उमेर नपुग्दै विवाह : परिपक्वतासँगै सम्बन्धविच्छेद | Khabarhub Khabarhub

उमेर नपुग्दै विवाह : परिपक्वतासँगै सम्बन्धविच्छेद


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा- गाउँकै राजबहादुर थापासँग १३ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिइन सुनिल स्मृति गाउँपालिका–६ गजुलकी निर्मला थापा । अहिले उनको उमेर २० वर्ष पुग्यो । चार वर्षीया एक छोरीसहितको असल परिवार थियो थापा दम्पतीको । थापा दम्पतीमा विस्तारै वेमेल बढ्दै गयो । राजबहादुरले श्रीमतीलाई अनावश्यक आशङ्का गर्ने, कुटपिट गर्ने र खान लाउन नदिने गर्न थाले । सँगै बसेर बाँकी जीवन जीउन नसक्ने निष्कर्षमा पुगेपछि थापा दम्पती एक्ला एक्लै बस्न थाले । निर्मला सदरमुकाम लिवाङ आई ज्याला मजदूरी गरेर पेट पाल्नुपर्ने बाध्यतामा पुगे ।

रोल्पा नगरपालिका–९ ह्वामाकी मिना डाँगीले १६ वर्षमा विवाह गरिन । विवाह गरेको एक वर्षमा जेठो र अर्को एक वर्षपछि कान्छो छोरा जन्मिए । दुई छोरा जन्माउँदा उनको उमेर १८ वर्षमात्रै भएको थियो । अहिले उनको उमेर २० वर्ष भयो । यतिबेला उहाँसँग न छोरा छन् न त श्रीमान् नै । श्रीमानले दिनहुँ कुटपिट गर्ने र खान लाउनसमेत नदिएपछि सम्बन्ध टाढिँदै गयो । परिवारिक अवस्था राम्रो नहुँदा दुई छोरालाई राम्रोसँग रेखदेख पुग्न सकेन । फलतः तीन वर्ष पूरा भएका जेठो छोरा गौरवको मृत्यु भयो । उनको अहिले सदरमुकाम लिवाङमा एकल जीवन बिताउँदै मजदूरी गरेर जीविका चलाइ रहेका छन्।

जिल्लामा सम्बन्धविच्छेदका प्रतिनिधि घटना हुन् यी । जिल्ला अदालतमा गत वर्ष दर्ता भएका मुद्दामध्ये ५३ प्रतिशत बढी मुद्दा सम्बन्धविच्छेदका थिए । गत आर्थिक वर्ष अदालतमा ३९९ मुद्दा दर्ता भएका थिए । त्यसरी दर्ता भएका मुद्दामध्ये झण्डै आधाभन्दा बढीअर्थात् २१७ मुद्दा सम्बन्धविच्छेदका थिए । सम्बन्धविच्छेदका यस्ता घटना सकेसम्म गाउँघरमै मिलाउने भएकाले यसको यकिन सङ्ख्या योभन्दा अझ धेरै हुनसक्ने अनुमान गरिएको छ ।

जिल्लामा १६ वर्षीय किशोरकिशोरीदेखि ७१ वर्षीय वृद्धवृद्धाले समेत सम्बन्धविच्छेद गरिरहेका छन् । बितेका तीन वर्षको तथ्याङ्क हेर्दा पनि जिल्लामा सम्बन्धविच्छेदको मात्रा दिनानुदिन वृद्धि हुँदै गएको देखिन्छ । अदालतमा आर्थिक वर्ष २०७२/०७३ मा १२४ मुद्दा मात्रै सम्बन्धविच्छेदका दर्ता भएका थिए । आव २०७४/०७५ यो सङ्ख्या बढेर दोब्बर पुगेको थियो ।

यसरी दर्ता भएका मुद्दामध्ये सबैजसो श्रीमान्ले मादक पदार्थ सेवन गरी कुटपिट गरेको, खान लाउन नदिने, माइती जाँदासमेत खोज खबर नगरेकाजस्ता आरोपसहितका मुद्दा पर्ने गरेको अदालतका श्रेष्तेदार कीर्तिबहादुर बस्नेतले जानकारी दिए । सम्बन्धविच्छेदका मुद्दामध्ये अधिकांश मुद्दा श्रीमान् विदेश रहेका महिलाले दिने गरेका बताइएको छ । लामो समयसम्म श्रीमान् घर नआउँदा श्रीमतीले अर्कैसँग सम्बन्ध राख्दा यस्तो समस्या देखिने गरेको बताइन्छ।

