समाजसेवाको भेषमा बालयौन दुराचारको धन्दा | Khabarhub Khabarhub

समाजसेवाको भेषमा बालयौन दुराचारको धन्दा

चार वर्षमा १३ विदेशी पक्राउ



 काठमाडौँ- गरिबलाई सहयोगलगायत समाज सेवाको बहानामा नेपाल आउने र बालयौन दुराचार गर्ने विदेशीको संख्या बढ्दै गएको छ । बालयौन दुराचारमा संलग्न हुनेमा क्यानडा, युरोप, अमेरिकालगाय विकसित देशका नागरिक बढी देखिएका छन् ।

मङ्गलबार मात्र बाल यौनदुराचारको आरोपमा प्रहरीले पोखराबाट एक जना फ्रान्सेली नागरिकलाई पक्राउ गर्‍यो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले १५ वर्षदेखि निरन्तर नेपालमा बसिरहेका फ्रान्सेली नागरिक ६१ वर्षीय क्रिस्टियन सर्ज हेनरी ओग्रेटलाई पक्राउ गरेको हो ।

सिआइवीका प्रमुख डिआइजी सहकुल थापाका अनुसार पेशाले कम्प्युटर इन्जिनियर रहेका उनलाई पोखराको फुस्रेखोला बगरमा ७ वर्षीय, ८ वर्षीय र १२ वर्षीय गरी ३ जना बालकलाई बाल यौन दुरुपयोग र शोषण गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

सीआइबी प्रमुख थापा भन्छन्, ‘नेपाली महिलासँग बिहे गरेका उनी नेपालमा गैरपर्यटक भिसामा बस्दै आएका थिए । उनी पहिलोपटक नेपालमा सन् २००५ मा प्रवेश गरेयता आउजाउ गरिरहे पनि धेरै समय नेपालमा बस्दै आएको खुलेको छ ।

बालयौन दुराचारको आरोपमा पक्राउ परेका हाइप्रोफाइल क्यानेडियन नागरिक पिटर जोहन जिल्ला अदालत काभ्रेले २०७६ असारमा ९ वर्षको जेल सजाय सुनाएको थियो । अहिले उनी जेलमै छन् । पिटर नेपालस्थित अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) तथा अफगानिस्तानस्थित युएन ह्याबिट्याटको कन्ट्री रिप्रेजेन्टेटिभ भइसकेका क्यानेडियन नागरिक हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले उनलाई २०७४ चैत २४ गते काभ्रेको मण्डन देउपुर६ बाट बालयौन दुराचारको आरोपमा पक्राउ गरेको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका तत्कालीन डिएसपी कवित कट्वालको नेतृत्वको टोलीले करिब १५ दिनको निगरानीपछि घरमा छापा मारेर उनलाई पक्राउ गरेको थियो । उनले काभ्रेको मण्डन देउपुरमा आफ्नै लगानीमा घर बनाएका थिए ।

यूएन ह्याबिट्याटका निम्ति अफगानिस्तान प्रतिनिधिका रूपमा काम गरेका पिटरले आफ्नै घरमा काम गर्न बस्नेका छोरा र उनका आफन्तका छोरामाथि यौन शोषण गरेको आरोप थियो ।

पछिल्लो ४ वर्षमा १३ जना विदेशी पक्राउ

सिआइबीको तथ्याङ्कअनुसार, पछिल्लो ४ वर्षमा बालयौन दुराचारको आरोपमा १३ जना विदेशी नागरिक पक्राउ परेका छन् । ती घटनामा कम्तिमा २० जना बालकको उद्धार गरिएको छ ।

ब्यूरोका डीआइजी थपाका अनुसार उनीहरू सबै यौन दुराचारमा संलग्न रहेकै अवस्थामा पक्राउ परेका हुन् । थापा भन्छन्, ‘अहिलेसम्म देखिएका घटना प्रहरीले पक्राउ गरेर बाहिर आएका मात्र हुन् । भित्रभित्रै यस्ता घटना भइरहेका हुनसक्छन् ।

उनका अनुसार नेपालमा बालयौन दुराचार सम्बन्धी घटनाहरू बाहिरिने क्रम बढ्दो छ । अहिले पनि अमेरिका, जर्मनी, अस्ट्रिया, नेदरल्याण्ड्स, क्यानडा र फ्रान्सजस्ता मुलुकका नागरिक नेपालका कारागारमा छन् ।

 यस्तो छ बालयौन दूराचारमा पक्राउ शृङ्खला

   २०७७ मंसिर १६ गते पोखराबाट फ्रान्सेली नागरिक ६१ वर्षीय क्रिस्टियन सर्ज हेनरी ओग्रेट पक्राउ

   २०७६ फागुन २२ गते अस्ट्रेलियन नागरिक ५८ वर्षीय गोन्दुक रिम्पोछे पक्राउ ।

   २०७६ मंसिर २३ गते अमेरिकन नागरिक ४० वर्षीय ज्यासन ल्योयन मुडी पक्राउ ।

   २०७५ माघ ५ गते काठमाडौँको कालिमाटीबाट बेलायती नागरिक इयान रोबर्ट कोल पक्राउ

   २०७५ माघ ५ गते, काठमाडौँको कालिमाटीबाट भारतीय नागरिक अजय पोद्दार पक्राउ

   २०७५ साउन ६ गते काठमाडौँको गौशालाबाट फ्रान्सेली नागरिक ४२ वर्षीय क्रिस्टोफी गुलिएक्स र ३८ वर्षीय डेनिस  माथेउ पक्राउ

   २०७५ जेठ ३१ गते, काठमाडौँको ठमेलबाट नेदरल्याण्ड्स्का ६६ वर्षीय पिट हेन भान पक्राउ

   २०७४ चैत २४ गते नगरकोट र काभ्रेको सीमानाबाट क्यानडाली नागरिक पीटर जोहान पक्राउ

   २०७४ पुस १९ गते ६३ वर्षीय जर्मन नागरिक योगेन भन्ने हान्स जर्जिन काठमाडौँको भोटेबहालबाट पक्राउ

   २०७४ कात्तिक २३ गते, काठमाडौँको कोटेश्वरबाट नेदरल्यान्डस्का नागरिक ७५ वर्षीय हेनरिकस एड्रियानस जोसेफस क्रुइजसेन पक्राउ

   २०७४ भदौ २१ गते काठमाडौँको ठमेलबाट अष्ट्रियाका नागरिक मार्कस केन्डलर अर्धनग्न अवस्थामा पक्राउ, एक बालकको उद्धार

   २०७४ असार १५ गते काठमाडौँको ठमेलबाट ६३ वर्षीय जर्मन नागरिक अल्बर्ट फ्रेड किन्लेक पक्राउ

   २०७३ गत भदौ २४ गते काठमाडौँको ठमेलबाट ४८ वर्षीय अमेरिकी नागरिक केनेथ जोसेफ कम्बोस पक्राउ

 कतिपय दुराचार आरोपित त विदेश फर्किनसमेत सफल भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । फ्रान्सेली नागरिक गेराड फिलिप्पे नेपाल आएर १५ जनाभन्दा बढी बालबालिकामाथि यौन दुराचार गरेर २०१४ को मे महिनामा नेपालबाट बाहिरिसकेको अध्यागमनको तथ्याङ्कले देखाएको छ ।

नेपालमा पक्राउ परेकाहरू धेरैजसो ५० वर्ष उमेरभन्दा माथिका छन् । त्यसमाथि पनि उनीहरू धेरै जनाको डिभोर्स भइसकेको खुलेको सिआइबीले जनाएको छ । सिआइबीका डिआइजी सहकुल थापा भन्छन्, ‘यौन दुराचारसम्बन्धी क्रियाकलाप गर्नकै लागि अन्तर्राष्ट्रियरूपमै यौन दुराचारीहरू नेपाल आउने गरेको पाइएको छ ।

समाजसेवाको भेषमा बालयौन दुराचार

जानकारहरूका अनुसार सबैजसो यौन दुराचारीले समाज सेवाको बहानामा गरिब बालबालिकालाई प्रलोभनमा पारेर यौन दुराचार गर्दै आएका छन् । अधिकांश दुराचारीले पर्यटक भिसामा नेपाल आएर गरिब, कम शिक्षित र सडक बालबालिकामाथि यौन दुराचार गर्ने गरेको प्रहरीको बुझाइ छ । सिआइबीका डिआइजी थापा भन्छन्, ‘विदेशी भन्ने बित्तिकै सजिलै विश्वास गर्ने हुनाले पनि यौन दुराचारीले नेपाली बालबालिकमाथि निशाना बनाएको अनुसन्धानबाट देखिन्छ ।

बालयौन दुराचारका घटनाहरू कम गर्न र त्यस्ता घटनाबारे थाहा पाउन सरकारले सिविन नेपालजस्ता संस्थासँग सहकार्य गरेर बाल हेल्पलाइन ९१०९८० स्थापना गरेको छ । त्यस बाहेक समुदाय प्रहरी साझेदारीमार्फत पनि यस्ता घटनाबारे जनचेतना बढाउने काम गरेको जनाइएको छ ।

अनुसन्धानबाट काठमाडौँका सडक बालबालिका, उपत्यका आसपासका जिल्लाहरू धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेलगायतका बालबालिकामाथि बढी यौन दुराचार हुने गरेको छ । प्रहरीका अनुसार, नेपालमा २०६० सालतिरबाटै अमेरिका, जर्मनी, फ्रान्स र अमेरिकाका लगायतका देशका नागरिकले बालबालिकामाथि यौन दुराचार गरेका घटना रेकर्डमा छन् ।

विश्वका जुनसुकै देशका यौन दुराचारीको निशानामा नेपालका बालबालिका रहेको ग्लोबल स्टडी अन सेक्सुअल एक्सप्लोइटेसन अफ चिल्ड्रेन इन ट्राभल एण्ड टुरिजम नामक एक अध्ययन प्रतिवेदनले औँल्याएको छ ।

उक्त प्रतिवेदनले अन्य एशियाली देशका बालबालिका समेत असुरक्षित रहेको उल्लेख गरेको छ । नेपाल, कम्बोडिया, हाइटी, होण्डुरस, केन्यासहितका मुलुकमा बालबालिका यौन दुराचारीको निशानामा रहेको भन्दै यो अध्ययनले धार्मिक पर्यटकसमेत यस्तो घृणित अपराधमा संलग्न भएको जनाएको छ ।

हुन त नेपालमात्र नभएर विश्वका थुप्रै अन्य विकासोन्मुख देशमा बालयौन दुराचारको समस्या रहेको जानकारहरू बताउँछन् ।

यस्ता मुलुकमा जीवनयापन सस्तो पर्ने र प्राविधिकरूपमा पनि यस्ता मुलुक पछि रहेका कारण प्रहरी प्रशासनले आफ्ना गतिविधि सहजै पत्ता लगाउन नसक्ने हुँदा दुराचारीको रोजाइमा पर्ने गरेको पाइने जानकारहरूको बुझाइ छ ।

 यस्तो छ कानुनी प्रावधान

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २२५ अनुसार, कसैले करणीको आसयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौन सम्बन्धी अङ्ग छोएमा वा छुन लगाएमा बाल यौन दुराचार गरेको मानिन्छ । बाल यौन दुराचारको घटनामा दोषी ठहर भए तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

त्यस्तै बालबालिकालाई अप्राकृतिक मैथुन गरेमा पीडित बालबालिकाको उमेरका हिसाबले १० वर्ष देखि २० वर्षसम्म जेल सजाय हुने व्यवस्था छ ।

यही संहिताले कसुरबाट पीडित व्यक्तिलाई कसुरदारबाट मनासिब क्षतिपूर्ति भराइ दिनुपर्ने व्यवस्था समेत गरेको छ ।

बाल यौन दुराचार नियन्त्रण कसरी ?

डीआइजी थापा भन्छन, ‘विदेशी, त्यसमा पनि गोरो छाला देख्ने वित्तिकै आँखा चिम्लिएर विश्वास गर्ने प्रवृत्ति देखिन्छ । अझ ग्रामीण भेगका विपन्न परिवारका मानिसहरूमा यो समस्या झनै ठूलो छ । दुराचारीहरूले त्यही कमजोरीमा खेल्दै उनीहरूलाई सहयोग गरेको जस्तो गर्ने र दुराचार गर्ने गरेको पाइएको छ । यसको नियन्त्रणका लागि जनचेतना आवश्यक जरुरी छ ।

विशेष गरी बालयौन दुराचारका घटना घटना गुपचुप रूपमा हुने हुँदा जनचेतनाको माध्यमबाट नै यसलाई कम गर्नुपर्ने पूर्वडिआइजी हेमन्त मल्ल बताउँछन् । उनी भन्छन्, ‘पश्चिमा र अन्य विभिन्न मुलुकका विद्यालयको पाठ्यक्रममै यौन शिक्षा समावेश गरिएको पाइन्छ । त्यहाँका विद्यार्थीलाई कहाँकहाँ छुन हुन्छ, कहाँ हुँदैन भन्ने कुरा सानैदेखि सिकाइएको हुन्छ । यसबाहेक नचिनेको मान्छेसँग बोल्न हुन्छ, हुँदैन भन्ने पनि पनि उनीहरूलाई सिकाइएको हुन्छ । नेपाली समाजमा अतिथिलाई देउता मान्ने संस्कार छ ।

पूर्वडिआइजी मल्लका अनुसार जागरुकताको कमीले समस्या बढाएको छ । बालबालिकालाई स्कुलमै यस्ता विषय सिकाउनु आवश्यक देखिन्छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ९ : ५० बजे

रोहितको शतकमा भारतको जित

काठमाडौं – भारतले इङ्गल्यान्डसँगको दोस्रो एक दिवसीय खेलमा चार विकेटको

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूचीमा ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

अख्तियारले आज ३४औँ स्थापना दिवस मनाइँदै

काठमाडौं– भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि

स्पेनिस ला लिगा : १० खेलाडीमा सीमित बार्सिलोनको शानदार जित

काठमाडौं – बार्सिलोनाले स्पेनिस ला लिगाको अङ्क तालिकामा सेभियासँगको दुरीलाई

तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल