निष्क्रिय हुँदै सलह, अनुमानभन्दा कम क्षति « Khabarhub

निष्क्रिय हुँदै सलह, अनुमानभन्दा कम क्षति

फेरि आउने सम्भावना छैन



काठमाडौं । अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तान हुँदै भारत छिरेका सलह कीराका बथानहरू गत १३ गते शनिबार बिहान नेपाल प्रवेश गरे ।

सलहले एक सातामा ५ वटा जिल्लामा बढी क्षति पुर्‍याएको छ । करिब ६ पटकमा ८० लाखसम्म सलह कीरा नेपाल पसेको र धेरै बथानमा छुट्टिएर विभिन्न ठाउँमा पुगेको प्लान्ट क्वारेन्टिन तथा व्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीका अनुसार हालसम्म सलहले ५ जिल्लामा १ हजार हेक्टरभन्दा बढी जमिनमा मकै, भटमास धान र फलफूलमा क्षति पुर्‍याएको जानकारी प्राप्त भएको छ ।

‘केन्द्रले कृषि ज्ञान केन्द्र, स्थानीय तहका प्राविधिक र किसानहरूसँगको समन्वयमा क्षतिको विवरण संकलन गरिरहेको छ’ सुवेदीले खबरहबसँग भने, ‘५ वटा जिल्लाको विवरण प्राप्त भएको छ, जसमा १ हजार ११८ हेक्टर जमिनको बालीमा सलहले क्षति पुर्‍याएको देखिन्छ ।’

हालसम्म ५३ भन्दा बढी जिल्लामा सलह कीरा प्रवेश गरे पनि बथान बनाएर करिब २७ जिल्लामा पुगेको र केही ठाउँमा सामान्य क्षति पुर्‍याएको उनले बताए ।

सुवेदीका अनुसार सलहका झुण्डहरू अहिले रुकुम, रोल्पा, सल्यान पुगेको जानकारी प्राप्त भएको छ । ती स्थानमा क्षति पुर्‍याएको जानकारी भने आएको छैन ।

मनसुनी वर्षामा अनकूल वातावरण नभएकाले सलह क्रियाशील हुन नपाएको उनले बताए । पानीले पखेटा भिजेपछि सलह उड्न सक्दैन र निष्क्रिय हुन्छ ।

कहाँ कति क्षति ?

एक साताअघि बारा जिल्लाबाट भित्रिएको सलह अहिले करिब देशैभर पुगेको छ । एउटै बथानमा ४ करोडभन्दा बढी संख्यामा उड्ने भएकाले सलह प्रवेशले नेपालमा ठूलो त्रास फैलिएको थियो । नेपाल आएको सलह भने ससाना बथानमा रहेकाले धेरै क्षति गर्न नसकेको र अब क्षति नहुने सुवेदीको भनाइ छ ।

सलहले सबैभन्दा बढी क्षति दाङमा पुर्‍याएको देखिन्छ । दाङमा ५८० हेक्टरको मकै र झण्डै यति नै तरकारीमा क्षति पुर्‍याएको छ । मकवानपुरमा १०५ हेक्टरको मकै र केही तरकारीमा क्षति पुर्‍याएको छ । अर्घाखाँचीमा १ सय हेक्टर जमिनको मकै र केही तरकारीमा क्षति पुर्‍याएको छ ।

प्युठानमा २८३ हेक्टर र पाल्पामा ५० हेक्टर जमिनको मकैमा क्षति पुगेको छ । सिन्धुली र रोल्पामा पनि मकैमा सामान्य क्षति पुगेको छ । अन्य केही स्थानमा पनि सामान्य क्षति पुगेको छ । केन्द्रका सूचना अधिकारी सुवेदीका अनुसार विवरण संकलन गर्ने काम भइरहेको छ ।

हावाको वहाव अनुसार हुन्छ

कृषि विभागका पूर्वमहानिर्देशक डा. दिल्लीराम शर्माका अनुसार अहिले सलह कीराका बथानहरू विस्तारै मरुभूमितिर फर्किंदैछन् । सलहका बथानहरू हावाको दिशातिर उड्छन् । हावाको वेगअनुसार स्थान परिवर्तन गर्ने भएकाले कताबाट कता पुग्छ भन्ने निश्चित अनुमान गर्न सकिँदैन ।

‘अहिले हावा पूर्व–पश्चिम चलिरहेको छ, यही अवस्था रहेमा अझै केही दिन स्थिर हुने देखिन्छ, कीरा पनि पश्चिमतर्फ पुगेका छन्,’ शर्माले खबरहबसँग भने, ‘अब उत्तरबाट दक्षिणतर्फ हावा चल्यो भने नेपालमा भएका कीरा बाहिरिन्छन् ।’

फेरि आउने सम्भावना कति ?

अहिले भारतमा भएका सलह कीराहरू नेपालको सीमानातर्फ नरहेकाले नेपालमा फेरि आउने सम्भावना कम रहेको शर्माको भनाइ छ । उनका अनुसार उत्तरपूर्वतर्फ हावा चल्यो भने अर्को झुण्ड आउने सम्भावना हुन्छ ।

एउटा वयस्क सलह कीरा सामान्यतया २ हप्ता बाँच्छ । नेपाल आएको ८ दिन बितिसकेकोले अब धेरै दिन बाँच्न नसक्ने र उड्न सक्ने जति राजस्थानतिर फर्किने शर्माको भनाइ छ । उनले खबरहबसँग उनले भने, ‘वयस्क सलह उडेर जान सक्छ र केही दिन बस्न पनि सक्छ, हावा कहिले कता चल्छ भन्ने कुरामा निर्भर रहन्छ ।’

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ५ : ३६ बजे

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको