बैंकिङ क्षेत्रमा तरलता बढ्यो, १ खर्ब बराबर लगानीयोग्य पूँजी | Khabarhub Khabarhub

बैंकिङ क्षेत्रमा तरलता बढ्यो, १ खर्ब बराबर लगानीयोग्य पूँजी


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसका कारण देश लकडाउनमा गएपछि बैंक तथा वित्तीय क्षेत्रमा तरलता (लगानीयोग्य पूँजी) बढेको छ । लकडाउनका कारण अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग करिब थप करिब ६० अर्ब लगानीयोग्य पूँजी बढेको हो ।

आइतबार नेपाल राष्ट्र बैंकले अनिवार्य नगद अनुपात (सीआरआर) ४ प्रतिशतबाट ३ प्रतिशतमा झारेको थियो । यसबाट थप ३५ अर्ब बराबर तरलता बढेको छ । बैंक तथा वित्तीय संस्थासँग ६० अर्ब र सीआरआर घटाउँदा आएको ३५ अर्ब गरी अहिले बैंकिङ प्रणालीमा करिब १ खर्ब बराबर तरलता (लगानीयोग्य पूँजी) रहेको राष्ट्र बैंकमा प्रवक्ता गुणाकर भट्टले बताए ।

‘सीआरआरबाट आएको तरलताले बैंक तथा वित्तीय संस्थामा तरलता बढाएको छ । यसले बैंकहरूको आधार दर (बेस रेट) घटाउन सहयोग गर्ने हुँदा कर्जाको ब्याजदर समेत कम हुन जान्छ,’ प्रवक्ता भट्टले भने ‘यसले अन्तर बैंक ब्याजदर पनि घटाउन सहयोग मिल्छ ।’

सीआरआर १ प्रतिशतले घट्दा र बैंकहरूको ३५ अर्ब रुपैयाँ फुकुवा हुँदा बैंकहरूलाई केही राहत मिलेको बैकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । सो रकम बैंकहरूले आफ्नै खातामा राख्न अथवा विकास ऋणपत्र वा टे«जरी बिल किन्न पाउँछन् । बैंकहरूले न्यूनतम २ प्रतिशतको ब्याजको दरले पनि १ वर्षमा ७० करोड रुपैयाँ ब्याज प्राप्त गर्नेछन् ।

आइतबार कोरोना प्रभावित उद्योग व्यवसायहरूलाई राहत दिन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरूले चैत मसान्तसम्ममा तिर्नुपर्ने सावा ब्याजको भुक्तानी असार मसान्तसम्म गर्न सक्ने व्यवस्था गर्न पनि निर्देशन दिएको छ । चैत मसान्तमा गर्नुपर्ने त्यस्ता भुक्तानी असार मसान्तसम्म गर्दा त्यसको ब्याजको पूँजीकरण गरिने छैन ।

चैत मसान्तमै त्यस्तो भुक्तानी गर्न चाहनेलाई ऋणीले ब्याज रकममा १० प्रतिशत छुट पाउनेछन् । चैत मसान्तमै भुक्तानी गर्नुपर्ने छोटो समयका लागि दिइने चालू पूँजी प्रकृतिको कर्जामा भने ६० दिनको म्याद थपिएको छ ।

राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले चैत मसान्तमा कुनै पनि नियामकीय र सुपरीवेक्षकीय अनुपात अनुपालना नभएमा कारबाही नगर्ने स्पष्ट गरेको छ । साथै, चैत मसान्तमा नउठेका कर्जाहरूको हकमा त्यस्तो कर्जालाई सुक्ष्म निगरानीमा राखेर प्रोभिजनिङ गर्नु पर्ने छैन ।

चैत मसान्तमा सावा ब्याज नउठाउन भनेपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई सहुलियत समेत दिएको छ । यसअघि ४ प्रतिशत रहेको अनिवार्य नगद अनुपात (सीआरआर) ३ प्रतिशतमा झारिएको छ । त्यस्तै, ४.५ प्रतिशत रहेको बैंक दर बढाएर ५ प्रतिशत पु¥याएको छ । स्थायी तरलता सुविधा समेत ५ प्रतिशत बनाइएको छ । यो यसअघि ६ प्रतिशत थियो ।

त्यस्तै, ३ प्रतिशत रिपो दर ३.५ प्रतिशत कायम गर्दा ३ प्रतिशत नै रहेको तल्लो सीमाको निक्षेप संकलन दर २ प्रतिशतमा झारिएको छ । पुनर्कर्जा कोषको रकम ५० अर्बबाट बढाएर ६० अर्ब पु¥याइएको छ ।

राष्ट्र बैंकले पर्यटन क्षेत्रका व्यवसायी र यातायात व्यवसायीले अल्पकालीन कर्जाको माग गरेमा त्यस्ता व्यवसायीलाई कर्जा दिनैपर्ने बाध्यकारी व्यवस्था समेत गरेको छ । त्यस्तो व्यवसायी ऋणी रहेछ भने उसले पुस मसान्तमा तिर्नुपर्ने किस्ता भने भुक्तानी गरेको हुनुपर्ने छ ।

साना तथा मझौला उद्योगहरूलाई पुनर्कर्जामा प्राथमिकता दिन र वैदेशिक रोजगारीमा जान अनुमति लिएर पनि जान नपाएकाले व्यवसाय गर्न चाहेमा त्यस्ता व्यक्तिले निवेदन दिएको ७ दिनभित्र कर्जा स्वीकृति गर्न समेत राष्ट्र बैंकले बैंकहरूलाई निर्देशन गरेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ४ : ३७ बजे

झिनो अंकले बढ्यो नेप्से, फाइनास समूहमा गयो पहिरो  

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

दिलिपको छोरी दिव्या भन्छिन्- ‘स्टारकिड’ लाई फिल्ममा आउन सजिलो, स्थापित हुन गाह्रो

काठमाडौं – नेपाली फिल्मी क्षेत्रमा नयाँ ‘स्टारकिड’को आगमन भएको छ

६ महिनापछि समाजवादी मोर्चा सक्रिय, नयाँ रणनीति बनाउन बैठक

काठमाडौं– नेकपा माओवादी केन्द्रको पहलमा गठित समाजवादी मोर्चाको बैठक सुरू

हाइड्रोलाई आईपीओमा ल्याउँदा छुटै कार्यविधि बनाउन ऊर्जा व्यवसायीको माग 

काठमाडौं– हाइड्रो कम्पनीहरूलाई सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) जारी गर्दा

अभद्र व्यवहार मुद्दामा आशिका तामाङ पक्राउ, गौशाला वृत्त लगियो

काठमाडौं- पछिल्लो समय आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाएर भाइरल भइरहेकी