नाच्दै पढाउँदै छौ कि नीतिसर ! | Khabarhub Khabarhub

नाच्दै पढाउँदै छौ कि नीतिसर !



दुई दिन खोजेँ, न डायरी भेटिन्छ न आवाजको रेकर्ड । सजिलै भेटयोस् पनि किन ! आठ वर्ष नाघिसकेछ ! रेकर्ड त थाहै नपाई मेटिसकियो । डायरी चैँ कतै न कतै छ । कुनै दिन अवश्य भेटिएला ।

चैतको धुपमा घाम ओझेल पर्दै गएपछि एउटा सानो झोलामा डायरी, क्यामेरा र रेकर्डर हालेर साइकलमा दाम्राभिटातिर हानिएको थिएँ, नीतिसरसँग कुरा गर्न ।

म पुग्दा नीतिसर घरमै थिए । मलाई देखेर हर्ष माने । आफू आउनुको उद्देश्य बताउँदा नीतिसरको मुहारमा एउटा आभा चम्केको देखेँ । चैत अन्तिमतिर मधेशको गर्मीअनुसारको लुगा लगाएका थिए नीतिसरले । फोटो पनि खिच्न चाहेको बताएपछि उनले खैरो रङको अर्को कमिज लगाए ।

कुरा सकिँदा साँझ पर्‍यो । नीतिसरले यतै बसौँ भनेर ढिपी गरे । म भोलिपल्टै काठमाडौँ जाने भएकाले ढिपीको सम्मान गर्न सकिनँ । साँझ झमक्क हुँदा साइकल चढेर बाटो लागेँ ।

भोलि भन्दाभन्दै मैले लेखिनँ । वर्ष दिन बित्दा पनि लेखिनँ । नलेख्नुको कारण केही होइन । खालि भोलिवाद ! हुँदाहुँदा एक दिन अचानक नीतिसरको निधन भएको खबर आयो । मेरा लागि अप्रत्याशित खबर थियो, बिरामी भएको सुनेकै थिइनँ । खङ्ग्रङ्ग भएँ, छाँगाबाट खसेँ ।

मैले नीतिसरलाई ढाँट्नुसम्म ढाँटेँ । नीतिसरको संक्षिप्त जीवनवृत्त उनको जीवनकालमै लेख्ने मेरो धोको मेरै भोलिवादको सिकार भयो । आफ्नो धोको र वचन ठिक समयमा पूरा गर्न नसकेर पश्चातापको भुमरीमा परेँ ।

आज त्यही ढाँटवृत्तिवापत यो प्रायश्चित्त गर्दैछु ।

नीतिसरले पूर्वी पहाडी जिल्ला तेह्रथुमको सक्रान्ति बजारस्थित त्रिमोहन हाइस्कूलबाट २०१८ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरे । परीक्षा केन्द्र थियो धरानमा । एसएलसी उत्तीर्ण भएको खबरले उनको गाउँ लिङदेनमा हर्षबढाइँ भयो । श्रेणीको कुरै थिएन, उत्तीर्ण हुनु नै विजयप्राप्ति थियो त्यो समयमा ।

पाहाडबाट मधेशतिर बसाइँ सर्ने लहर थियो । नीतिसरका बुबा धातृभक्तले झापाको बुधबारेमा खेती जोडेका थिए । पाहाड छोडिसकेका थिएनन् । परिवार दुईतिर थियो । नीतिसर पनि बुबासँगै बुधबारे झरे ।

उच्च शिक्षा सोचे कि सोचेनन् थाहा भएन तर कुन लहडले हो नीतिसर रुड्की पुगेछन् । केही वर्षजसो त्यतै जागिरे भएछन् । एकपटक त हिन्दीमा चिठी लेखेर पठाएका थिए रे !

२०२४ सालमा नीतिसरका बुबा बुधबारेबाट मोरङको मध्य दक्षिणी गाउँ इटहरा सरे । नीति सर पनि रुड्की छाडेर आए । त्यो बेलाको दक्षिण मोरङमा शिक्षाको के चेतना हुनु र ! जङ्गलामुलुक थियो । मधेशका रैथाने बासिन्दाको बाहुल्य थियो । पाहाडबाट बसाइँ सरेर आउन थालेका पर्वतेहरू फाटफुट थिए ।

पर्वहरू को संख्या बढ्दै गएपछि उनीहरू ले २०२६ सालमा इटहरामा एउटा स्कूल खोल्ने सल्लाह गरे । जङ्गल छँदै थियो । गाउँलेहरू मिलेर काठै काठको एउटा कटेरो हाले, कोठा बारे र स्कूलजस्तो बनाए । विद्यालय सञ्चालक समिति पनि गठन गरे । विद्यालयको नाम रोजियो, सरस्वती ।

सबैभन्दा पहिला त पढाउने शिक्षक चाहियो । धातृभक्त दवाडीका छोरा नीतिरमण दवाडीले एसएलसी गरेका थिए । उनैलाई हेडमास्टर बनाएर नियुक्ति दिए । एक जनाले मात्रै त भएन । अर्का एकजना रैथाने फेला परे, बाबुराम मर्डी । दुई जना शिक्षक भए ।

नीतिसरका छोरा रोहिणीरमणबाट प्राप्त तस्वीर

शिक्षाप्रेमी अगुवाहरू र दुई जना शिक्षक गाउँ घुमेर शिक्षाको महत्व बुझाउँदै विद्यार्थी जम्मा गरे । पहिलो वर्ष नै झण्डै सय जना जम्मा भए । पढाइ सुरु भयो । विद्यार्थी सङ्ख्याअनुसार शिक्षक पुगेन तर कहाँ पाउनु त्यति सजिलै ! सयजना विद्यार्थी जम्मा हुँदा पर्वते दुई जना थिए अरे !

नीतिसरले पाहाडमा आठ कक्षा पूरा गरेकी आफ्नी बहिनी सीतालाई बोलाए । सीता पुसमा आइन् । सञ्चालक समितिले उनलाई तुरुन्तै नियुक्ति दियो । सुरुमा त सीता छक्कै परिन् । आफूभन्दा ठूला विद्यार्थीलाई कसरी पठाउनु ! बिस्तारै बानी पर्‍यो । सयजना जति विद्यार्थीका लागि तीन जना शिक्षक भए ।

म २०३३ सालमा चार कक्षा पढ्न सरस्वती निमाविमा भर्ना हुँदा नीतिसर नै हेडसर थिए । सीतामिस पनि थिइन् । नीतिसर हेडरसरमात्र थिएनन् स्कूलका गौरव थिए । सिङ्गो गाउँमा सम्मानित थिए । मैले नीतिसरसँग पढ्न नपाउँदै उनी आइएड पढ्न गए । शायद उनले सेवाकालीन अध्ययनको सुविधा पाएका थिए ।

स्कूलमा ठूलो बिदाइ समारोह भयो । सारा विद्यार्थीका आँखा रसाए । म पनि त्यसमै मिसिएँ । नीतिसरले आफू पढ्न जान लागेको हुँ, स्कूल छोडेको होइन, तिमीहरू लाई पढाउन आइहाल्छु भनेर सम्झाए । हामी अलिक खुसी भयौँ ।

नीतिसर फर्केर आउँदा म छ कक्षामा पुगेको थिएँ । उनले अङ्ग्रेजी पढाउन सुरु गरे । अर्को महिनापछि पूर्वव्यावसायिक शिक्षा पनि उनैले पढाउन थाले ।

आज पर्यन्त म नीतिसरले कक्षा छ र सातमा हालिदिएको अङ्ग्रेजी विषयको जगकै भरमा अडेको छु । म आफ्नो नामको स्पेलिङ ‘जि ओ बि आइ एन डि ए’ लेख्थेँ, त्यस्तै सिकाइएको थियो । ‘बि’ को साटो ‘भि’ लेख्न नीतिसरले नै सिकाएका हुन् । उनले लेखाएको नोट धेरै वर्षसम्म जोगाएर राखेको थिएँ । काठमाडौँ नै लगेको थिएँ । डेरा सरिरहने क्रममा कतै बेपत्ता भयो ।

पूर्वव्यावसायिक शिक्षा पढाउँदा उनले टाँकघर बुन्न सिकाए । रुमालको घेरो टिप्न, साङ्लीबुटा र फूलबुटा भर्न सिकाए । सियोले सिएको नै मेसिनको जस्तो बनाउने सिप सिकाए । ऊनी धागो र काँटा किन्न लगाएर टोपी बुन्न सिकाए । मैले आफैँले ऊनीको टोपी बुनेर लगाएँ । म आजसम्म पनि घरमा तुन्नेबुन्ने काममा सिपालु मानिन्छु ।

आठ कक्षामा पुगेपछि नीतिसरले पञ्चायत पढाए । नौ कक्षामा शिक्षा पढाए । शिक्षा व्यावसायिक विषय थियो । आधा वर्षपछि शिक्षाका अर्का सर आए । नीतिसरले आइएड पढेका थिए र निम्न माध्यमिक शिक्षक थिए । स्कूल आठ कक्षा पुगेपछि नीतिसर हेडसर रहेनन् । उनको मान चाहिँ हेडसरभन्दा माथि थियो ।

बोलीचालीमा पढाउने भने पनि साँचो अर्थमा नीतिसर पढाउँदैन थिए । उनी आफूलाई विद्यार्थीमा विलीन गर्थे र हृदयबाटै सिकाउँथे । शिक्षणसिकाइ गतिविधिमा कति गहिरिन्थे भने उनी कक्षामा नाचेका जस्ता देखिन्थे, खासमा नाच्थे नै । नाच्दै पढाउँथे । उनले पढाएको देखेर मैले पनि विद्यालयको शिक्षक हुने र हेडसर हुने सपना दखेको थिएँ । नीतिसरले जस्तै नाच्दै पढाउने सपना देख्थे ।

म यसो सोच्छु, स्वर्गमा पनि नीतिसर त्यही हँसिलो मुहारमा नाच्दै पढाउँदै होलान् ।

नीतिसरको मुहारमा सधैँ एउटा कान्ति हुन्थ्यो, परैबाट टल्किने । मिलेको जिउडाल, चिटिक्क मिलाएर लगाएका लुगा, पछाडि फर्काएर कोरेको सलक्क कपाल, एकसुरको लचकदार हिँडाइ र दैनिक दाह्री खौरिएको कान्तियुक्त हँसिलो मुहार । नीतिरसको बाहिर देखिने व्यक्तित्व यही थियो ।

नीतिसरको भौतिक शरीर पञ्चमहाभूतमा विलीन भइसके पनि उनी उनका हजारौँ विद्यार्थीका मनमष्तिष्कमा जीवित छन् । सरस्वती माध्यमिक विद्यालयको इतिहासमा नीतिसर सधैँ जाज्वल्यमान छन् । पाँच दशकभन्दा अघि मोरङको त्यो झण्डै पल्लो छेउमा शिक्षाको जग बसाउनु सजिलो काम थिएन । नीतिसरले सहजै त्यो जिम्मेवारी पूरा गरे ।

नीतिसरको आत्मामा प्रेमको बास थियो । शायद प्रेमबाहेक उनले अर्को केही जानेका थिएनन् । उनले कहिल्यै कुनै विद्यार्थीलाई तँ भनेन् । उनी नानी, बाबु र तिमीमात्रै भन्न जान्दथे । शायद नीतिसरको शब्दकोशमा तँ छँदै थिएन । विद्यार्थीलाई मायाले बोलाउने उनको अद्वितीय कला थियो । नीतिसरसँग सबै विद्यार्थी डराउँथे र कोही पनि विद्यार्थी डराउँदैन थिए । म पनि डराउँथेँ तर कहिल्यै डर लाग्दैन थियो ।

नीतिसर चिटिक्क परेका अक्षर लेख्थे, नेपाली र अङ्ग्रेजी दुवै । उनले लेखेका अक्षर म पढ्दासम्म स्कूलका भित्तामा थिए । म नीतिसरका अक्षरमा साह्रै लोभिन्थेँ र त्यस्तै लेख्ने प्रयास गर्थें । अङ्ग्रेजी त उनले जत्तिको राम्रो लेख्न सकिनँ तर नेपालीचाहिँ चित्तबुझ्दो बनाउन सकेँ । आधुनिक प्रविधिको विकाससँगै मैले कम्युटरमा लेख्न थालेको पन्ध्र वर्ष पूरा भएको छ तर पनि नेपाली अक्षरमा मेरो लेखाइ खस्केको छैन ।

साँच्चै, नीतिसर शिक्षक हुनै जन्मेका थिए । आजीवन पढाए । आफ्ना विद्यार्थीलाई किताबमात्रै पढाएनन् नीति सिकाए । जीवन र जगत बुझाए । शिक्षण सेवामा रहँदा अनेक हण्डर खाए । राजनीतिक आस्थाको कोपभाजनमा पनि परे । जति हण्डर र ठक्कर खाए पनि नीतिसरले हरेस खाएनन् ।

नीतिसरले संस्थापक प्रधान अध्यापकका रूपमा एउटा कटेरोबाट जग हालेको सरस्वती स्कूल कक्षा चढ्दै चढ्दै सरस्वती माध्यमिक विद्यालय भएर २०३८ सालमा पहिलोपटक एसएलसी परीक्षामा सहभागी भयो । समयको वहावसँगै बाह्र कक्षासम्म पढाइ हुन थाल्यो । आज ठूलो परिसरमा भव्य भवनहरू सहितको सरस्वती माध्यमिक विद्यालय छ ।

नीतिसरको भौतिक शरीर पञ्चमहाभूतमा विलीन भइसके पनि उनी उनका हजारौँ विद्यार्थीका मनमष्तिष्कमा जीवित छन् । सरस्वती माध्यमिक विद्यालयको इतिहासमा नीतिसर सधैँ जाज्वल्यमान छन् । पाँच दशकभन्दा अघि मोरङको त्यो झण्डै पल्लो छेउमा शिक्षाको जग बसाउनु सजिलो काम थिएन । नीतिसरले सहजै त्यो जिम्मेवारी पूरा गरे ।

नीतिसर मेरा सम्मानित र प्रिय शिक्षक त हुँदै हुन् र मेरा भानिजदाजु पनि हुन्, मेरा बुबाका भानिज । यो पारिवारिक सम्बन्धले पनि होला, मभित्र नीतिसरको सम्मान सगरमाथा जत्तिकै अग्लो छ । ‘गोविन्दबाबु !’ भनेर उनले बोलाएको आवाज आज पनि मेरो कानमा उत्तिकै टड्कारो छ, जतिबेला म स्कूलको विद्यार्थी हुँदा थियो ।

प्राणीको शरीर अनित्य छ । महापञ्चभूतमा यसको विलय शाश्वत सत्य हो । कसैले टार्न सक्दैन । नीतिसरले सत्तरी वर्षकै उमेरमा २०७१ साल भदौ ८ गते त्यो सत्य आत्मसात गरे ।

आत्मा नित्य छ । हाम्रो आध्यात्मिक चिन्तन र दर्शनले आत्मालाई मृत मान्दैन, दिवङ्गत मान्छ । श्रीमद्भागद्गीतामा भनिएको छ :

न जायते म्रियते वा कदाचिन्

नाऽयं भूत्वा भविता वा न भूयः ।

अजो नित्यः शाश्वतोऽयं पुराणो

नहन्यते हन्यमाने शरीरे ।।

आज गुरुपूर्णिमाका दिन नीतिसरको दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै यो सानो गुरुदक्षिणा समर्पण गर्दछु ।

हार्दिक श्रद्धासुमन नीतिसर !

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ९ : ४३ बजे

बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु

बेरुत – लेबनानको राजधानीमा भएको इजरायली हवाई आक्रमणमा शनिबार कम्तिमा

अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन

नुवाकोट – प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले समाजमा अशान्ति सिर्जना गर्न

भारतीय सेना प्रमुख पोखरामा, वीरता पुरस्कार विजेताहरुलाई सम्मान

काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल उपेन्द्र

चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा

काठमाडौं – गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले दर्शकको राम्रो

स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते

भरतपुर – चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस