यही साता मंगलबार साँझपखको समय ।
राजधानी पशुपति आर्यघाट सुनसान जस्तै छ ।
पशुपति विकास क्षेत्रको घाटसेवाका कर्मचारीले कोरोना भाइरस संक्रमण हुन रोक्ने व्यक्तिगत सुरक्षाका सामग्री माग्दै काम बन्द गरेका छन् ।
घाटमा शव जलाइदिने कोही छैन । थोरै मान्छे, एउटा शव सकी नसकी जलाउँदैछन् । अरू शवदाह स्थल खाली छन् ।
नजिकै एउटा शववाहन छ, वाहनभित्र प्लाष्टिकले बेरिएको एउटा शव छ । वरिपरि शवको दुर्गन्ध फैलिएको छ ।
तीन हप्ता भयो पशुपति आर्यघाटमा घाट सेवाका कर्मचारीले शव नजलाएको । लकडाउनसँगै शव आउने क्रम पनि घटेको छ ।
शव लिएर आउनले बेवारिसे पारेर हिँडेपछि सड्न थालेको शवले पवित्र पाशुपत क्षेत्र दुर्गन्धित भएको छ ।
‘भक्तपुर नगरपालिका’ लेखिएको शववहानमा ल्याइएको शव वाहनभित्रै छ ।
शववाहनमा लेखिएको नम्बरमा फोन गर्दा फोन उठाउने व्यक्तिले आफू सम्बन्धित मान्छे नभएको भन्ने जवाफ दिए ।
शव कसले ल्याएको हो र वारिस को हो भन्ने जानकार कोही भेटिएन । घाटसेवाका एक जना कर्मचारीसँग जिज्ञासा राख्दा ‘मलाई थाहा छैन, म प्रवक्ता होइन’ भनेर उनी पन्छिए ।
आफन्तको मुत्युमा आर्यघाट पुगेका भक्तपुरका विनय ढुङ्गेलले गाडीभित्र शव कुहिएर झिँगा भन्केको र नजिकबाट हिँड्न नसकेको बताए ।
उनले आफूले पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र घाटसेवाका कर्मचारीलाई जानकारी गराउन चाहे पनि कसैसँग सम्पर्क हुन नसकेको बताए ।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकाललाई फोन गर्दा उनले त्यस्तो शवबारे अनभिज्ञता प्रकट गरे । उनले यसरी शव बेवारिसे छोड्ने व्यक्ति गैरजिम्मेवार भएको भन्दै व्यवस्थापनका लागि तत्काल कदम चाल्ने आश्वसन दिए ।
घाट क्षेत्रमा भेटिएका एक जनाले घाटसेवाका कर्मचारीले आन्दोलन गरेर शव जलाउन रोक लगाएको बताए ।
जलिरहेको एउटा शवका एक जना मलामी दीपक गौतमले घाटसेवाका कर्मचारीले शव जलाउन नमानेपछि आफैँले जलाउनु परेको गुनासो गरे । उनले मलामी आएका केही व्यक्ति बेवारिसे शवको दुर्गन्धका कारण फर्किएको पनि बताए ।
बेवारिसे शवबारे जानकारी पाएपछि सदस्य सचिव ढकालले समाधानको पहल गरे । उनले प्रहरीलाई खबर गरे । प्रहरी शवबारे बुझ्न थाल्यो ।
घाट सेवाका कर्मचारीहरूले लास जलाउन व्यक्तिगत सुरक्षाका सामग्री उपलब्ध नगराएसम्म काम नगर्ने अडान राखेका छन् ।
तीन दिनपछि, बिहीबार बिहान फोन गर्दा शववाहनका चालकसँग सम्पर्क भयो ।
चालक राजेन्द्र प्रजापतिका अनुसार कुरो के रहेछ भने, भक्तपुरस्थिति मानव कल्याण समाजको आश्रममा आश्रित एक वृद्धाको केही दिनअघि नै मृत्यु भएको रहेछ ।
त्यही शव प्रहरीको पहलमा बेवारिसे शवका रूपमा आर्यघाट पठाइएको रहेछ । ।
चालकले घाटसेवालाई शव जिम्मा लगाउने प्रयास गरे । कर्मचारीले मानेनन् । दुई घण्टाभन्दा धेरैबेरको प्रयास असफल भएपछि उनी वाहनमै शव छाडेर हिँड्न बाध्य भए ।
बेवारिसे शवबारे बुझ्न तीन दिनपछि बिहीबार बिहान फोन गर्दा विकास कोषका सदस्यसचिव ढकालले प्रक्रिया पूरा गरेर मंगलबार अबेर विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरेको बताए ।
शव कसको थियो भन्ने थाहा पाउने जिज्ञासाले तानिरह्यो ।
