काठमाडौं– काठमाडौंको न्युरोडमा ‘कोराना भाइरसबाट जोगाउन’ मानिसको शरीरमा ‘औषधि’ पानी स्पे्र गरिएको तस्विरहरू अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् ।
ती तस्विरहरूमा व्यक्तिगत सुरक्षा कवच (पीपीई) पहिरिएका दुई जनाले मानिसलाई राखेर पूरै शरीर भिज्ने गरी रसायनहरू मिसाइएको पानी पाइपबाट छर्किएका (स्प्रे गरिरहेका) देखिन्छन् ।
तस्विरमा कोही आफ्नो बालबालिकाको आँखा छोपिदिँदै गरेका त कोही स्प्रे शरीरमा परेपछि दुवै हातले आँखा मिच्दै गरेका देखिन्छन् ।
यस्ता तस्विर शेयर गर्दै केही चिकित्सकहरूले ‘कोरोनाको नाममा मानव स्वास्थ्यमाथिको खेलबाड बन्द गरौँ !’ भनेर सामाजिक सञ्जालमा सन्देश प्रवाह गरिरहेका छन् ।
कोरोना भाइरसको जोखिमबाट बच्न विभिन्न नाकामा डिस इन्फेक्सन टलेन निर्माण गरी सवारी साधनमा स्प्रे गर्ने गर्ने काम भइरहेको छ । विभिन्न अस्पताल तथा स्थानीय तहले समेत अहिले मानिसमा कोरोना भाइरस संक्रमण रोकथाम गर्ने भन्दै शरीरमा स्प्रे गराएको देखिन्छ ।
शरीरलाई निःसंक्रमित बनाउने नाममा विभिन्न केमिकल मिसाइएको स्प्रे प्रयोग गर्नु स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरू बताउँछन् ।
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतका अनुसार निःसंक्रणका लागि प्रयोग हुने पदार्थमा सोडियम हाइड्रोक्लोराइड, क्लोरिन, लाइसो, इथानोल जस्ता रासायनिक वस्तुहरू मिसाइएको हुन्छ । उनका अनुसार यी रसायनहरूले मानिसको आँखा र छालमा प्रत्यक्षरूपमा नकारात्मक असर पार्छन् ।
‘डिस इफेन्सन स्प्रेमा प्रयोग हुने केमिकलहरूले हाम्रो आँखा र छालालाई असर गर्छ, यसले आँखाको झिल्लीलाई असर गर्छ, आँखाको नानीमा घाउ बनाउन सक्छ, आँखाको बाहिरी भागको छालामा एलर्जी गराउन सक्छ,’ डा रुइतले खबरहबसँग भने, ‘आँखाको नानीमा घाउ भएमा उपचार गर्न गाह्रो हुन्छ, अहिले मान्छेमा स्प्रे गरिएको छ, यो ठिक होइन । यस्तो स्प्रेले मान्छेलाई कोरोनामुक्त गराउँदैन ।’
डा. रुइतका अनुसार कोरोना भाइरस मानिसको शरीरभित्र र इम्युनिटी सिस्टममा रहेको हुन्छ । बाहिरी शरीरमा रासायनिक वस्तु छर्किंदा यसले शरीरलाई बेफाइदा हुने भएकले त्यस्तो काम बन्द हुनुपर्ने डा. रुइत बताउँछन् ।
‘मान्छेलाई स्प्रे गर्नुको कुनै अर्थ छैन,’ डा रुइतले खबरहबसँग भने, ‘कोरोना भाइरस मानिसको शरीरभित्र हुन्छ, इम्युनिटी सिस्टममा हुन्छ, बाहिर स्प्रे गरेर शरीरभित्रको कोरोना भाइरस नष्ट हुँदैन ।’
कोरोना संक्रमित क्षेत्रमा भवन तथा वस्तुहरूमा स्प्रे गर्नु उपयुक्त हुने डा. रुइत बताउँछन् । उनले भने, ‘संक्रमण देखिएका क्षेत्रमा भवन, घरका सिँढीहरूमा, भुइँमा, लिफ्टमा स्प्रे गर्न सकिन्छ, मान्छेको शरीरमा गर्नु हुँदैन ।’
वीर अस्पतालका छातीरोग विशेषज्ञ डा. अशेष ढुंगाना पनि निःसंक्रमण स्प्रेले श्वासप्रश्वासमा समस्या निम्तिन सक्ने बताउँछन् । निःसंक्रमण स्पे्रे कोरोना भाइरस नष्ट गर्छ भनेर कुनै अध्ययनले पुष्टि नगरेकाले शरीरमा प्रयोग गर्न नहुने डा. ढुंगानाको तर्क छ ।
