यसपालिको पितृपक्ष सोह्रश्राद्ध यही भाद्र १७ गते सुरु भई असोज ११ गते समापन हुँदैछ । औँसीमा सक्रान्ति परेका कारण असोज २ गतेदेखि एक महिना हुने अधिक मास अर्थात् पुरुषोेत्तम मास परेको छ । यसकारण यसपालिको दशैँ पर धकेलिएको छ ।
कोभिड–१९ को एकछत्र रजाइँले चाडवाड, तिथि, पर्व कुनैमा यसपालि रौनक देखिएको छैन । श्राद्धादि कर्म पनि सकेसम्म घरैमा गर्नुपर्ने बाध्यता छ । सोह्रश्राद्ध र श्राद्धको महत्वबारे संक्षिप्त चर्चा गर्ने यो लेखको उद्देश्य रहेको छ ।
दिवङ्गत सबै पितृहरूलाई पिण्डदान गर्ने पर्व सोहश्राद्ध हो । सूर्य कन्याराशिमा प्रवेश गर्दा यो पर्व हुन्छ । कन्याराशिमा सूर्य सरेको बखत दिवङ्गत पितृहरूलाई पिण्डदान नगर्ने पुत्रहरू कृतघ्न हुन् भनिएको छ ।
सूर्ये कन्यागते श्राद्धं यो न कूर्यात् गृहाश्रमी ।
धनपुत्राः कुतस्तस्य पितृनिश्वास पीडनात् ।
अर्थात् गृहस्थी भएर आश्विनको पितृपक्षमा श्राद्ध नगर्नेको लागि उसका धन र सम्पत्ति, वैभव एवं उसका सन्तति निरर्थक हुन्छन् । पितृहरूको श्वासप्रश्वास रोकेर उनीहरूलाई हुने पीडाले परिवारको भरण पोषणमात्र खोज्नु राम्रो हुँदैन ।
यो १५ दिनको पक्षभित्र जहिले श्राद्ध गरे पनि हुन्छ किन्तु बाबुको या नसके बाजेको तिथिमा लिनु राम्रो मानिन्छ । सूतक, जूठो वा असर्धो समय परे एकादशी या औँसीमा गर्नुपर्छ । रोकिएकोले नगर्ने भन्ने होइन, पितृपक्षको १५ दिन नै रोकिएमा लक्ष्मीपूजाको औँसीमा गर्ने गर्ने चलन पनि छ ।
श्राद्ध के हो ? किन गरिन्छ ? कसरी गरिन्छ ? कहिले गरिन्छ ? यी मूल प्रश्नहरू छन् हाम्रासामु । आश्विन कृष्णपक्षको पूरै १५ दिन पितृपक्ष हो । यसलाई सोह्र श्राद्ध भनिन्छ । पूर्णिमा समेतको गन्तीले यो १६ दिनको भए पनि वास्तवमा सोह्र दिन पूरा हुन्न । चतुर्दशीका दिन पनि शस्त्रले हताहत भई मरेकाका लागि मात्र गरिन्छ । सामान्यतः लगभग १३—१४ दिनको हुन्छ ।
एक दिन मघायुक्त तिथि पर्नाले छोरा हुनेले पितृपक्ष भए पनि त्यो दिन पिण्डदान गर्दैनन् । ‘मघायां पिण्ड दानेन ज्येष्ठ पुत्रो हनिष्यति’ भनिएको छ अर्थात् मघामा पिण्डदान गर्नाले जेठो छोरोलाई हानी हुन पुग्छ । यसपालि मघा त्रयोदशीमा परेको छ । मघातिथिको साटो औँसी वा एकादशीमा गर्छन् वा सिदा—तर्पणवाटै विसर्जन गर्छन् पितृहरूलाई ।
श्राद्ध मूलतः श्रद्धा नै हो । आफ्ना दिवङ्गत पितृहरूको उद्धार, उनीहरूप्रतिको समर्पणभाव र उनीहरूप्रतिको दयाभाव हो । आफ्ना पितामाता र पुर्खाबिना यस धर्तीमा उदय असम्भव हुन्छ । उनीहरूकै लालनपालन, शिक्षादीक्षा र प्रेरणाले सन्ततिहरू अघि बढेका हुन्छन् । इतिहास र पूर्वजको संस्मरणविना सुखद वर्तमान र समुन्नत भविष्य कल्पना निरर्थक हुन्छ ।
