सबै नगरपालिकाभित्रका अस्पताल र स्वास्थ्य चौकीबाट नियमित खोप सेवा शुरु | Khabarhub Khabarhub

सबै नगरपालिकाभित्रका अस्पताल र स्वास्थ्य चौकीबाट नियमित खोप सेवा शुरु


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणबाट रोक्न सरकारले लागू गरेको लकडाउनका कारण बन्द भएको नियमित खोप सेवा भक्तपुरका चारवटै नगरपालिका भित्रका स्वास्थ्य तथा उपस्वास्थ्य चौकीबाट शुरु भएको छ ।

बालबालिका जन्मेदेखि १५ महिनासम्म लगाइने खोप सेवा लकडाउनले गत चैत ११ गतेदेखि बन्द भए पनि जिल्लाका स्वास्थ्य तथा उपस्वास्थ्य चौकीमा पुनः सञ्चालन भएको हो ।

चाँगुनारायण नगरपालिकाका प्रशासकीय प्रमुख चिरञ्जीवी तिम्सेनाले आफ्नो नगरपालिकाभित्र रहेका सबै वडाका स्वास्थ्य तथा उपस्वास्थ्य चौकीमा खोप सेवा नियमितरूपमा शुरु गरेको जानकारी दिए ।

उनले खोप लगाउँदा भीडभाड नगरी सुरक्षाका सबै उपाय अवलम्बन गरेर निश्चित दूरी कायम गरेर सेवा सञ्चालन गर्न लगाएको जानकारी दिँदै आगामी असार महिनासम्मलाई पुग्ने सबै प्रकारका औषधिसमेत पठाइसकेको बताए ।

यता सूर्यविनायक नगरपालिकाका प्रशासकीय प्रमुख कमल ज्ञवालीले नगरपालिकाभित्र रहेका सबै स्वास्थ्य तथा उपस्वास्थ्य चौकीबाट सबै सुरक्षा अपनाएर खोप सेवा सञ्चालन गरिएको जानकारी दिए ।

उनले भने, ‘नगरभित्र रहेका १० वटै वडाका स्वास्थ्य तथा उपस्वास्थ्य चौकीमा ज्वरो नाप्न थर्मलगन, सबै स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि पिपिइ (सुरक्षा कवच), मास्क, पञ्जा, असारसम्म पुग्ने औषधि पर्याप्त मात्रामा पठाएका छौँ, खोप सेवा मात्रै होइन स्वास्थ्य चौकीले दिने कुनै पनि सेवा रोकिएको छैन, सबै सञ्चालन गरेका छौँ ।’

सूर्यविनायक नगरपालिका अस्पताल र स्वास्थ्य तथा उपस्वास्थ्य चौकीले नियमितरूपमा दिने खोप, स्वास्थ्य परीक्षणलगायतका अन्य सेवा दिए/नदिएको नियमित अनुगमन पनि गरिरहेको जानकारी दिँदै उनले सङ्कटको बेलामा सेवा नदिएको गुनासो आएमा तत्काल कारवाही गरिने बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले भक्तपुर अस्पताल र जिल्लाको चारवटै नगरपालिकाभित्रका अस्पताल एवं स्वास्थ्य संस्थाबाट नियमित खोप सेवा शुरु भएको जानकारी दिए । उनले केही वडामा रोकिएको दादुरा–रुवेलाको खोप पनि शुरु गर्ने तयारी भइरहेको बताउँदै जिल्लामा वार्षिक ३५ हजार बालबालिकाले खोप सेवा लिने गरेको जानकारी दिए ।

लामो समयसम्म नियमितरूपमा लगाइने खोप कार्यक्रम रोक्दा भविष्यमा अर्को स्वास्थ्य महामारी आउनसक्ने भन्दै स्वास्थ्य मन्त्रालयले देशभरिका स्थानीय तहमा खोपसेवा सञ्चालन गर्न आग्रह गरेको थियो । मन्त्रालयले खोप सञ्चालनको समयमा कम्तीमा तीनदेखि छ फिट दूरी कायम गर्ने, समयतालिका निर्धारण गरी टोलवासीलाई जानकारी दिने, समय–समयमा साबुनपानीले हात धुने, खोप सेवा लिन आउनेलाई पनि दूरी कायम गर्न लगाउनेजस्ता नियम बनाएको छ ।
जन्मेदेखि १५ महिनासम्म सरकारले १२ प्रकारको खोप निःशुल्क उपलब्ध गराइरहेको छ । वार्षिकरूपमा देशभरका छ लाख २० हजार बालबालिकाले खोप सेवा लिने गरेको मन्त्रालयको तथ्याङ्क छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १० : ४२ बजे

सडक सञ्जालमा जोडियो ढोरपाटन

म्याग्दी- म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको

सन्तानको हुटहुटीले ‘डिभोर्सी’ जोडीको पुनर्मिलन !

छुटिएको एक जोडी पति पत्नीको सम्बन्ध पुनः कायम होस् भनेर

सातवटै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

काठमाडौं– देशका सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२–०८३ को वार्षिक

सुरक्षित स्थानमा जान इजरायली नागरिकलाई इरानी सैन्य अधिकारीको चेतावनी

इरान – आफ्ना धेरै नागरिकले राजधानी तेहरान छाडेका दृश्य सार्वजनिक

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेहको परीक्षण

सिरहा– सिरहाको लहान नगरपालिकाले नगरवासीको घरघरमै स्वास्थ्यकर्मी पठाएर उच्च रक्तचाप