लकडाउनमा गाउँ फर्केकालाई वनका फलफूलले भुलायो | Khabarhub Khabarhub

लकडाउनमा गाउँ फर्केकालाई वनका फलफूलले भुलायो


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरिएको बन्दाबन्दीका कारण गाउँ पुगेका नागरिक जङ्गली फलफूलमा रमाइरहेका छन् ।

विदेश र शहरबाट आएकाहरुको दुई महिनादेखिको बसाइले गाउँबस्तीमा चहलपहल बढाएको छ । बालबालिकादेखि पाका उमेरका मानिसको चहलपहलले चाडपर्व आएझैँ भएको धवलागिरि गाउँपालिका–७ ताकमका नरनाथ आचार्यले बताए ।

‘कामविशेषले शहरबजार गएकाहरु गाउँमा आएका छन् । अहिले बन्दाबन्दीले गर्दा सबै घरमै छन्’, उनले भने, ‘काफल, ऐसेलु पाक्ने सिजन पनि यही हो । घर आएका मान्छेहरु त्यहीमै रमाएर बसेका छन् ।’

पछिल्लो समय गाउँका बस्ती सुनसान, खेतबारी र बाटाघाटा झाडीमा परिणत भएका थिए । गोठाला र खेतालाका गीत सुन्न छोडिएको थियो । पँधेरामा पानी खाने र पोखरीमा पौडी खेल्ने बालबालिका थिएनन् ।

वनका ऐसेलु, काफल, चुत्रो, जानमान्द्रो, मच्छ्यान्नो चराचुरुङ्गीको आहारामा सीमित थिए । भुइँमा झरेर कुहिनुको विकल्प थिएन । कोरोनाले काफल, ऐसेलु, चुत्रो, तिजु, जानमान्द्रोको झ्याङमा लुकामारी गर्ने अवसर जुराएको ताकमका विनोद घर्तीको भनाइ छ ।

‘जङ्गलमा काफल ऐसेलु खान पाउँदा बाल्यकालको याद आइरहेको छ’, उनले भने, ‘साथीभाइसँग भेट भएको छ । कोरोनाको डर भए पनि गाउँको लामो बसाइँ रमाइलै भएको छ ।’

वर्षौंदेखि शहरमा अर्काको खटनपटन, प्रदूषण र कोलाहलमा व्यस्त दैनिकी गुजारेकाहरु आमाको प्रेमिल काखमा रमाउन पाएझैँ खुशी लागेको उनले बताए ।

वसन्त ऋतु प्राकृतिक हिसाबले रमाइलो र सुन्दर मानिन्छ । यही याममा जङ्गलमा धेरै प्रकृतिका फलफूल पाक्छन् । शहर बजारमा जङ्गली फलफूल चाख्न महँगो मूल्य तिर्नुपर्छ ।

गाउँमा फर्किएकाहरु रुखमै चढेर आफैँ टिपेर ताजा फलफूल खान पाएका छन् । किशोरदेखि युवा र पाका उमेरका मानिस घरायसी, खेतबारी र दाउरा घाँस काट्नुका साथै जङ्गली फलफूल खाएर लकडाउनको समय कटाइरहेका ताकमका सुमन केसीले बताए ।

बेनीमा अध्ययन गर्ने घर्ती र केसी लकडाउन भएयता गाउँमै छन् । विगतका वर्षमा गाउँघरमा दशैँ तिहारको समयमा मात्र चहलपहल हुन्थ्यो । भूकम्प र नाकाबन्दीको समयमा पनि गाउँमा धेरै मानिस पुगेका थिए । ‘अहिले ऐसेलु र काफल उपभोग हुन नसकेर भुइँमा झरेर कुहिनुपर्ने अवस्था छैन’, ताकमकी आरती आचार्यले भने, ‘दुःखमा सम्झिने गाउँ नै रहेछ ।’

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ३ : ३८ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय