विज्ञहरू भन्छन् : नेपालमा कोरोना संक्रमण र मृत्यु बढ्न सक्छ, तयारी राम्रो देखिएन | Khabarhub Khabarhub

विज्ञहरू भन्छन् : नेपालमा कोरोना संक्रमण र मृत्यु बढ्न सक्छ, तयारी राम्रो देखिएन


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । एक सतायता दैनिक दुई सय जना हाराहारीमा संक्रमण देखिन थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा हालसम्म २३ सय जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । जसमध्ये बुधबार एकै दिन २०१ जना नयाँ संक्रमित थपिए । हालसम्म कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा कोरोना संक्रमति बढ्दै जाँदा विज्ञ चिकित्सक तथा जनस्वास्थ्यविज्ञले संक्रमतिको संख्या अझै बढ्न सक्ने बताएका छन् । संक्रमतिको मृत्युदर पनि बढ्न सक्ने उनीहरूको भनाइ छ । सरकारले कोरोना नियन्त्रण गर्न नसकेको टिप्पणी पनि उनीहरूको छ ।

आगामी दिनमा नेपालमा कोरोना संक्रमणको अवस्था कस्तो होला ? कोरोना नियन्त्रण गर्न सरकारको प्रयास कस्तो देखिन्छ ? यस्तै जिज्ञासाको सेरोफेरोमा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन र भाइरोलोजिष्ट डा. सुदीप खड्कासँग कराकानी गरेका छौँ ।

डा. शेरबहादुर पुन (सरुवारोग विशेषज्ञ)

सरकारले कोरोना संक्रमण फैलिन नदिन लकडाउन गरेको छ । लकडाउनको उद्देश्य कोरोना संक्रमण नफैलियोस् भन्ने नै हो तर सरकारको योजना विपरीत संक्रमितको संख्या बढ्दै गएको छ ।

सरकारले अहिले परीक्षणको दायरा बढाएकोले पनि संक्रमित धेरै देखिएका हुनसक्छन् ।

लकडाउन गरेअनुसार त संक्रमितको संख्या कम देखिनुपर्ने हो । यो अवस्था हेर्दा लकडाउनबाट कोरोना नियन्त्रणमा कतै चुकिरहेको देखाउँछ ।

व्यवस्थापनको कमजोरीले पनि यो अवस्था भएको हो । सरकारले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोना परीक्षण सुरु गर्दा नै हामीले भारतसँगका खुला सीमा नाकाहरूलाई पनि व्यवस्थित गर्नुपर्छ भनेका थियौँ ।

अहिले भारतसँगको सीमा नाकाबाट धेरै मासिनहरू आए । उनीहरूमा नै कोरोना संक्रमण धरै देखिएको छ । सरकारले हिजो सीमा नाकाबाट आउनसक्ने नेपालीबारे आकलन नै गरेन वा व्यवस्थापन गर्न सकेन । त्यसको परिणाम अहिले देखिएको छ ।

भारतबाट आउने क्रम जारी रहेकाले नेपालमा कोरोना संक्रमतिहरू अझै बढ्न सक्ने देखिन्छ । भारतमा लकडाउन खुकुलो भएको भन्ने सुनिन्छ, जसले गर्दा नेपालीहरू अझै आउने क्रम बढ्छ । कोरोना संक्रमितको संख्या बढ्छ ।

सरकारले अझै पनि कमजोरी पत्ता लगाएर सुधार्न जरुरी छ । कोरोना नियन्त्रणको लागि गर्ने निर्णयहरू भोलिका लागि साँच्नु हुँदैन । तत्काल कार्यान्वयन गर्नुपर्छ । भारतबाट आउने नेपालीहरूको व्यवस्थापन गर्न सक्नुपर्छ । अहिले क्वारेन्टाइन स्थलहरू व्यवस्थित छैनन् । भारतबाट आउनेलाई पीसीआर परीक्षण गरेर संक्रमित र संक्रमण नभएकालाई छुट्टा छुट्टै व्यवस्थापन गर्नुपर्छ ।

संक्रमण नदेखिएकालाई स्थानीय तहको क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुपर्छ । नेपालमा अहिले लक्षणविहीन कोरोना देखिएको छ । सीमानामा ज्वरो हेरेरमात्रै पुग्दैन । लक्षणविहीन संक्रमित देखिएको अवस्थामा ज्वरो छैन भनेर ढुक्क हुने अवस्था छैन ।

नेपालमा कोरोना संक्रमितको मृत्युदर कम नै छ तर लक्षणविहीन संक्रमितहरू भेटिएका छन् । संक्रमितहरूमा कडा समस्या देखिएको छैन । लक्षण नदेखिँदैमा सरकार ढुक्क भएर बस्न मिल्दैन । नेपालमा साइलेन्ट कोरोना देखिएको छ । सरकारले यसको पनि पूर्वतयारी गर्नुपर्छ, सावधान रहनुपर्छ ।

लक्षण नभएकाले पनि अरूलाई सार्न सक्छन् । त्यसैले कोरोना संक्रमितको संख्या आगामी दिनमा झन् बढ्न सक्छ । सरकारले अहिलेको संक्रमण दर हेरेर नयाँ रणनीतिका साथ भोलिको पूर्वतयारीमा लाग्नुपर्छ ।

डा . सुदीप खड्का (भाइरोलोजष्टि)

नेपालमा अहिले भेटिएका संक्रमितको उमेर समूह हेर्दा संक्रमितको संख्याको आधारमा कम्तिमा २ प्रतिशत र बढीमा ५ प्रतिशतको मृत्यु हुने सम्भावना थियो ।

अहिले पनि कोरोना संक्रमण बढिरहेको छ र यो सुरुवाती चरण नै हो । उमेर समूहको तथ्यांक हेर्दा अघिकांश संक्रमित २० देखि ४० वर्ष उमेर भित्रका छन् । साठी वर्षभन्दा बढी उमेरका संक्रमितहरू कम छन् ।

यस्तो अवस्थामा मृत्युदर अधिकतम एक प्रतिशत हुन्छ । त्यसैले अहिले नेपालमा मृत्युदर कम देखिएको हो । अहिले भेटिएका अधिकांश संक्रमितहरू विदेश तथा छिमेकी मुलुक भारतबाट आएका छन् ।

संक्रमतिहरूले वृद्धवृद्धालाई रोग सार्न सक्छन् । यो क्रम अब सुरु हुने देखिन्छ । त्यसैले, अबका दिनमा कोरोना संक्रमितसँगै मृत्युदर पनि बढ्न सक्ने देखिन्छ । उमेरअनुसार कोरोना संक्रमतिको मृत्युदर हुन्छ । साठी वर्षभन्दा माथिका व्यक्तिमा कोरोना संक्रमण देखिन थालेमा कम्तीमा पनि २ प्रतिशत मृत्यु हुनसक्छ र २० प्रतिशतसम्म पुग्न सक्छ ।

कोरोना परीक्षणको संख्या अहिले नराम्रो त होइन तर गर्नुपर्ने ठाउँमा नगरेर आवश्यक नभएको ठाउँमा परीक्षण भइरहेको देखिन्छ । मृत्यु भइसकेका व्यक्तिहरूको समेत ढिलो रिपोर्ट आएको पाइएको छ ।

कुनै व्यक्तिलाई क्वारेन्टाइनमा राखेको पहिलो वा दोस्रो दिनमा स्वाब संकलन गरेर छिटो नजिता निकाल्नुपर्छ । यसो गर्दा क्वारेन्टाइनमा रहेका संक्रमित र संक्रमण नभएका व्यक्ति छुट्याउन सकिन्छ । छिटो परीक्षण नहुने हो भने क्वारेन्टाइनमा राखेको अर्थ हुँदैन ।

नेपालमा क्वारेन्टाइन स्थलहरूमा मापदण्ड पुगेको छैन । सरकारले नै बनाएका क्वारेन्टाइन मापदण्डअनुसार छैनन् । यो तीन महिनामा जनस्वास्थ्यविज्ञहरूले क्वारेन्टाइन अनुगमन गर्नुपर्ने हुन्थ्यो ।

जनस्वास्थ्यविज्ञ, डाक्टर नर्सहरूले क्वारेन्टाइन स्थलको अनुगमन गरेर गुणस्तर र क्षमताअनुसार छुट्टाउनु पर्छ । अहिले वडा अध्यक्ष र प्रधानाध्यापकले निगरानी गरेको भरमा क्वारेन्टाइन स्थल बनाउँदा त्यहीँबाट कोरोना संक्रमण फैलिएको देखिन्छ । क्वारेन्टाइन नै कोरोना सार्ने ठाउँ भएका छन् ।

