जनकपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश नम्बर २ लाई मदिरा निषेधित क्षेत्र बनाउन माग गरेको छ ।
११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सफल पार्न तयारीस्वरुप प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा बसेको प्रदेशका महिला नेतृहरु तथा नेकपा प्रदेश नेतृत्वको संयुक्त भेलाले मदिरा निषेधित प्रदेश घोषणा गर्न माग गरेको हो ।
पुरुषहरूले मदिराजन्य पदार्थको सेवन गरेर महिलामाथि हिंसा गर्ने गरेकोले यस प्रदेशका महिलाहरु पीडित रहेको निष्कर्षसहित नेकपाले महिला हिंसा अन्त्यको लागि मदिरा निषेध गर्न माग गरेको एक जना नेतृले बताइन् ।
उनले भनिन्, “हाम्रो समाज पुरुषप्रधान हो । यहाँ पुरुषको अधिनमा महिला बस्नुपर्ने बाध्यात्मक स्थिती छ । चाहे पुरुष गलत होस या ठिक उसकै कुरा सुन्नुपर्ने र हिंसा सहनुपर्ने अवस्था अझै पनि विद्यमान छ । खासगरी पुरुषहरु मदिरा सेवन गरेर घरमा आउने श्रीमतीलगायत घरका अन्य महिला माथि कुटपिट गर्ने, गाली गर्नेजस्ता सयौं घटना हाम्रो समाजमा देख्न पाइन्छ । त्यसैले महिला हिंसा अन्त्य गर्नलाई हाम्रो प्रदेशमा मदिरा निषेध गर्नैपर्छ ।”
बैठकले दिवस मनाउन “महिला हिंसा अन्त्यको लागि मदिरा निषेधित प्रदेश घोषणा गरौ “ “११०औं महिला श्रमिक दिवस भव्यताका साथ मनाऔँ” भन्ने नाराका तय गरेको छ ।
प्रतिक्रिया