देखा सिकी गर्ने प्रवृत्ति, सामाजिक सञ्जालको दुरुपयोगजस्ता कारणले पनि सम्बन्धविच्छेदको घटना बढेको हुनसक्छ रोल्पा जिल्ला अदालतका मेलमिलापकर्ता तीर्था आचार्यले बताइन । उमेर नपुग्दै आदर्श जीवनको परिकल्पनासँगै अपरिपक्व निर्णयले बालविवाह गर्ने उमेर छिपिएसँगैको परिपक्वताले सम्बन्धविच्छेद गर्ने गरेको उनको भनाइ छ ।

वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताका कारण लामो समयसम्म श्रीमान् श्रीमतीको भेटघाट नहुनु, चेनताको अभाव, अशिक्षा र गरीबीले जिल्लामा सम्बन्धविच्छेदलाई मलजल गरिरहेको आचार्यले बताइन । न्यायालय वा कानून व्यवसायीसमक्ष आफ्ना कुरा अभिव्यक्त गर्न नसक्ने भएकाले उनीहरु सहयोगीका साथ उजुरी गर्न आउने गरेका बताइन्छ ।

सम्बन्धविच्छेदमा अग्रसर हुँदै पुरुष

महिलाले मात्रै सम्बन्धविच्छेद गर्ने विगतको परम्परालाई तोड्दै पुरुषसमेत सम्बन्धविच्छेदमा लालायित हुने गरेका देखिएको छ । पछिल्लो पटक तर्जुमा गरिएको मुलुकी संहिताले पुरुषले समेत सम्बन्धविच्छेदको उजुरी दिन पाउने कानूनी व्यवस्था गरेसँगै जिल्लामा सङ्ख्या पनि बढ्दै जान थालेको छ । अघिल्लो आवको भदौ १ गतेदेखि असार मसान्तसम्म जिल्लामा २६ पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दायर गरेको अदालतले जनाएको छ ।

सम्बन्धविच्छेदका लागि मुद्दा बोकेर अदालत जाने पुरुषले श्रीमतीले घरको चल सम्पती हिनामिना गरेको, परपुरुषसँग सम्बन्ध राखेकोजस्ता आरोप लगाउने गरेका छन् । यसरी सम्बन्धविच्छेद गर्ने पुरुषमध्ये अधिकांश समय घर बाहिर हुने देखिने गरेको बताइन्छ ।

आत्मनिर्भरताको खोजीमा

सम्बन्धविच्छेद पछि महिलाको दैनिकी अत्यन्तै चुनौतीपूर्ण हुने गरेको छ । सम्बन्धविच्छेद पछि सामाजिक दृष्टिकोणमा पनि बदलाव देखिने गर्दछ । घर बिग्रेको छोरी भन्दै माइतमा पनि फरक व्यवहार हुने गरेको पीडित महिलाको अनुभव छ ।

महिला हिंसा लुकाउन हुँदैन भन्ने जागरण तथा महिला सशक्तीकरणका कारण जिल्लामा सम्बन्धविच्छेद बढ्दै गएको बताइएको छ । श्रीमानले सामान्य हिंसा गर्दा सहदै आएका महिला श्रीमानको अत्याचार बढेपछि भने अदालतबाट सम्बन्धविच्छेद गर्न बाध्य हुने गरेको मेलमिलापकर्ता आचार्यले बताइन ।

मादकपदार्थ सेवन गर्ने, परस्त्रीसँग सम्बन्ध भएका तथा घरमा पालनपोषण नगरेका कारण सम्बन्ध बिग्रिएकाले सम्बन्धविच्छेद गर्ने गरेको आचार्यले बताइन । यस्ता पीडित महिलालाई सामाजिक र आर्थिक सशक्तीकरणका कार्यक्रम सञ्चालन गरी राज्यले सहयोग गर्नुपर्ने मानव अधिकारका लागि एकल महिला समूहका अध्यक्ष तुलसा आचार्यले बताइन ।

सानै उमेरमा विवाह गर्ने अनि उमेर छिपिँदै गएपछि पारिवारिक समस्या देखाएर सम्बन्धविच्छेद गर्नेको मात्रामा कमी आउन नसकेको बताइएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ९ : ३४ बजे

मनहरी दुर्घटनामा थप एकको मृत्यु

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ डिपार्टस्थित सडकमा आज

‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे

कैलाली – ‘अफ्रिकन स्वाइन फिभर’ का कारण कैलालीको घोडाघोडीमा ३८

उदयपुरगढी–चौदण्डीगढी ऐतिहासिक पदयात्रा सम्पन्न

काठमाडौं – राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती एवं राष्ट्रिय

जनकपुरमा एक लाख २५ हजार दीप प्रज्जवलन

धनुषा – विश्व हिन्दू परिषद् नेपालले अयोध्यास्थित श्रीराम मन्दिरको वार्षिकोत्सवका

नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट २१ जनाको मृत्यु

नाइजेरिया – नाइजेरियाको उत्तरपश्चिमी कात्सिना राज्यमा आपराधिक समूहको आक्रमणमा परी