एकै ठाउँमा धेरै मान्छेहरू राखिदिँदा एक–दुई जना संक्रमितबाट सबैलाई सर्ने सम्भावना हुन्छ । बरु सरकारले घरमै क्वारेन्टाइन बस्ने नीति लिएको भए हुने थियो ।

सरकारी क्वारेन्टाइनले मात्र धान्ने अवस्था छैन । सरकारले अब घरमै क्वारेन्टाइन व्यवस्थापन गर्न प्रोत्साहन गर्नुपर्छ । घरभित्र संक्रमण फैलिन नदिने गरी घरमै क्वारेन्टाइन बनाउन सकिन्छ ।

अझै पनि स्वास्थ्यसंस्थामा रहेका स्वास्थ्यकर्मीहरूको लागि तालिम पुगेको छैन । स्वास्थ्यकर्मीलाई पीपीई प्रयोग गर्ने तरिका तथा संक्रमितको हेरचारको तालिम दिन जरुरी छ ।

आरडीटी परीक्षणले वास्तविक संक्रमितको पहिचान गर्न सक्दैन । संक्रमित पत्ता लगाउन पीसीआर परीक्षण नै गर्नुपर्ने हुन्छ । अहिले पीसीआर परीक्षणको रिपोर्ट आउन पनि एकसाता कुर्नुपर्ने देखिएको छ ।

लडकाउन सबै समाधान होइन । लकडाउनले संक्रमण फैलिन कम हुन्छ तर कलडाउनको समयमा गर्नुपर्ने तयारी गरेको पाइएन । लकडाउन भएको तीन महिना हुन लाग्यो तर क्वारेन्टाइन स्थलको अवस्था नाजुक छ । एम्बुलेन्स छैन, स्वास्थ्य सामग्रीको अभाव छ । यस्तो अवस्थाले सरकारले राम्रो तयारी नगरेको देखाउँछ ।

नेपालमा मार्च २४ देखि संक्रमितको दर बढेको देखिन्छ । हामीले त्यतिबेला पनि भनेका थियौँ, बिस्तारै मृत्युदर बढ्न सक्छ । नेपालमा मे १८ देखि कोरोना संक्रमतिको मृत्यु हुन थालेको देखिन्छ । सरकारले लकडाउन बढाइरहे पनि संक्रमितको संख्या बढ्छ ।

मानिसहरू लकडाउनबाट आजित भएका छन् । भारतमा रहेका नेपालीहरू पनि स्वदेश फर्किने क्रम चलिरहने छ । दुई–तीन सातापछि संक्रमित अझै बढ्ने र मृत्यु पनि बढ्न सक्ने देखिन्छ ।

लकडाउनका कारणले अत्यावश्यक सेवा नपाएर सुत्केरी, नवजात शिशु र अन्य रोगीहरू मर्ने क्रम बढ्न सक्ने देखिन्छ । सुत्केरी र दीर्घरोगीहरूको स्वास्थ्य रक्षाबारे सरकारले तयारी गरेको देखिँदैन । नियमित स्वास्थ्य सेवा नपाएर मृत्युदर बढ्ने सम्भावना पनि देखिन्छ । डेंगु देखिन थालेको छ । कोरोना कोरोना भन्दाभन्दै सरकारले अन्य उपचार बिर्सेको देखिएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ३ : २४ बजे

बंगलादेशमा धार्मिक र साम्प्रदायिक अल्पसङ्ख्यकमाथि आक्रमण जारी

काठमाडौं – गत अगस्टको पहिलो साता सत्ता परिवर्तन भएसँगै बंगलादेशमा

बीमा बापतको रकम प्राप्त नहुँदा अस्पतालको सेवा बन्द

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरअस्पतालमा बीमा

लेबनानमा हिजबुल्लाहका गढहरूमा इजरायली आक्रमणमा १८२ जनाको मृत्यु

बेरुत – लेबनानमा हिजबुल्लाहका गढहरूमा सोमबार गरिएको इजरायली हवाई आक्रमणमा

मेलम्ची भ्रष्टाचार प्रकरण : ४ जनालाई ८ वर्ष कैद र करोडौं जरिवाना

काठमाडौं – विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा

एअर इण्डियाले अस्ट्रेलियाको ब्रिसबेनमा हवाइ सेवा विस्तार गर्ने

काठमाडौं – भारतीय ध्वजावाहक हवाइ सेवा कम्पनी एअर इण्डियाका प्रमुख