यदि मानिसको शरीरको तापक्रम ९५ डिग्री फरेनहाइड भन्दा कम भयो भने हाइपोथर्मिया हुन सक्छ । हाइपोथर्मिया जाडो मौसममा हुने गर्दछ । जोखिमपूर्ण समस्याका रुपमा रहेको हापोथर्मियामा शरीरको तापक्रम घट्दै जाने हुन्छ ।
समान्यतया मानिसको शरीरमा तापक्रम ९८ डिग्री फरेनहाइड हुनुपर्छ । जाडो बेलामा शरीरले तापक्रम उत्पन्न गर्न नसकेर हाइपोथर्मिया हुन्छ । यस्तोमा मुटुले काम गर्न छाड्ने र मानिसको मृत्यु समेत हुनसक्छ ।
हाइपोथर्मिया हुदाँ जिउ काम्ने, दिमाग सुस्त हुने, शरीर चल्न छाड्ने र मानिसमा चेतनाको कमी हुने हुन्छ । यो अवस्थामा मध्यम हाइपोथर्मियामा हुने गर्दछ । यदि कडा खालको हाइपोथर्मिया भएमा बिरामीले अचेत बन्ने, मुटुको धड्कन बन्द हुने वा मृत्यु समेत हुनसक्छ ।
हाइपोथर्मियाका लक्षण
हाइपोथर्मिया मानिसको उमेर अनुसार फरक हुन सक्छ । शिशुहरूमा शरीर चिसो हुने, छाला रातो देखिने र शरीर कमजोर हुने हुन्छ । वयस्कमा भने जाडो भएर शरीर काप्ने, हातखुट्टा निलो हुने, टाउको दुख्ने, हातखुट्टा कठ्यांग्रिने, रिँगटा लाग्ने, शरीरमा कमजोरी महसुस हुने, भोक लाग्ने, सास फेर्न गाह्रो हुने, पेट कराउने र अचेत हुने खतरा पनि रहन सक्छ ।
कस्तो अवस्थमा हुन्छ, हाइपोथर्मियाका जोखिम ?
यदि शरीरलाई चाहिनेभन्दा कम तापक्रम भएमा रगत सञ्चालनमा कमी आउँछ । यसले मुटुको काम गर्ने क्षमता कम हुन्छ र कठ्यांग्रिएर मानिसको मृत्यु हुने सम्भावना हुन्छ । जाडो याममा घरबार बिहीन मान्छे, बाटोमा सुत्ने मान्छे, वृद्धवृद्धा, साना शिशुहरु र कमजोर मान्छेलाई हाइपोथर्मियाको जोखिम हुन्छ । विशेषतः शितलहर चल्ने ठाउँ वा हिमाली क्षेत्रमा घर बाहिर बस्ने मानिस हाइपोथर्मियाको शिकार हुन्छन् ।
हाइपोथर्मियाबाट कसरी बच्ने ?
हाइपोथर्मियाको शंका लाग्नासाथ बिरामिलाई तातो बनाउनुपर्छ । पर्याप्त कपडा लगाइदिएर तातो झोलिलो खानेकुरा ख्वाउने र आगो वा हिटरको छेउमा राख्नुपर्छ ।
जाडो मौसममा घरबाहिर निस्कने मानिसहरुले तातो खानुकुरा खाएर निस्कनुपर्छ । बाइक चलाउनेहरुले हावा नछिर्ने तातो लुगा लगाई बाइक चलाउनुपर्छ । शरीरलाई चलायमान बनाउने र तातो हुने प्रयास गर्नुपर्छ ।
ओसिलो वा सुक्खा स्थानमा बस्नेहरुले शरीरको ताप बढाउन ऊनका लुगा लगाउनु उपयुक्त हुन्छ । तर कसिलो लुगा लगाउनु भने हुदैन, यसले रगतको बहावलाई रोक्न सक्छ ।
प्रतिक्रिया