आत्माले शान्ति पाओस् म्याडम शान्तिप्रिया ! | Khabarhub Khabarhub

आत्माले शान्ति पाओस् म्याडम शान्तिप्रिया !


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

यही साता मंगलबार साँझपखको समय ।

राजधानी पशुपति आर्यघाट सुनसान जस्तै छ ।

पशुपति विकास क्षेत्रको घाटसेवाका कर्मचारीले कोरोना भाइरस संक्रमण हुन रोक्ने व्यक्तिगत सुरक्षाका सामग्री माग्दै काम बन्द गरेका छन् ।

घाटमा शव जलाइदिने कोही छैन । थोरै मान्छे, एउटा शव सकी नसकी जलाउँदैछन् । अरू शवदाह स्थल खाली छन् ।

नजिकै एउटा शववाहन छ, वाहनभित्र प्लाष्टिकले बेरिएको एउटा शव छ । वरिपरि शवको दुर्गन्ध फैलिएको छ ।

तीन हप्ता भयो पशुपति आर्यघाटमा घाट सेवाका कर्मचारीले शव नजलाएको । लकडाउनसँगै शव आउने क्रम पनि घटेको छ ।

शव लिएर आउनले बेवारिसे पारेर हिँडेपछि सड्न थालेको शवले पवित्र पाशुपत क्षेत्र दुर्गन्धित भएको छ ।

‘भक्तपुर नगरपालिका’ लेखिएको शववहानमा ल्याइएको शव वाहनभित्रै छ ।

शववाहनमा लेखिएको नम्बरमा फोन गर्दा फोन उठाउने व्यक्तिले आफू सम्बन्धित मान्छे नभएको भन्ने जवाफ दिए ।

शव कसले ल्याएको हो र वारिस को हो भन्ने जानकार कोही भेटिएन । घाटसेवाका एक जना कर्मचारीसँग जिज्ञासा राख्दा ‘मलाई थाहा छैन, म प्रवक्ता होइन’ भनेर उनी पन्छिए ।

आफन्तको मुत्युमा आर्यघाट पुगेका भक्तपुरका विनय ढुङ्गेलले गाडीभित्र शव कुहिएर झिँगा भन्केको र नजिकबाट हिँड्न नसकेको बताए ।

उनले आफूले पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र घाटसेवाका कर्मचारीलाई जानकारी गराउन चाहे पनि कसैसँग सम्पर्क हुन नसकेको बताए ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकाललाई फोन गर्दा उनले त्यस्तो शवबारे अनभिज्ञता प्रकट गरे । उनले यसरी शव बेवारिसे छोड्ने व्यक्ति गैरजिम्मेवार भएको भन्दै व्यवस्थापनका लागि तत्काल कदम चाल्ने आश्वसन दिए ।

घाट क्षेत्रमा भेटिएका एक जनाले घाटसेवाका कर्मचारीले आन्दोलन गरेर शव जलाउन रोक लगाएको बताए ।

जलिरहेको एउटा शवका एक जना मलामी दीपक गौतमले घाटसेवाका कर्मचारीले शव जलाउन नमानेपछि आफैँले जलाउनु परेको गुनासो गरे । उनले मलामी आएका केही व्यक्ति बेवारिसे शवको दुर्गन्धका कारण फर्किएको पनि बताए ।

बेवारिसे शवबारे जानकारी पाएपछि सदस्य सचिव ढकालले समाधानको पहल गरे । उनले प्रहरीलाई खबर गरे । प्रहरी शवबारे बुझ्न थाल्यो ।

घाट सेवाका कर्मचारीहरूले लास जलाउन व्यक्तिगत सुरक्षाका सामग्री उपलब्ध नगराएसम्म काम नगर्ने अडान राखेका छन् ।

तीन दिनपछि, बिहीबार बिहान फोन गर्दा शववाहनका चालकसँग सम्पर्क भयो ।

चालक राजेन्द्र प्रजापतिका अनुसार कुरो के रहेछ भने, भक्तपुरस्थिति मानव कल्याण समाजको आश्रममा आश्रित एक वृद्धाको केही दिनअघि नै मृत्यु भएको रहेछ ।

त्यही शव प्रहरीको पहलमा बेवारिसे शवका रूपमा आर्यघाट पठाइएको रहेछ । ।

चालकले घाटसेवालाई शव जिम्मा लगाउने प्रयास गरे । कर्मचारीले मानेनन् । दुई घण्टाभन्दा धेरैबेरको प्रयास असफल भएपछि उनी वाहनमै शव छाडेर हिँड्न बाध्य भए ।

बेवारिसे शवबारे बुझ्न तीन दिनपछि बिहीबार बिहान फोन गर्दा विकास कोषका सदस्यसचिव ढकालले प्रक्रिया पूरा गरेर मंगलबार अबेर विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरेको बताए ।

शव कसको थियो भन्ने थाहा पाउने जिज्ञासाले तानिरह्यो ।

बिहीबार बिहान भक्तपुर प्रहरीको सहयोगमा आश्रमकी प्रमुख अभियन्ता सुशीला चौँलागाईंसँग फोन सम्पर्क हुन सक्यो ।

उनले घटनाबारे जानकारी दिइन् ।

सुशीलाका अनुसार मृतक ललितपुरको कुपण्डोल घर भएकी शान्तिप्रिया उपाध्याय हुन् । कोही साहरा नभएकी एक्ली शान्तिप्रिया २०७५ चैत ७ गतेदेखि आश्रममा थिइन् ।

आश्रममको स्याहार सुसार र उपचारले शान्तिप्रियाको स्वास्थ्यमा राम्रो सुधार भएको थियो । उनी दोहोरो कुरा गर्न सक्ने भएकी थिइन् । आश्रमका सञ्चालक र कर्मचारीहरू उनलाई ‘म्याडम’ भनेर सम्बोधन गर्थे ।

समाजले आफ्नो आश्रममा हाल ६३ जनालाई साहरा दिएको छ ।

एक दिन शान्तिप्रियाले आफ्नो घर हेर्न जान्छु भनिन् । आश्रमले उनलाई घर देखाउन लग्यो । कुपण्डोलमा डा. ‘शान्तिप्रिया निवास’ लेखेको उनको घर छ ।

यही चैत ११ गते, मंगलबार अचानक उनको निधन भयो । आश्रमले प्रहरीलाई खबर गर्‍यो । प्रहरीले बेवारिसे ठहर गरेर भक्तपुर अस्पताल लग्यो र प्रक्रिया पूरा गरेर बढीमा ३५ दिनका लागि अस्पतालमा राख्ने प्रबन्ध गर्‍यो ।

प्रहरीले मृतकका आफन्त खोज्ने प्रयास गर्‍यो । उनका परिवारजन कोही फेला परेनन् । फेला परेका केही आफन्त शव जिम्मा नलिने, दाहसंस्कार नगर्ने भनेर पन्छिए ।

भक्तपुर जिल्ला प्रहरीका कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीका अनुसार अन्ततः प्रहरी शव दाहसंस्कारका लागि पठाउने निष्कर्षमा पुग्यो ।

भक्तपुर प्रहरीले शान्तिप्रियाको घर भएको ललिपुर महानगरपालिका वडा नं १ मा सम्पर्क गर्‍यो । भक्तपुर प्रहरी, ललितपुर वडा नं १ कार्यालय र ललितपुरमै रहेको बेवारिसे शव व्यवस्थापन केन्द्रले समन्वय गरेर शव आर्यघाट पठाए ।

सोही अनुसार निधनको आठौँ दिन चैत १८ गते मंगलबार भक्तपुर नगरपालिकाको शववाहनमा राखेर आर्यघाट पठाइयो ।

अभियन्ता सुशीलाका अनुसार शान्तिप्रिया नेपाल सरकारको अवकासप्राप्त उपसचिव थिइन् । उनी ६१ वर्षकी थिइन् । उनी समाजसेवी पनि थिइन् ।

शान्तिप्रिया अविवाहित थिइन् । उनी घरमा आमाका साथ बस्थिन् । एक दिन उनी जडिबुटी प्रशोधन केन्द्रको कार्यालयमा अचानक ढलिन् । उनलाई मस्तिष्क पक्षघात भएछ । उनी लामो समय अचेत अवस्थामा रहिन् ।

छोरीको यस्तो अवस्था भएपछि यही पीरले उनकी वृद्धा आमाको निधन भयो ।

पक्षघातले थलिएर अशक्त भएपछि र आमाको निधन भएर एक्लिएपछि शान्तिप्रिया बेसहारा भइन् ।

मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौँलागाईंका अनुसार शान्तिप्रिया बेसहरा भएपछि ललितपुर महानगरपालिका वडा नं १ कार्यालयले समाजमा खबर गर्‍यो । अनि समाजले आफ्नो आश्रममा साहरा दियो ।

आफ्नो आश्रयको व्यक्ति मरेपछि आश्रमले किन बेवारिसे मान्यो त ?

सुशीलाका अनुसार शव जिम्मा लिने आफन्त नभएको अवस्थामा आश्रमले प्रहरीलाई खबर गर्छ । प्रहरीले बेवारिसे भन्ने प्रक्रिया पूरा गरेर दाहसंस्कारको प्रबन्ध गर्छ । यसैअनुसार शान्तिप्रियाको शव आर्यघाट पठाइएको थियो ।

घाटसेवाका कर्मचारीले काम रोकेका कारण घाटमै शव अलपत्र भयो ।

अन्ततः विकास कोषका सदस्य सचिव ढकालको सक्रियतामा विद्युतीय शवदाहगृहमा शव जल्यो ।

म्याडम शान्तिप्रियाको दिवंगत आत्माले शान्ति पाओस् । भावपूर्ण श्रद्धाञ्जलि ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  २ : १८ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको