दशकयताकै सबैभन्दा ठूलो महामारी कोरोना भाइरस (कोभिड–१९) अहिले विश्वसामु एउटा ठूलो जोखिम र चुनौतीको रूपमा उभिएको छ । यसले विश्व समुदायलाई बन्दाबन्दीमा राखेको छ । विश्वका कुन कुन क्षेत्रमा कति क्षति पुर्याउने हो, अझै कुनै अनुमान गर्न सकिएको छैन ।
कोरोना भाइरस नयाँ भएकोले धेरै कुरा अध्ययन अनुसन्धानकै क्रममा छ । यस बीचमा धेरै वैज्ञानिक र विज्ञहरूले विगतका महामारीलाई ध्यानमा राखेर आआफ्ना धारणाहरू सञ्चारमाध्यममा दिइरहेका छन् । झन् हाम्रोजस्तो ‘सबै मानिस सबै कुराको विज्ञ’ भएको समाजमा त अनेक धारणाहरू नआउने कुरै भएन ।
समाजमा जानेमानेका वर्ग, अभियन्ता, पत्रकार, राजनीतिकर्मीहरूले अनेक तर्क गरिरहेको देखिन्छ । धेरै तर्कहरू तथ्यहीन र आधारहीन हुने गरेका छन् । यस्तै कुरालाई समाचार बनाएर आफ्नो टीआरपी बढाउन विभिन्न अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा प्रकाशित भइरहेको देखिन्छ ।
यस्ता कुराले समाजमा कोरोना भाइरससँगै आममानिसमा अनावश्यक त्रास फैलाउने काम पनि गरेको छ । सरुवारोगका चिकित्सक डा. शेरबहादुर पुनले एउटा लेखमा समाजमा बढ्दै गएको त्रासले कोरोना भाइरस परीक्षण गर्न आउनेहरूको भिड लागेको उल्लेख गरेका थिए ।
यस्ता थुप्रै घटना र उदाहरण हाम्रासामु छन् ।
हाम्रो प्रयोगशालामा कार्यरत साथीहरूलाई अस्पतालबाट घर–कोठामा जाँदा छिमेकीहरूले ‘कोराना भाइरस लिएर आयो, यस्तो मान्छेलाई बस्न दिनु हुँदैन’ भन्ने गरेको गुनासोहरू सुनिने गरेको छ । कञ्चनपुरबाट संक्रमित बिरामीलाई उपचारको लागि दाङ ल्याउँदै गर्दा दाङका जनप्रतिनिधिले निकालेको विज्ञप्ति या कतिपय पालिकाहरूले हुकुमी शैलीमा निकालेका सूचना र विज्ञप्ति, डेरा गरी बस्ने मानिस र स्वास्थ्यकर्मीहरूलाई गरेको दुव्र्यवहार, क्वारेन्टिइन बनाउँदा स्थानीयबासीले गरेको विरोध इत्यादिले समाजमा मानसिकरूपमा त्रास व्याप्त छ भन्ने पुष्टि गर्छ ।
भ्रम र यथार्थ
यसको उपचार सम्भव छैन ?
कोरोना भाइरस नयाँ हो । यसको कुनै पनि औषधि छैन । यस्तो अवस्थामा समाजमा कोरोना भाइरसबाट संक्रमित हुने बितिकै मृत्यु निश्चित भन्ने भ्रम देखिन्छ ।
वास्तविकता त्यस्तो होइन । कोरोना संक्रमितमध्ये करिब ८० प्रतिशत संक्रमितमा कुनै लक्षण देखिँदैन वा सामान्य रोघखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने र सुख्खा खोकीको लक्षण देखापर्छ । यो सबै बिस्तारै आफैँ निको हुन्छ ।
अन्य १५ प्रतिशत संक्रमितलाई मात्रै लक्षणमा आधारित उपचार आवश्यक पर्छ । बाँकी ५ प्रतिशत संक्रमित बिरामीलाई भने गम्भीर किसिमको श्वासप्रश्वाससम्बन्धी लक्षणहरू देखापर्न सक्छ र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ । यस्तो गम्भीर अवस्था प्रायः पाको उमेरका र दीर्घरोग (मुटुरोग, दम, उच्च रक्तचाप, मधुमेह, क्यान्सरलगायत अन्य) भएका व्यक्तिहरूमा देखापर्छ ।
हालसम्म कोरोना भाइरस संक्रमणको मृत्युदर ७ प्रतिशत हाराहारी छ । यो मृत्युदर देशअनुसार फरक फरक पनि छ ।
यसकारण, खास औषधि नभए पनि यसको उपचार सम्भव छ ।
हावाबाट पनि भाइरस सर्छ ?
कारोना भाइरसले सुरुमा संक्रमित व्यक्तिको श्वासप्रश्वास प्रणालीमा असर गर्छ । बिस्तारै शरीरका अन्य भागमा फैलिएर मृत्युसमेत हुन सक्छ । यो भाइरसको संक्रमणदर भने श्वासप्रश्वास सम्बन्धी अरू सरुवा रोगहरूको भन्दा उच्च छ ।
विश्व स्वास्थ्य सङ्गठन र सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का अनुसार एक संक्रमित व्यक्तिले सालाखाला चार जना सम्मलाई सार्न सक्छ ।
यो भाइरस संक्रमित व्यक्तिले खोक्दा अथवा हाछ्युँ गर्दा निस्किने सासाना छिटाहरूको माध्यमबाट अर्को व्यक्तिमा सर्ने गर्छ । हावाको माध्यमबाट सर्छ भन्ने भ्रम पनि फैलिएको छ तर वैज्ञानिक तथ्यले पुष्टि गरेको छैन । हालसम्मको तथ्यले हावाको माध्यमबाट सर्दैन । क्वारेन्टिनहरूमा मापदण्ड पूरा नगर्दा संक्रमण फैलिने सम्भावना धेरै हुन्छ ।
हामीले संक्रमित व्यक्तिसँग भौतिक दूरी कायम गरी मास्क प्रयोग गर्ने, संक्रमित व्यक्तिले प्रयोग गरेका वस्तु प्रयोग नगर्ने, नियमितरूपमा साबुन पानीले हात धुने, नधोएको हातले अनुहारमा नछुने, साबुन पानी नभए अल्कोहल भएको सेनिटाइजरको प्रयोग गर्ने उपायहरू अवलम्बन गरेर आफूलाई संक्रमणबाट बचाउन सकिन्छ ।
नेपालमा भेटिएको भाइरस कस्तो ?
प्रायः भाइरल संक्रमण फैलिँदै गर्दा भाइरसहरू आफूमा उत्परिवर्तित ( म्युटेशन) भइ धेरै वा कम भाइरुलेन्ट बन्न सक्छ । विभिन्न ठाउँमा फैलिएको भाइरसहरूको जिन सिक्वेन्सिङ गरेर यो थाहा पाउन सकिन्छ । नेपालमा अहिलेसम्म जिन सिक्वेन्सिङ गर्न प्रयोगशाला छैन, स्थापना हुने क्रममा छ ।
अहिले नै खतराखालको वा कमजोरखालको भन्न सक्ने स्थिति छैन । नेपालमा पुष्टि भएका संक्रमितहरू धेरैजसो भारतबाट फर्किएका मानिसहरू हुन् । भारतमा संक्रमणदर उच्च रहे पनि मृत्युदर भने कमै रहेको छ ।
यो भाइरस जडिबुटीले निको हुन्छ ?
विशेष गरी यो वा त्यो जडिबुटी र रक्सी सेवनले कोरोना भाइरस संक्रमण हुँदैन र भए पनि निको हुन्छ भन्ने भ्रम फैलिएको देखिन्छ । । यो भ्रममात्र हो । यसमा कुनै वैज्ञानिक आधार छैन । केही जडिबुटीमा एन्टिभाइरल विशेषता भए पनि यकिन साथ भाइरसलाई मार्न सक्छ भने आधार छैन । यो अनुसन्धानकै क्रममा छ ।
नेपालमा हालसम्म ८८ हजार जनामा पीसीआर परीक्षण गर्दा २ हजार ९०० जनाभन्दा बढीमा संक्रमण फेला परेको छ । हालसम्म ११ जनाको मृत्यु भएको छ । हाम्रो परीक्षणको दायरा अलि थोरै भएकोले संक्रमितको संख्या पनि थोरै देखिएको हुन सक्छ ।
इटाली, अमेरिका लगायतका केही देशमा धेरै ठूलो संख्यामा परीक्षण गरिएको हुनाले धेरै संख्यामा संक्रमितहरू फेला परेको र मृत्यु भएको देखिएको हो । मृत्यु हुनेमा पनि वृद्ध र दीर्घरोगी धेरै छन् ।
हामीले अन्य देशको तथ्यांक तुलनामा गरेर त्रास मान्नुपर्ने अवस्था छैन । सबै मृत्यु कोरोनाको कारणले नै भएको हो कि होइन भन्ने कुरा पनि अनुसन्धानकै विषय बनेको छ । यसो भनेर यो रोगलाई बेवास्ता गरे पनि हुन्छ भनेको होइन । हामीले रोगको पर्याप्त जानकारी राखेर सोहीअनुसार सुरक्षित व्यवहार ग¥यौँ भने ठूलो खतरा हुँदैन भन्ने प्रष्ट पार्न खोजेको हो ।
आमनागरिकमा सत्यतथ्य सूचनामात्र सम्प्रेषण गरी समाजलाई सुसूचित गर्न सञ्चारमाध्यमहरू सजग हुन आवश्यक छ । यथार्थ र तथ्यसङ्गत सूचना दिऔँ । सजगता अपनाऔँ । रोगप्रति सचेत बनौँ, सुरक्षित रहौँ । आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ ।
(लेखक मेडिकल माइक्रोबायोलोजीका विद्यार्थी हुन् ।)
प्रतिक्रिया