अमेरिका- अमेरिकामा कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएपछि नेपाली समुदायले सार्वजनिक कार्यक्रम स्थगित गरेका छन् ।
कोरोना संक्रमण फैलिने त्रासले अमेरिकामा रहेका नेपाली समुदायले विभिन्न सार्वजनिक कार्यक्रम स्थगित गरेका हुन् ।
एनआरएनए न्युजर्सी च्याप्टरले मार्च ९ मा आयोजना गरेको कार्यक्रम स्थगित गरेको छ । न्युजर्सी च्याप्टरले जनगणना, नेपाल भ्रमणबर्ष, महिला दिवस, अमेरिकी अध्यागमन र टीपीएस लगायतका विषयमा कार्यक्रमको आयोजना तय गरेको थियो ।
एनआरएनए न्युजर्सी च्याप्टरका सचिव कृष्णराज सुवेदीले वक्तब्य जारी गरी कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन् ।
कोरोनाका कारण ३ हजार १ सय ३७ जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमणबाट दक्षिण कोरियामा ३४, इरानमा ७७ र इटलीमा ५२ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा थप ८५१ मा संक्रमण भएपछि संक्रमितको संख्या ५ हजार १ सय ८६ पुगेको छ ।
प्रतिक्रिया