दिवंगत पितृहरूले जीवमा ८४ लाखमध्ये कुनै न कुनै प्राणीमा उनीहरूले देह धारण गरेका हुन्छन् । तत्तत् योनिका खाना स्वरूप आआफ्ना दिवङ्गत पितृहरू तृप्त हुन्छन् । देवत्व प्राप्त गरेका पितृहरूले पनि आफ्ना सन्ततिबाट केही आशा गरेका हुन्छन् । त्यसैले, कुनै पनि कारण देखाएर पुत्रहरूले पितृप्रति गर्ने कर्म लोप गर्न मिल्दैन । आफ्नो गच्छेअनुसार पितृदेवताको उपासना गर्नै पर्छ ।
पु नामको नरकबाट तार्नेको नाम पुत्र भएकाले भावी र विगतका पिँढीहरूका लागि छोराको कर्तव्य किञ्चित् बढी तोकिएको छ । पितृऋण चुक्ता हुने गतिलो साधन भनेको पितृहरूका नाममा गरिने तर्पण नै हो ।
श्राद्ध धेरै प्रकारका हुन्छन् । हाम्रो ३६५ दिनको एक वर्ष हुन्छ । हाम्रो एक वर्ष पितृहरूको एक दिन मानिन्छ । त्यसैले दिनदिनै पुत्रसन्ततिबाट पितृहरूको आत्मा तृप्त हुने विश्वासअनुरूप हरेक वर्ष दिवङ्गत भएको तिथि पारेर निष्ठापूर्वक एउटा उद्देश्य लिएर गरिने श्राद्ध एकोद्विष्ट श्राद्ध हो । भक्तिभाव र समर्पणभाबाट देवता खुशी पार्ने माध्यम हो श्राद्ध ।
भजनकीर्तन, पुकार आदिमा शब्दको ख्याल नगर्दा पनि हुन्छ । जसले जसरी जान्दछ, सक्तछ उसैगरी पुकार गर्दा हुन्छ । पितृभावमा यसो गर्न मिल्दैन । वाक्य शुद्धि हुनुपर्छ, वचन, विभक्ति, कारक, पुरुष, सबै मिल्नुपर्छ । आफूले दिएको वस्तु पितृहरूले प्राप्त गर्न वाक्य शुद्धि जरुरी हुन्छ, अन्यथा कर्म निस्फल हुन्छ ।
घरमा शुभकर्म हुँदा पनि श्राद्ध गरिन्छ । सप्ताह, पुराण श्रवण, विवाह, ब्रतबन्ध, न्वारान, पास्नी लगायत सबै किसिमका शुभ कर्म गर्नुअघि पनि पितृको पूजा गर्नुपर्छ । यसमा पिण्डदानको महिमा हुँदैन तर कुनै कर्म गर्नुअघि पितृपूजा गरिन्छ । देवता दिनेको प्रतीक हुन् भने पितृ हर्नेको पनि प्रतीक हुन् । आफ्नो कुलमा कुनै संयोगको राम्रो कर्म हुँदा पितृहरूले पनि सन्ततिबाट केही चाहेका हुन्छन् भन्ने मानिन्छ । यस्तो श्राद्धलाई वृद्धिश्राद्ध भनिएको छ । यो शुभ कर्मको श्राद्ध हो । यसलाई आभ्युदायिक श्राद्ध वा नान्दीमुखी श्राद्ध पनि भनिन्छ ।
श्राद्धकर्ताको पत्नीको हातबाट तयार गरिएको पिण्डदान गर्नाले एक वर्षसम्म पितृहरू खुशी रहने बताइएको छ । त्यसैले कुलाचारअनुसार विवाह गरेर सन्तति प्राप्त गर्नुपर्ने बताइएको हो । त्रेतायुगमा श्रीरामले वनवासमा पिता दशरथको देहान्तको खबर सुनेर बालुवाकै भए पनि प्रतीकात्मक रूपमा सीताले सामग्रीहरू तयार पारेर श्रीरामले पिण्डदान गर्दा दशरथ उपस्थित भई तृप्ति पाएको बताइएको छ ।
