काठमाडौं उपत्यका भित्रिने सबै नाकामा डिस–इन्फेक्सन टनेल राख्ने तयारी | Khabarhub Khabarhub

काठमाडौं उपत्यका भित्रिने सबै नाकामा डिस–इन्फेक्सन टनेल राख्ने तयारी


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्न मुलुकमा जारी गरिएको बन्दाबन्दी (लकडाउन) को अवधि लम्बिँदै जाँदा काठमाडौं उपत्यकाभित्र सवारीको चाप बढ्न थालेपछि स्थानीय प्रशासनले थप सतर्कता अपनाएको छ । काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायले गाडीको चापलाई व्यवस्थित गर्न र रोगको सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाउँदै सुरक्षा व्यवस्थालाई थप चुस्त पार्न थालेको हो । आवश्यक अन्य सुरक्षा सावधानीसमेत अपनाउन थालिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आवश्यक सुरक्षा व्यवस्थाका साथै रोगको सङ्क्रमण भित्रिन नदिन उत्तिकै तयारीका साथ लागेको बताए ।

सोही सिलसिलामा आज मात्रै प्रजिअ दाहाल तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालसहितको टोलीले उपत्यकाको विभिन्न क्षेत्रको स्थलगत अवलोकन गर्दै गाडीको आवतजावत, हालको सुरक्षा अवस्था र भावी दिनमा अपनाउनुपर्ने योजनाका बारेमा जानकारी लिएको छ ।

‘अहिलेसम्मको लकडाउनको अवस्थाको मूल्याङ्कन गर्दै आगामी दिनमा उपत्यकामा हुनसक्ने सम्भावित जोखिम रोक्ने विषयमा नै हाम्रो ध्यान छ, त्यहीअनुसार आवश्यक सुरक्षा र सावधानी अपनाउन थालेका छौँ, नयाँ नयाँ स्वास्थ्य सुरक्षा रणनीतिसमेत बन्दै छ,’ प्रजिअ दाहालले भने । नागढुङ्गा नाकामा भएको सवारी आवागमनको अवस्था र यहाँ हालै स्थापना गरिएको डिसइन्फेक्सन टनेल र यसको प्रभावकारिताका बारेमा समेत उनीहरुले जानकारी लिए ।

काठमाडौं उपत्यका प्रवेश गर्ने मुड्खु, जगाती, फर्पिङ र जर्सिङपौवा नाका मुख्य छ । नागढुङ्गामा जसरी अन्य नाकामा समेत टनेल राख्ने योजना बनाइएको छ । हुमाने र फर्पिङमा टनेल राख्ने तयारी गरिएको प्रजिअ दाहालले बताए । क्रमशः अन्य नाकामा पनि राख्दै जाने योजना रहेको उल्लेख गर्दै दाहालले भने, ‘भारतबाट आउने मालबाहक सवारीमा विशेष निगरानी बढाउनुपर्ने अवस्था छ, अहिले सवारीलाई डिसइन्फेक्सन गर्ने काम थालिएको छ, यात्रुलाई समेत डिसइन्फेक्सन कसरी गर्न सकिन्न भन्नेमा सोच अघि बढाएका छौँ ।’

सडकमा राखिएको उक्त टनेलमा गाडी प्रवेश गरेपछि विभन्न ठाउँमा राखेको केमिकलयुक्त पानीको फोहराले गाडीलाई डिसइन्फेक्सन गराउँछ । यसले बाहिरबाट आएका सवारी साधनका किटाणुलाई रोक्ने दाबी छ । स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा मानिसको शरीरमा हानि नहुनेखालको केमिकल प्रयोग गरिएको टनेल राख्ने सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए ।

थापाका अनुसार मानिसका लागि हानि नहुनेखालको केमिकल प्रयोग भए पनि अहिलेसम्म गाडीलाई मात्रै हालिएको छ । यहाँ प्रभावकारी भएमा काठमाडौंको मुख्य नाका र देशका प्रमुख शहरमा यस्तै टनेल राख्ने योजना रहेको उनले सुनाए । यद्यपि यसको प्रभावकारिताका बारेमा भने प्रश्न उठेको छ ।

