पत्नीको हौसलाले कोरोना सङ्क्रमित बोकिरहेछन् जङ्गबहादुर « Khabarhub

पत्नीको हौसलाले कोरोना सङ्क्रमित बोकिरहेछन् जङ्गबहादुर


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- भनिन्छ, हरेक पुरुषको सफलताका पछाडि महिलाको हात हुन्छ । कोरोनाविरुद्ध अग्रमोर्चामा खटिएका झापाका एक योद्धा अर्थात् एम्बुलेन्स चालक जङ्गबहादुर खड्काका लागि पनि पत्नी लक्ष्मी खड्काबाट प्राप्त हौसला ऊर्जा बन्ने गरेको छ ।

गत जेठ २२ गते उनले पहिलोपल्ट मेचीनगर–४ स्थित क्वारेन्टिनबाट कोभिड–१९ का एक सङ्क्रमितलाई एम्बुलेन्समा हाँकेर विराटनगरको कोभिड हस्पिटल लगे ।

“शुरुमा रोग सर्ने पो हो कि भन्ने निकै डर लागिरहेको थियो, यस्तो जागिर छाड्ने पो हो कि जस्तो गरी मनमा अनेक कुरा खेलिरहेको थियो”, हालसम्ममा एक सयभन्दा बढी सङ्क्रमित व्यक्तिलाई एम्बुलेन्समा हाँकेर अस्पताल पुर्‍याइसेका उनी भन्छन्, “त्यतिबेलै श्रीमतीको फोन आयो, उनले तपाईं एउटा एम्बुलेन्स चालक हो, अप्ठ्यारोमै सहयोग गर्नुपर्छ । आफू सुरक्षित रहेर काम गर्नु केही हुँदैन भनेपछि मन हलुका र ढुक्क भयो ।”

मेचीनगर नगरपालिका–९ निवासी ४५ वर्षीय जङ्गबहादुर खड्का नगरपालिकाले कोरोना सङ्क्रमित बोक्नका लागि तोकेको मे१झ १३८ नंको एम्बुलेन्सका चालक हुन् । उनले जेठ २२ गतेयता कोभिड अस्पताल विराटनगर, गोठगाउँ, धरान र मेची अस्पताल गरी ११५ जना सङ्क्रमितलाई उपचारका लागि पुर्‍याइसकेका छन् । उनले भने, “सेवा नै धर्म हो, यस्तो महामारीको बेला सहयोग गर्नु मानवको कर्तव्य हो म त्यही पूरा गर्दैछु ।”

जङ्गबहादुरकी पत्नी लक्ष्मी खड्का गृहिणी हुन । कोरोना बोक्ने एम्बुलेन्स ड्राइभरको पत्नी भनेर अरूले औँल्याउने गरे तापनि लक्ष्मीले आफ्ना श्रीमानलाई कोरोनाको विश्वव्यापी महामारीका बेला सेवा गर्ने जिम्मेवारीबाट पन्छिन नहुने भन्दै हौसला थप्दै आएकी छन् । “जब जब कोरोना सङ्क्रमितलाई बोकेर एम्बुलेन्स चलाइरहेको हुन्छु, त्यसबेला मलाई श्रीमतीले भनेको कुराले आत्मबल बढिहाल्छ”, उनले भने ।

सङ्क्रमितलाई एम्बुलेन्समा चढाउँदा र ओराल्दा अपनाउनुपर्ने स्वास्थ्य सावधानी उनले राम्ररी पालना गरेको बताए । सङ्क्रमितलाई बोक्न थालेयता तीन महिनादेखि उनी घर पनि गएका छैनन् । कहिलेकाहीँ घर छेउसम्म पुगेर टाढैबाट परिवारका सदस्यसँग बोलचाल गरी फर्किने गरेको उनले बताए ।

नगरपालिकाले उनलाई स्यानिटाइजर, गमबुट, मास्क, पञ्जा, फेस सिल्डलगायत सामान उपलब्ध गराउँदै आएको छ । धुलाबारी स्वास्थ्य केन्द्रको दरबन्दीवाहक एम्बुलेन्स चालक भएको हुँदा उनी कार्यालयले व्यवस्था गरेको कोठालाई क्वारेन्टिन बनाएर बस्दै आएका छन् ।

जुनसुकै समय र अप्ठेरो परिस्थितिमा समेत सङ्क्रमितलाई अस्पताल पुर्‍याउन बोलाउनासाथ तयार भएर खटिने उनको स्वभावबाट आफू प्रभावित भएको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङले बताए । रासस

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ९ : २८ बजे

प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग नगर्न चेतावनी

 काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो नाम, प्रधानमन्त्रीको नाम तथा कार्यालयको

चार लेनको आर्क ब्रिजमा ८४ प्रतिशत प्रगति

दमौली– मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

प्रविधि क्षेत्रका छुटेका विषय बजेटमार्फत सम्बोधन गर्नुपर्छ : भीष्मराज आङदेम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे ले

राष्ट्रपति पुटिनको चीन भ्रमण कार्यक्रम सार्वजनिक

एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको  चीनको दुई दिने भ्रमणको  कार्यक्रम

जग्गाधनी प्रमाणपत्रबाट पाँच करोड ७९ लाख ३० हजार राजस्व संकलन

राँझा– बाँकेमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई