काठमाडौं– मेलम्ची खानेपानी आयोजनाका वरिष्ठ डिभिजनल इञ्जिनियर कमलराज श्रेष्ठले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसरका कारण आयोजनाको काममा कुनै बाधा नपुगेको बताएका छन् ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनामा निर्माणको काम थोरै मात्रै बाँकी छ । आयोजनाको बाँकी काम अहिले चिनियाँ निर्माण कम्पनी ‘सिनो हाइड्रो’ ले गरिरहेको छ । आयोजनामा कार्यरत दुई तीन जना मात्रै अहिले चीन गएका छन् ।
इन्जिनियर श्रेष्ठका अनुसार नयाँ वर्ष मनाउन चीन गएका उनीहरु त्यसपछि फर्किएका छैनन् । चीन गएकामध्ये एक जना परियोजना व्यवस्थापक र एक जना प्रबन्ध सहयोगी (लजिस्टिक सपोर्टर) रहेका छन् । उनीहरु केही समयमा फर्किने कम्पनीले जानकारी दिएको छ ।
उनले भने,“अहिले यहाँ भएका जनशक्ति नियमित रुपमा काम गरिरहेका छन्।”
सरकारले आगामी असारसम्ममा काठमाडौँमा पानी झार्ने प्रतिबद्धता जनाएकामा त्यही अनुसार निर्माणको काम अघि बढिरहेको वरिष्ठ डिभिजनल इञ्जिनीयर श्रेष्ठले बताए ।
दक्ष र अदक्ष गरी झण्डै ५० चिनियाँ जनशक्ति निर्माणस्थलमा कार्यरत छन् । झण्डै दुई सय नेपाली कामदार कार्यरत छन् । तीमध्ये थोरै मात्रै दक्षजनशक्ति छन् भने अधिकांश अदक्ष कामदार छन् ।
कम्पनीले गत दुई महिना दैनिक अतिरिक्त समय काम लगाएर र अरु योजनामा कार्यरत जनशक्ति थप गरेर समयमै सम्पन्न गर्न लागेको छ ।
प्रतिक्रिया