‘स्प्रेमा मिसाइएको केमिकलअनुसार असर पर्ने वा नपर्ने भर पर्छ, ह्यान्ड स्यानिटाइजर हातमा लगाउने हो, पूरै शरीरमा स्प्रे गर्दा आँखा र नाकमुखमा पर्यो भने असर गर्छ, श्वासप्रश्वासबाट फोक्सोमा पुग्यो भने फोक्सोलाई असर गर्छ,’ डा ढुंगानाले भने, ‘शरीरमा डिस इन्फेक्सन स्प्रे गर्दा कोरोनाबाट बचाउँछ भनेर कहीँ पनि लेखिएको छैन, यसरी प्रयोग गर्नु राम्रो होइन ।’
वरिष्ठ छाला रोग विशेषज्ञ डा. धर्मेन्द्र कर्ण पनि निःसंक्रमण स्प्रे निर्जीव वस्तुका लागि मात्र हुने बताउँछन् ।
‘डिस इन्फेक्टेड स्प्रे पनि विभिन्न किसिमका हुन्छन्, अस्पतलमा भएका उपकरण र कपडा निर्मलीकरण गरी किटाणुरहित बनाउन डिस इन्फेक्सन स्प्रे गरिन्छ,’ डा. कर्ण भन्छन्, ‘यसमा अल्कोहल, क्लोरिन, सोडियम हाइड्रोक्लोराइड लगायतका केमिकलहरू प्रयोग गरिएको हुन्छ, यो मानव शरीरका लागि होइन ।’
शरीरलाई निःसंक्रमण बनाउन शरीर भिज्नेगरी स्प्रे गर्न नहुने डा. कर्ण बताउँछन् । ‘अहिले डिस इफेन्सन टलेन बनाएर मानिसहरू त्यसमा भिजेको देखिन्छ, त्यस्तो गर्ने होइन,’ डा. कर्णले भने, ‘आफूले प्रयोग गरेका निर्जीव वस्तुहरू, जुत्ता, कपडा आदिमा प्रयोग गर्न सकिन्छ ।’
शरीरमा डिस इन्फेक्सन स्प्रे छर्किएर मानिसहरू आवश्यक सचेत नहुँदा झनै रोगको खतरा हुने डा. कर्ण बताउँछन् ।
‘मानिसहरू डिस इन्फेक्सन स्प्रेमा भिजेर मलाई कोरोना सर्दैन भनेर ढुक्क भए भने उनीहरूले कोरोनाबाट बच्ने अरू उपाय बिर्सिन्छन्,’ डा कर्ण भन्छन्, ‘कोरोना भाइरसबाट बच्न साबुनपानीले मिचीमिची हात धुनुपर्छ । स्प्रेले छाला, आँखा र फोक्सोमा असर पुर्याउँछ ।’
डा. कर्णका केमिकल मिसाइएको डिस इन्फेक्सन स्प्रेले छाला सुक्खा बनाउने, छालामा फोका आउने र एलर्जी हुने समस्या हुनसक्छ । ओठमुख, र नाकमा घाउ हुने, नाकमा एलर्जी हुने, घाँटी दुख्ने र दम बढ्ने समस्या हुनसक्ने उनले बताए ।
कोरोना भाइरसको उपचारका लागि हब अस्पताल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा समेत डिस इन्फेक्सन टनेल बनाइएको थियो । अहिले अस्पतालले उक्त टनेल प्रयोग गरेको छैन ।
अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार पनि केमिकल मिसाइएको डिस इन्फेक्सन स्प्रे शरीरमा प्रयोग गर्नु राम्रो होइन । ‘स्प्रेमा के के मिसाइएको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । इथानोल भन्ने केमिकल भएको स्प्रे संक्रमित भएको क्षेत्रमा वा संक्रमितको सम्पर्कमा रहेका चिकित्सकहरूको कपडामा प्रयोग गरिन्छ,’ डा. राजभण्डारीले भने, ‘संक्रमण फैलिएको देशबाट ल्याइएका सामग्रीमा क्लोरिन प्रयोग गरिन्छ तर अहिले टोलटोलमा सेतो पाउडर नै स्प्रे गरिएको छ, यो ठिक होइन ।’
डा. राजभण्डारीका अनुसार यस्तो स्प्रे संक्रमण फैलिएको क्षेत्रमा मात्र प्रयोग गर्नु उपयुक्त हुन्छ ।
‘अहिले त जहाँ प्रयोग गर्नुपर्ने हो त्यहाँ भएको छैन, टोलटोलमा स्प्रे गरिएको छ,,’ डा. राजभण्डारी भन्छन्, ‘टनेलमा स्प्रे गरेर मानिसहरू म सुरक्षित भएँ भनेर खुसी हुन्छन् र अन्य सावधानी नपअनाएर संक्रमण फैलिने खतरा हुन्छ । मानिसका यस्तो स्प्रेको कुनै उपयोगिता छैन ।’
प्रतिक्रिया