अझै सम्पन्न भएन भैरहवा–लुम्बिनी–तौलिहवा सडक विस्तार आयोजना | Khabarhub Khabarhub

अझै सम्पन्न भएन भैरहवा–लुम्बिनी–तौलिहवा सडक विस्तार आयोजना


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – राष्ट्रिय प्राथमिकताको आयोजना भैरहवा–लुम्बिनी–तौलिहवा सडक विस्तारको काम समयमै नसकिने भएको छ । यही पुस २८ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी रु एक अर्ब ९३ करोड ६३ लाखमा ठेकेदार पक्षसँग ठेक्का सम्झौता भएको थियो । तीस महिना अगाडि रुपन्देहीको भैरहवादेखि, लुम्बिनी हुँदै कपिवस्तुको तौलिहवा जोड्ने ४१ किलोमिटर १३० मिटर लामो सो सडक विस्तारको ठेक्का भारतीय कम्पनी गावर कन्ट्रक्सन लिमिटेडले पाएको थियो ।

ठेकेदारसँग गरिएको सम्झौता समय सकिन अब एकहप्ता मात्रै बाँकी रहँदा भौतिक प्रगति जम्मा ६० प्रतिशत भएको छ । आयोजनाका प्रमुख प्रदीप शाक्यले भने,“भौतिक प्रगति ६० प्रतिशत भएको छ । ठेकेदार पक्षले थप समयको लागि प्रक्रिया अगाडि बढाएका छन् ।”

ठेकेदार पक्षले समयमै काम सम्पन्न नगरे तापनि आयोजना पक्षले लचकता अपनाउँदै भेरियसनसमेत गरिदिएको छ । उक्त ठेक्का सम्झौताको साढे १२ प्रतिशत भेरियसन भएको छ । समयमै काम नसके पनि ठेकेदार पक्षले रु २४ करोड २० लाख ३७ हजार ५०० थप बजेट पाएको छ । उनले भने, “विद्युत् पोलको व्यवस्थापन र केही समय स्थानीयवासीले गरेको अवरोधलाई मध्यनजर गरेर भेरियसन गरिएको हो ।”

आयोजना प्रमुख शाक्यले त्यसो भने तापनि उक्त सडक विस्तारमा स्थानीयवासीको अवरोध भएको देखिँदैन । भारतीय ठेकेदार कम्पनी गावरले शुरुमा कामको गति बढाएको भए पनि पछिल्लो समय सुस्तगतिमा काम गरिरहेको छ । यसका कारण भैरहवादेखि लुम्बिनी जानआउन समेत कठिनाइ भइरहेको छ ।

भैरहवाको बुद्धचोकदेखि विमानस्थलसम्म छ लेन, विमानस्थलदेखि लुम्बिनी–पर्सा चौराहसम्म चार लेन र त्यहाँबाट तौलिहवासम्म दुई लेनको सडक बनाउने गरी ठेक्का सम्झौता भएको हो । एशियाली विकास बैंकको सहयोगमा सम्पन्न हुने उक्त सडक समयमै सम्पन्न नहुँदा प्रदेश–५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ र नेपाल भ्रमण वर्ष २०२० लाई पनि प्रत्यक्ष असर गरेको देखिएको छ ।

‘भैरहवादेखि लुम्बिनी बाटो अस्तव्यस्त ढङ्गले बनाउँदा हिँडडुल गर्नै गाह्रो भएको छ । सडक धुलायम्मै छ । मुख्य पर्यटकीय गन्तव्य लुम्बिनी आउनजान नै समस्या भएको छ” नागरिक समाजका अगुवा उमेशचन्द्र रिजालले बताए ।

यता सडक निर्माणको ठेक्का पाएको निर्माण कम्पनी गावर कन्सट्रक्सनका प्रतिनिधि मधु आचार्यले विद्युत् प्राधिकरणले बिजुलीका खम्बा समयमै नसारिदिँदा, खानेपानी कार्यालयले तत्काल पाइप व्यवस्थापन नगर्दा समयमै काम नसकिएको बताए । उनले भने, “हामीले आगामी असारसम्म समय थप माग गरेका छौं । त्यो समयमा सक्छौं ।”

ठेकेदार पक्षका अनुसार लुम्बिनीदेखि तौलिहवा सम्मको खण्डमा एक किलोमिटर बाहेक अन्य सडकको काम अन्तिमचरणमा पुगेको छ भने लुम्बिनी पर्सा चोकदेखि भैरहवातर्फको सडक खण्डमा नौ किलोमिटमा आधारको तयारी भएको छ ।

वर्षेनि लाखौं आन्तरिक तथा बाह्य पर्यटक लुम्बिनी भ्रमणमा पुग्छन् । साँगुरो, खाल्डाखुल्डी र धुलाम्य सडकका कारण लुम्बिनी पुग्न पर्यटकलाई निकै समस्या छ । लुम्बिनी पुगेका पर्यटकलाई तिलौराकोट पुग्न झनै समस्या छ । साँगुरो र खाल्डाखुल्डी सडकले दुर्घटनाको दरसमेत बढ्दो छ ।

सडकको स्तरोन्नतिका लागि सरकारले ३० महिनाअघि भैरहवा–लुम्बिनी–तौलिहवा सडक विस्तार गर्न ठेक्का सम्झौता गरी निर्माण थालेको हो । सडकखण्डमा रहेका दुई हजार ६८ रुख सबै हटाइसकिएको छ । आयोजनाका अनुसार छ लेन सडकको बीचभागमा ‘ग्रिन वेल्ट’, दुई–दुई लेनको सडक र दायाँबायाँ सर्भिस लेनसहितको ‘फुटपाथ’समेत निर्माण गरिनेछ ।

सडक खण्डमा ३६ वटा यात्रु प्रतीक्षालयका साथै काटिएका रुखको ठाउँमा पाँच हजार १०० रुख रोप्ने जनाइएको छ । सडकको प्राविधिक कामको समन्वय, निगरानी र परीक्षण कोरिया इञ्जिनीयरिङ कन्सलटेन्टले गरिरहेको छ । सडक स्तरोन्नतिपछि यो सडकले तौलिहवा र लुम्बिनी आसपासका अन्य सडकलाई भैरहवा र अन्तर्राष्ट्रिय विमानस्थलसँग जोड्नुका साथै यस क्षेत्रको कृषि, पर्यटक तथा बजारीकरणमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ९ : ४५ बजे

काठमाडौं महानगरको ‘सिप मेला २०८२’ सुरु

काठमाडौं – काठमाडौं महानगरपालिकाले आजदेखि ‘सिप मेला २०८२’ का कार्यक्रम

बिहीबार उपस्थित हुनेगरी छुटे सहसचिव तीर्थराज भट्टराई

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज

पोखरा विमानस्थल निर्माणबारे छानबिन गर्न अख्तियारलाई पत्राचार

काठमाडौं – प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल

डा. डीआर उपाध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपध्यायको

अधिकतम खुद्रा बिक्री मूल्य तोक्न कडाइ

काठमाडौं – सरकारले सबै उपभोग्य वस्तु तथा सेवा क्षेत्रमा अधिकतम