पर्यटकीय शहर पोखरा ‘स्पोर्टस हब’ बन्दै « Khabarhub

पर्यटकीय शहर पोखरा ‘स्पोर्टस हब’ बन्दै


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गत मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)का आठ खेल पोखरामा सञ्चालन भए । बिच भलिबल र भारत्तोलन बाहेकका अन्य सबै खेल यहाँको रङ्गशालामा खेलाइयो ।

पहिलोपटक अन्तरराष्ट्रिय प्रतियोगिताको आतिथ्यताको अवसर पाएको थियो । साग भव्य रुपमा सफल भयो ।

साग सकिएको चार दिनपछि रङ्गशाला भित्रको क्रिकेट मैदानमा पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट शुरु भयो । दुई हप्तासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीले आफ्नो रोमाञ्चक खेल कौशल प्रस्तुत गरे ।

पीपीएलपछि गत माघ ६ देखि ९ गतेसम्म नेपाल र मलेसियाबीच यहाँ एक दिवसीय तीनवटा मैत्रीपूर्ण क्रिकेट खेल सञ्चालन भए । सोही महिनाको ११ र १२ गते मार्सल आर्टस् हाप्किडोको अन्तर्राष्ट्रिय सेमिनार रङ्गशालामै सम्पन्न भयो । स्वदेश तथा विदेशबाट गरी ६०० जना खेलाडी सेमिनारमा सहभागी बने ।

माघ २७ गतेदेखि नै रङ्गशालामा अन्तर्राष्ट्रिय टेनिस फेडेरेशन (आईटीएफ) को जुनियर यू–१८ टेनिसमा विभिन्न ११ देशका खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गरे । यही फागुन ३ गते रङ्गशालाबाट शुरु भएको अन्तर्राष्ट्रिय म्याराथन पुनः रङ्गशालामा नै आएर समापन गरियो ।

माथि उल्लिखित प्रतियोगिता तीन महिनाको अवधिमा रङ्गशालामा सञ्चालन भएका अन्तरराष्ट्रियस्तरका खेल गतिविधि हुन् ।

यी बाहेक रङ्गशाला बाहिरसमेत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद गतिविधि निरन्तर सञ्चालन हुने गर्दछन् । पोखरासँगैका अन्य पालिकाहरुमा समेत विगत एक/ई वर्ष यता आएर खेल क्रियाकलाप बढेका छन् ।

रङ्गशालाभित्र महत्वपूर्ण खेलका पूर्वाधार निर्माणसँगै खेल गतिविधिले समेत तीव्रता पाएको हो । यही फागुन ११ देखि १७ गतेसम्म प्याराग्लाइडिङ वल्र्ड कप छनोट खेलसमेत यहाँ नै आयोजना भयो । विभिन्न २० राष्ट्रका ९० जना खेलाडीले वल्र्ड कप छनोटमा प्रतिस्पर्धा गरे ।

बिहीबारदेखि मोफसलको प्रतिष्ठित राष्ट्रिय अन्तर्राष्ट्रिय अन्तर क्लब आहा रारा गोल्डकप शुरु भएको छ ।

वर्षभरि नै रङ्गशालामा एउटा न एउटा खेल गतिविधि प्रायः सञ्चालन हुने गर्दछ । विभिन्न खेल सङ्घ, क्लब तथा शैक्षिक सङ्घसंस्थाका खेलकूद क्रियाकलापले यहाँ ‘स्पोर्टस हब’ बन्दै गएको खेलकर्मीहरु बताउँछन् ।

फुटबल, कराते, हक्की, टेनिस तथा भबिलका प्रदेश तथा जिल्लास्तरीय प्रतियोगिता तथा विभिन्न उमेर समूहका प्रतियोगिता वर्षभरि नै जसो सञ्चालन हुँदा खेलकुदको माहोल ह्वात्तै बढेको छ । गतमाघ ७ देखि यहाँकै भण्डारढीकमा प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल भएबाट प्रदेश सरकारले समेत खेल प्रतियोगिताका लागि लगानी गर्न शुरु गरेको छ ।

बढ्दो खेल गतिविधिले पर्यटकीय शहर पोखरालाई ‘स्पोर्टस हब’का रुपमा परिचित गराएको छ भने यहाँ सञ्चालन हुने प्रतियोगिता खेल्न आउने विदेशी खेलाडीहरु यहाँको सुन्दरतामा खेल्न पाउँदा असाध्यै खुशी हुने गरेका छन् ।

यहाँको प्राकृतिक सुन्दरताले समेत खेल पर्यटनलाई वृद्धि गरेको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेल गतिविधिले पोखरालाई विश्व खेलकुदको रङ्गमञ्चमा पहिचान गराउन महत्वपूर्ण भूमिका खेलेको छ । रङ्गशालाभित्र नै अधिकांश खेलको पूर्वाधार छन् भने केही निर्माणको प्रक्रियामा छन् ।

फुटबलको अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको अन्तिम चरणमा छ । चार करोड रुपैयाँ लगानीमा ब्याडमिन्टन हल निर्माण गरिएको छ । बहुउद्देस्यीय कभर्ड हल, बास्केटबल, भलिबल तथा टेनिस कोर्ट, ह्याडबल एकेडेमी तथा आर्चरीका पूर्वाधार एकै थलोभित्र रहेकाले समेत रङ्गशालामा प्रत्येक दिन जसो खेल गतिविधि सञ्चालन हुने गर्दछ ।

आवश्यक पूर्वाधार भएका कारणले खेल गतिविधिसमेत बढेको र खेलाडीले राम्रोसँग अभ्यास गर्ने मौका पाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य राजेशकुमार गुरुङ बताउँछन् ।

सरकारी तथा निजी क्षेत्रको समेत ध्यान खेलकुद विकासमा केन्द्रित भएकाले पूर्वाधारसँगसँगै प्रतियोगिता बढेकाले पोखरालाई खेलकुद शहरका रुपमा चिनाउने काम गरेको उनले बताए ।

निर्माणाधीन फुटबल रङ्गशाला यहाँको गौरव रहेकाले यसबाट आगामी दिनमा धेरै प्रतियोगिताको ढोका खुल्ने उहाँको भनाइ छ ।

सदस्य गुरुङले निर्माणाधीन पूर्वाधारको संरक्षणमा पोखरेलीले विशेष ध्यान दिनुपर्ने बताए । उनले भने, ‘यहाँ रङ्गशालामा जस्तो एकै थलोमा अधिकांश खेल पूर्वाधार अन्यत्र कहीँ पनि छैनन्, यो हाम्रो लागि ठूलो सौभाग्य हो । यसको दीर्घकालीन संरक्षण गर्नु पोखरेलीको दायित्व हो ।’

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगीले मुख्य खेल पूर्वाधार रङ्गशालाभित्र निर्माण भएको बताउँदै यसै वर्षभित्र पौडीपोखरी र सुटिङको पूर्वाधार निर्माण थालनी हुने जानकारी दिए ।

खेलकुद विकासका लागि पहिलो प्राथमिकता पूर्वाधार रहेकाले आवश्यक पूर्वाधार बनेपछि खेल क्षेत्रले विकासको फड्को मार्ने उनको भनाइ छ ।

रङ्गशालाभित्र क्रिकेट मैदान पूर्वाधार निर्माणका लागि चालू वर्षमा सङ्घ सरकारले तीन करोड तथा प्रदेश सरकारले दुई करोड बजेट विनियोजन गरे पनि हालसम्म काम अघि बढ्न नसकेकामा नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य ऋषिराम गौतमले चिन्ता गरे ।

क्रिकेटका अन्तर्राष्ट्रिय खेल प्रतियोगिता आयोजना हुन थाले पनि अहिलेसम्म आधारभूत पूर्वाधारसमेत नबन्नु दुःखद् भएकाले सरोकारभएकाहरुले ढिलाइ गर्न नहुने उनको तर्क छ ।

आवश्यक पूर्वाधार निर्माण भएको खण्डमा हाल पछाडि परेको क्रिकेट खेलले समेत यस क्षेत्रमा विकासको गति लिनेमा पोखरेलीले विश्वास लिएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ८ : ३५ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि