सात वर्षपछि ठूलै धमाका गरेर सलमान खानको फिल्म ‘दबंग ३’ रिलिज गरियो । सलमानलाई विश्वास थियो कि, यो फिल्म पनि अघिल्लो सिरिज झैँ धमाकेदार बन्नेछ ।
जुन चुलबुल पाण्डेले सलमानलाई थप उचाइमा पुर्यायो, त्यही चुलबुलले फेरि आफूलाई गिराउने उनले सोचेका पनि थिएनन् ।
क्रिसमसको अवसर पारेर रिलिज गरिएको फिल्मले पहिलो दिन नै आशा गरिएअनुरुप व्यापार गर्न सकेन । सलमानका फ्यानलाई पनि यो फिल्म खासै मन परेन ।
आखिर दर्शकलाई फिल्म किन मन परेन त?
कारण १: दोहोरिएको कथा
‘दबंग ३’ हेर्दा यस्तो लाग्दैन कि, यो कुनै नयाँ फिल्म हो । कथा त घिसीपिटी थियो नि, फिल्मको प्रस्तुतीकरण पनि बासी छ । उही चुलबुलको हर्कत, केही पुराना संवाद, चश्मावाला स्टाइल, मुन्नावाला गीत सबै पहिलेका फिल्मका कुनै दृश्यझैँ लाग्छन् ।
यसअघिका दुई भाग हेरिसकेका दर्शकलाई यो फिल्म हेर्दा खासै फ्रेस हुँदैन । पुरानो सामानलाई नै नयाँ प्याकिङ गरेको जस्तो फिल्ममा छ ।
कारण २: चुलबुलको चर्तिकला
चुलबुलको चुलबुलेपन पहिलो र दोस्रो भागमा दर्शकलाई भलै किन मन नपरेको होस्, तेस्रो भागमा आउँदा चुलबुल पाण्डेको क्यारेक्टर उस्तै हुन्छ । उसै गरी दर्शक हँसाउन खोज्छ । दुई भागमा हेरिसकेपछि दर्शकले पनि चुलबुलमा केही नयाँपन चाहन्छन् । दर्शकलाई उही चुलबुल र उही कथावाचन मन परेन ।
कारण ३: हतारमा बनाइएको फिल्म
फिल्मकर्मीले फिल्मलाई भन्दा पनि फिल्मको रिलिज मितिमा बढी ध्यान दिन थालेका छन् । पहिले फिल्मको मिति सार्वजनिक गर्ने र त्यही डेटमा रिलिज गर्ने गरी फिल्मको सबै काम सक्ने गर्छन् ।
फिल्मका कैयन् दृश्य हेर्दा यस्तो लाग्छ, दबंग ३ पनि यसैगरी हतारमा नै बनाइएको थियो । न फिल्मको कहानीमा दम छ, न त स्किृप्ट नै ढंग दिएर लेखिएको छ । यता फिल्मको संगीत पनि उस्तै कमजोर देखिन्छ ।
कारण ४: कमजोर द्वन्द्व
दबंग सिरिजको कहानी सीधै हिरो र भिलेनको कहानीमा आधारित छ । यसअघि दबंग र दबंग २ मा सलमानले सीधै भिलेनसँग टक्कर लिएका थिए । तर, दबंग ३ मा सुदीपलाई खतरनाक भिलेन बनाउनमा निर्माण टिम चुकेको छ । सुदीपले अभिनय त दमदार गरेका छन् तर हिरो र भिलेनको टक्कर भने दर्शकलाई मजा दिने खालको छैन ।
कारण ५: निर्देशकको कमजोरी
फिल्मको निर्देशक प्रभु देवाले गरेका हुन् । तर उनले निर्देशनमा यसपटक खासै कमाल देखाउन सकेका छैनन् । उनले आफ्नो दर्शकलाई पनि खुशी बनाउन सकेनन् । निर्देशकलाई फिल्मको कप्तान भनिन्छ । तर फिल्ममा प्रभु देवाले चित्तबुझ्दो काम दिन सकेका छैनन् ।
प्रतिक्रिया