सोही क्रममा कार्यस्थलमा खटिएका सुरक्षाकर्मीले वर्तमान अवस्था र आइपरेका समस्याका बारेमा प्रजिअ दाहाललाई जानकारी गराएका थिए । मुख्यगरी बाहिरबाट पास लिएर आउने गाडीको चाप बढी देखिएकाले यसतर्फ सचेत हुनुपर्ने सुरक्षाकर्मीको सुझाव थियो ।

वर्तमान अवस्थामा अझै पनि उपत्यका आवागमनलाई खुला गर्न नहुने भन्दै आवाज उठ्न थालेको छ । लकडाउनलाई निरन्तरता दिए पनि केही खुकुलो पार्नुपर्ने आवश्यकता देखिन्छ । सर्वसाधारणले ४०/४२ दिनसम्म एउटै कोठामा बसेर राज्यलाई सहयोग गरेकामा प्रजिअ दाहालले धन्यवाद दिँदै भने, ‘लकडाउनको मोडालिटी परिवर्तन गर्नुपर्छ, विकास निर्माणका काम थालिएको, कृषि कार्य शुरु भएकाले सुरक्षा सावधानी अपनाएर थप खुकुलो गर्नुपर्ने आवश्यकता छ ।’

गाडीको डिसइन्फेक्सनसँगै सुरक्षा व्यवस्थासमेत उत्तिकै चुस्त पारिएको छ । विशेष सुरक्षा सतर्कता अपनाएर बाहिरबाट उपत्यकामा गाडी प्रवेश गराइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख ढकालले बताए । राजधानीलाई सुरक्षित बनाउन सबैखालको सुरक्षा अपनाएर प्रहरी परिचालन गरिरहेको छ । राज्यको नीति निर्देशनलाई कार्यान्वयन गर्दै समस्याको सहजीकरण गर्ने तथा सवारीको जाँच र अभिलेखीकरणलाई दुरुस्त पार्न थालिएको उनले बताए ।

ट्राफिक प्रहरी महाशाखाले उपत्यकमा दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेक प्वाइन्ट राखी जाँचको व्यवस्था मिलाएको जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत उत्तिकै मात्रामा खटिएका छन् । उपत्यकामा विगतका दिनमा भन्दा अहिले सवारीको चाप बढ्न थालेकाले ट्राफिक नियम उल्लङ्घन विरुद्धसमेत कारवाही शुरु गरेको छ । बाहिरी जिल्लाबाट पास पाएका गाडीसमेत बढ्न थालेको छ । राहत वितरण र अत्यावश्यक सामान ओसारपसार बढेको, विभिन्न कार्यालय सञ्चालन हुन थालेको र उद्योग तथा आयोजना सञ्चालन हुने क्रम बढेकाले पनि यातायतको चाप बढेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  २ : ५९ बजे

अग्रजहरूको अनुभव नयाँ पिँढीलाई आवश्यक : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वसांसदहरुको अनुभव र क्षमता नयाँ

राजनीतिक दलबीच भएको छलफललाई सत्तासँगमात्रै जोडेर नहेरौँ : सांसद सापकोटा

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राजनीतिक दलबीच भएको

मेयर-वडाअध्यक्ष टकराव : अन्योलमा काठमाडौंको नीति तथा कार्यक्रम र बजेट

काठमाडौं–काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पेस गरेको नीति तथा

वन्यजन्तुका कारण विद्यार्थी जोखिममा

खजुरा– वन्यजन्तुका कारण बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रका विद्यालयका विद्यार्थी

सङ्क्रमणकालीन विषय टुंगो लगाउन कार्यदल गठन

काठमाडौं– सङ्क्रमणकालीन न्यायसँग सम्बन्धी विषयलाई टुंगो लगाउन कार्यदल गठन भएको