मूल कुरा विश्वास र धारणा हो । हाम्रो सभ्यता विश्वासमै अडेको छ ।
हेमाद्रीमा उल्लेख भएअनुसार पितृश्राद्धको दिन पिण्डदान नभएसम्म हवनकार्य, योगीलाई अन्नदान देवपूजा, ब्रह्मचारी र तपस्वीहरूलाई दान इत्यादि गर्नु हुँदैन । अर्थात्, पितृकार्य बाहेक अन्य कार्य पिण्डदानअघि निषेध गरिएको छ । पितृहरू स्वलक्ष्यमा हुन्छन् । त्यो लक्ष्य पूरा नभएसम्म अन्य क्रियाकर्म निषेध गरिएको छ ।
श्राद्धमा बन्धुबान्धव, इष्टभित्र, ज्वाइँ, भान्जा, असल पुरोहित आदि आमन्त्रण गरिन्छन् । श्राद्धमा बाजागाजा, शंखघण्टको आवाज र भिडभाड नगर्नु भनिएको छ । श्राद्धमा तुलसी, भृङ्गराज, सयपत्री, अगस्त्यपुष्प आदि ग्राह्य छन् । केतकी, करवीर, वकुल, कुन्दक र रातो अन्य फूल निषेध छन् ।
अरूको स्वामित्व भएको घर–जमिनमा बसेर श्राद्ध गर्दा पितृहरू खुशी नहुने र उनीहरूको शक्ति क्षीण हुने बताइएको छ । शहरीक्षेत्र डेरागरी बस्नेले श्राद्ध तर्पण गर्दा नजिकको तीर्थक्षेत्र वा अन्य पवित्रस्थलमा गर्ने चलन छ । श्राद्धमा प्रयोग हुने वस्तुहरू अघिपछि प्रयोग नभएका र चोखो हुनुपर्ने मानिएको छ । दूध, ध्यू, तिल आदि नभई हुँदैन । आसनी चोखो हुनुपर्छ ।
पार्वण श्राद्ध नगरेका घरमा तत्कालै सुरु हुने नवदुर्गापक्षको कर्म, जमरा राख्ने कार्य आश्विन शुक्लपक्षभरि गरिने कर्म निषेध गरिएको छ । यसर्थ, देवता वा शक्तिको उपासना गर्ने क्रमको पूर्वसन्ध्यामा पितृपूजन जरुरी भएको हो । हामी देवपूजनमा विश्वास गर्छौं । पितृपूजा भनेको अतीतसँग गाँसिएको हुन्छ ।
तीर्थमा गरिने श्राद्धलाई तीर्थ श्राद्ध भनिएको छ । गृहस्थीहरूको लागि तीर्थ श्राद्ध जरुरी छ । औँसी वा पावन तिथि पारेर सन्ततिले पितृ उद्धार हेतु जहाँ तीर्थस्थलहरू छन् त्यहाँ श्राद्ध गर्नुपर्ने बताइएको छ । तीर्थश्राद्ध एवं ब्रह्म कपालीबाटै पितृहरू तृप्त हुन्छन् ।
तीर्थमा जौको पिण्ड दिइन्छ । श्राद्धको विधान पनि फरक हुन्छ । तीर्थश्राद्ध नगरेसम्म पितृ तृप्त नहुने कुरा गरुड पुराण र एवं पद्म पुराणमा उल्लेख गरिएको छ ।
सन्ततिले गरेको जलपिण्डदानले उनीहरूले आफू तृप्त भएको महसुस गर्छन् र धन, कीर्ति, सुख, भोग, यश, सम्मान, आत्मोन्नति, व्यवहार शुद्धि, मर्यादापालन इत्यादिको आशीर्वाद दिन्छन् ।
आफूले छोडेको काम आफ्नो सन्ततिबाट आशा गर्नु निरर्थक हुन्छ । स्वभावैले नयाँ पिँढी परिवर्तनकारी हुन्छ । असल परिवर्तन कार्यमा बाबुआमाको प्रेरणा आवश्यक हुन्छ । श्राद्ध तिनै पितृहरूप्रतिका श्रद्धा हो, जसले सधैँ आफ्ना सन्ततिको उन्नतिको कामना गर्छन् ।
प्रतिक्रिया