बिहीबार बिहान भक्तपुर प्रहरीको सहयोगमा आश्रमकी प्रमुख अभियन्ता सुशीला चौँलागाईंसँग फोन सम्पर्क हुन सक्यो ।
उनले घटनाबारे जानकारी दिइन् ।
सुशीलाका अनुसार मृतक ललितपुरको कुपण्डोल घर भएकी शान्तिप्रिया उपाध्याय हुन् । कोही साहरा नभएकी एक्ली शान्तिप्रिया २०७५ चैत ७ गतेदेखि आश्रममा थिइन् ।
आश्रममको स्याहार सुसार र उपचारले शान्तिप्रियाको स्वास्थ्यमा राम्रो सुधार भएको थियो । उनी दोहोरो कुरा गर्न सक्ने भएकी थिइन् । आश्रमका सञ्चालक र कर्मचारीहरू उनलाई ‘म्याडम’ भनेर सम्बोधन गर्थे ।
समाजले आफ्नो आश्रममा हाल ६३ जनालाई साहरा दिएको छ ।
एक दिन शान्तिप्रियाले आफ्नो घर हेर्न जान्छु भनिन् । आश्रमले उनलाई घर देखाउन लग्यो । कुपण्डोलमा डा. ‘शान्तिप्रिया निवास’ लेखेको उनको घर छ ।
यही चैत ११ गते, मंगलबार अचानक उनको निधन भयो । आश्रमले प्रहरीलाई खबर गर्यो । प्रहरीले बेवारिसे ठहर गरेर भक्तपुर अस्पताल लग्यो र प्रक्रिया पूरा गरेर बढीमा ३५ दिनका लागि अस्पतालमा राख्ने प्रबन्ध गर्यो ।
प्रहरीले मृतकका आफन्त खोज्ने प्रयास गर्यो । उनका परिवारजन कोही फेला परेनन् । फेला परेका केही आफन्त शव जिम्मा नलिने, दाहसंस्कार नगर्ने भनेर पन्छिए ।
भक्तपुर जिल्ला प्रहरीका कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीका अनुसार अन्ततः प्रहरी शव दाहसंस्कारका लागि पठाउने निष्कर्षमा पुग्यो ।
भक्तपुर प्रहरीले शान्तिप्रियाको घर भएको ललिपुर महानगरपालिका वडा नं १ मा सम्पर्क गर्यो । भक्तपुर प्रहरी, ललितपुर वडा नं १ कार्यालय र ललितपुरमै रहेको बेवारिसे शव व्यवस्थापन केन्द्रले समन्वय गरेर शव आर्यघाट पठाए ।
सोही अनुसार निधनको आठौँ दिन चैत १८ गते मंगलबार भक्तपुर नगरपालिकाको शववाहनमा राखेर आर्यघाट पठाइयो ।
अभियन्ता सुशीलाका अनुसार शान्तिप्रिया नेपाल सरकारको अवकासप्राप्त उपसचिव थिइन् । उनी ६१ वर्षकी थिइन् । उनी समाजसेवी पनि थिइन् ।
शान्तिप्रिया अविवाहित थिइन् । उनी घरमा आमाका साथ बस्थिन् । एक दिन उनी जडिबुटी प्रशोधन केन्द्रको कार्यालयमा अचानक ढलिन् । उनलाई मस्तिष्क पक्षघात भएछ । उनी लामो समय अचेत अवस्थामा रहिन् ।
छोरीको यस्तो अवस्था भएपछि यही पीरले उनकी वृद्धा आमाको निधन भयो ।
पक्षघातले थलिएर अशक्त भएपछि र आमाको निधन भएर एक्लिएपछि शान्तिप्रिया बेसहारा भइन् ।
मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौँलागाईंका अनुसार शान्तिप्रिया बेसहरा भएपछि ललितपुर महानगरपालिका वडा नं १ कार्यालयले समाजमा खबर गर्यो । अनि समाजले आफ्नो आश्रममा साहरा दियो ।
आफ्नो आश्रयको व्यक्ति मरेपछि आश्रमले किन बेवारिसे मान्यो त ?
सुशीलाका अनुसार शव जिम्मा लिने आफन्त नभएको अवस्थामा आश्रमले प्रहरीलाई खबर गर्छ । प्रहरीले बेवारिसे भन्ने प्रक्रिया पूरा गरेर दाहसंस्कारको प्रबन्ध गर्छ । यसैअनुसार शान्तिप्रियाको शव आर्यघाट पठाइएको थियो ।
घाटसेवाका कर्मचारीले काम रोकेका कारण घाटमै शव अलपत्र भयो ।
अन्ततः विकास कोषका सदस्य सचिव ढकालको सक्रियतामा विद्युतीय शवदाहगृहमा शव जल्यो ।
म्याडम शान्तिप्रियाको दिवंगत आत्माले शान्ति पाओस् । भावपूर्ण श्रद्धाञ्जलि ।
प्रतिक्रिया