प्रकारको शोषण, घरेलु काम, मानव अङ्ग किड्नी झिक्ने, छाला झिक्ने, बेश्यावृति वा अन्य प्रकारका यौन शोषणमा लगाउने कार्यहरु गरिन्छ । अशिक्षा, अज्ञानता र गरिवीको फाइदा उठाउदै कतिलाई बैदेशिक रोजगारीको प्रलोभनमा र विविध छलकपट गरेर मानव बेचबिखन र मानव तस्करी गर्ने गरेको पाइन्छ।
यस अपराधको संगठित जालो तोड्नु नै आजको मुख्य अवश्यकता हो । तसर्थ: नेपालमा पनि सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी जुन कानून लागू गरेको छ त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा पीडकहरु सजिलै उम्कने र पीडितले उचित न्याय पाउन नसक्ने अवस्था छ । त्यसको अन्त्यको लागि सरकारको क्षेत्रबाट मात्र होइन नागरिक तहबाट समेत आवाज उठाईनु पर्दछ । हामी सबैले अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको उपलक्ष्यमा यस संगठित अपराधको विरुद्ध सघन रुपमा आवाज बुलन्द पारौं र मानव बेचबिखनविरुद्ध सशक्त रुपमा लडौं ।
मानव बेचबिखनका कारण
- अशिक्षा र रोजगरीको अवर नहुँदा मानिस बेचबिखनको सिकार भएका छन् ।
- घरेलु हिंसा महिलाहरू बेचिने अर्को कारण हो । घरमा श्रीमान र उनका परिवारले हेला गर्ने, कुटपिट गर्ने, र छोराछोरी लिएर अलग बस्ने बाध्यता भएका महिलाहरू यसको सिकार हुन्छन्।
- हिंसामा परेकाहरू सधैं अवसरको खोजीमा हुन्छन् । उनीहरूलाई कसैले प्रलोभनसहित अवसर देखायो भने ती महिलाहरू चाडैं त्यस्ता दलालको पञ्जामा पर्छन्
- आधुनिक सुविधाको उपभोग गर्ने रहर र धन कमाउने विदेश घुम्ने रहर पूरा गर्ने लालसाले गर्दा पनि बेचिन पुगेका छन् ।
मानव बेचबिखनको अपराध भित्रका चूनौति
- मानव बेचबिखनमा बेचिने व्यक्तिलाई आफू बेचिँदैछु भन्ने जानकारी हुँदैन ।
- मानव तस्करी र मानव बेचबिखन फरक कुरा हुन् तथापि तस्करीमा दुवै पक्षबीच शुरुमा सहमति भएजस्तो पनि हुन्छ र बेचबिखनमा पर्ने जोखिम पनि रहन्छ ।
- लिङ्गको आधारमा नभई बालबालिका, महिला, पुरुष सबै बेचिन सक्छन् ।
- संगठित योजनाअनुसार मानव तस्करी र बेचबिखन हुने गर्छ ।
- बेच्ने गिरोहले बेचिनेलाई फरक/फरक लालच दिएका हुन्छन् ।
- गिरोहका सामु त्यसलाई रोक्ने निकायहरू असफल हुँदै आएका छन् ।
- पीडितलाई हिजोजस्तो वेश्यालयमा नै पुर्यााउनुपर्छ भन्ने छैन । डान्स बार, क्याबिन रेष्टुरेन्ट लगायतमा पनि बेचिन्छन् ।
- विवाह गरेको नाटक गरी विदेश पुर्याउने पनि गरिन्छ ।
- सरोगेट मदरको रुपमा पनि बेचिएका छन् ।
छाला झिक्ने र किड्नी लगायतका अंग झिक्न पनि बेचिएका छन् । - स्वदशमै वा वैदेशिक रोजगारीको लालचमा पनि बेचिन्छन् ।
- आधुनिकीकरणसँगै मानव बेच्ने स्वरुपहरू बदलिएका छन् ।
- मानव तस्करीको जालो विश्वभरि नै फैलिएको छ । सबै सेटिंग संगठित जालोले पहिला नै तय गर्छ ।
- संगठित अपराधीसम्म अनुसन्धान पुग्न सकेको छैन ।
रोकथामका उपाय
- बेचबिखन रोक्न समाजमा चेतना फैलाउन जरुरी छ ।
- विद्यालयदेखि नै बालबालिकालाई यसका बारेमा शिक्षित गराउनु पर्दछ ।
- पाठ्यपुस्तकमा समावेश गरेर आफू कसरी बच्ने र अरुलाई पनि कसरी बचाउने भन्ने कुरा सिकाउन जरुरी छ ।
- समाजमा तुरुन्तै लागु गर्न सकिने किसिमका पाठ्यसामग्रीहरू समावेश गर्न जरुरी छ ।
- रोजगारीका लागि जाने व्यक्तिलाई शिक्षा दिने, गलत बाटोबाट जाँदा पर्ने असरका बारेमा जानकारी गराउने गर्नुपर्छ ।
- व्यक्तिगत तवरबाट आफु सचेत रहि परिवार र साथीहरू सवैलाई सचेतना फैलाउने ।
- शंकास्पद व्यक्ति र जोखिममा रहेका व्यक्तिहरूको वारेमा निगरानी राख्ने परामर्श दिने र आवश्यकता अनुसार सम्वन्धित निकायसँग समन्वय गर्ने।
- चोक, चौतारा पसालमा समेत मानव बेचविखन विरुद्ध छलफल एवं बहस सञ्चालन गर्ने लगायतका कार्य आवश्यक।
- यसैगरी सामूहिक रुपमा मानव बेचविखनको जोखिममा रहेका समूदाय र क्षेत्र पहिचान गरी मानब बेचविखन रोकथामका लागि अन्तरक्रिया, सडक नाटक, र्याली, घरदैलो जस्ता कार्यक्रमहरू गर्ने।
- मानव बेचविखनविरुद्ध क्रियाशिल सरकारी र गैर सरकारी संघ–संस्थाहरूसँग समन्वय गर्ने ।
- पीडित प्रभावितहरूलाई आवश्यक सहयोग र परामर्श प्रदान गर्ने।
- हिंसामा परेका पीडित प्रभावितलाई आत्म सम्मानपूर्वक बाँच्न पाउने वातावरण सृजना गर्दै पुनर्स्थापनाका लागि क्रियाशिल रहने।
- मानव बेचबिखनका मुद्दा अनुसन्धान गर्ने प्रहरीलाई यसका बारेमा धेरै ज्ञान दिन जरुरी छ । उनीहरूलाई बेचबिखन सम्बन्धी अपराधको गाम्भीर्यता बुझाउन जरुरी छ ।
- भारतीय सिमा नाकाहरुमा संघ संस्था र नागरिक समाजसंग मिलेर निगरानी प्रभावकारी बनाइनु पर्दछ ।
- अनुसन्धान पद्धतिमा व्यापक सुधार गरी विज्ञ समूह खडा गर्ने र विशेष अनुसन्धान पद्धति लागू गरिनु आवश्यक छ ।
प्रतिक्रिया