सबै श्रमलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सम्बद्ध पक्षले ध्यान पुर्‍याओस्- राष्ट्रपति | Khabarhub Khabarhub

सबै श्रमलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सम्बद्ध पक्षले ध्यान पुर्‍याओस्- राष्ट्रपति


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले कृषिक्षेत्रको श्रमलाई उच्च सम्मान गर्दै औपचारिक र अनौपचारिक सबै श्रमलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सम्बद्ध पक्षले ध्यान पुर्‍याउने अपेक्षा लिएको बताएकी छन् ।

अन्तरराष्ट्रिय श्रमिक दिवसका शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले सम्पूर्ण श्रमिकको हित अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको ग्यारेण्टी एवं सामाजिक सुरक्षालगायतका श्रमअधिकार सार्थक रूपमा प्रयोग गर्न सकून् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले शुक्रबार जारी गरेको शुभकामना सन्देशमा अन्तरराष्ट्रिय श्रमिक दिवस (१ मे) २०२० को यस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै सम्पूर्ण श्रमजीवीको श्रम अधिकार सुनिश्चितताका लागि शुभकामना व्यक्त गरिएको छ ।

शुभकामना सन्देशमा उनले मुलुकमा पूर्णलोकतान्त्रिक शासन प्रणालीसहित गणतन्त्र स्थापनामा नेपाली श्रमिक वर्गले पुर्‍याएको अमूल्य योगदानको स्मरण गर्दै उच्च सम्मान समेत गरेकी छन् ।

‘श्रमिकहरूको हकअधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखमा विश्वभर ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस’ मनाउने गरिन्छ’, सन्देशमा भनिएको छ, ‘यस दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रतालाई सुनिश्चित गर्नका लागि विश्वभरिका श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने अपेक्षा मैले लिएको छु ।’

नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित श्रम अभ्यासको अधिकारका साथै उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चित गरेको छ ।

सोहीअनुरुप सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगारहरूका लागि कम्तीमा सय दिनको रोजगारी प्रदान गर्नुका साथै श्रमिकको आधारभूत अधिकार सुनिश्चित गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमार्फत श्रमिकहरूको सामाजिक सुरक्षा सुनिश्चित गरेको छ ।

‘मुलुकमा न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानले मूर्तरूप लिँदै जाने सन्दर्भमा यसबाट श्रमिक वर्ग पनि लाभान्वित हुने विश्वास मैले लिएको छु’, सन्देशमा भनिएको छ, ‘प्राकृतिक स्रोत तथा सम्पदामा सम्पन्न हाम्रो मुलुकमा विकासको ठूलो सम्भावना भएकाले यसलाई साकार तुल्याउन श्रमको व्यापक आवश्यकता पर्दछ, यसका लागि सबैले श्रम गर्ने अवसरसहित सामाजिक आर्थिक समुन्नति हासिल गर्न सम्पूर्ण नेपाली एकजुट हुनुपर्ने तर्फ सम्बद्ध सबैको ध्यान आकृष्ट गराउन चाहन्छु ।’

‘नोबल कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण इतिहास कै कठिन मोडमा उभिएका छौँ, मानव जातिका विरुद्ध आइलागेको यस विषम परिस्थितिमा धैर्य र संयमताका साथै एकताबद्ध भएर यस महामारी विरूद्धको लडाइँमा विजय हासिल गर्नुछ, महामारीले विश्वलाई नै आक्रान्त पारेको वर्तमान परिवेशमा सामान्य जनजीवन र अर्थतन्त्रमा प्रतिकूलता ल्याएकाले यसलाई मध्यनजर गर्दै सरकारका आगामी नीति तथा कार्यक्रम अघि बढ्ने र यसबाट श्रमिकहरूको जीवन पनि सामान्य अवस्थामा फर्किने आशा लिएको छु’, सन्देशमा भनिएको छ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ७ : २३ बजे

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज