नक्कली प्रतिवेदन बनाएर नगरपालिकाले रकम भुक्तानी गरेको खुलासा ! | Khabarhub Khabarhub

नक्कली प्रतिवेदन बनाएर नगरपालिकाले रकम भुक्तानी गरेको खुलासा !


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा- डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले नक्कली योजना अनुगमन प्रतिवेदन तयार गरी भुक्तानी गरेको तथ्य खुलेको छ ।

पर्यटन पूर्वाधार विकास कार्यक्रमको आर्थिक वर्ष ०७५/०७६ को स्वीकृत कार्यक्रमअन्तर्गत त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने त्रिपुरासुन्दरी मन्दिरदेखि कुमारीकोट बगर हुँदै फोक्सुण्डो प्रवेशद्वार सुलिगाड जाने पदमार्ग निर्माणको नाममा नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको रु दश लाख कामै नभएको अवस्थामा पनि नक्कली अनुगमन प्रतिवेदनको आधारमा उपभोक्तालाई भुक्तानी गरिएको पाइएको हो ।

पदमार्ग निर्माण उपभोक्ता समितिसँगको मिलेमतोमा वडा नं २ का सव–ओभरसियर जङ्गबहादुर थापाले तयार पारेको अन्तिम कार्यसम्पन्न प्रतिवेदनको आधारमा तत्कालीन निमित्त कार्यकारी प्रमुख हीराचन्द्र धरलाले कामै नभएको योजनामा रकम भुक्तानी दिएको पाइएको हो ।

कामै नभएको योजनामा ठूलो रकम भुक्तानी दिएको कुरा बजारमा चर्चा परिचर्चा हुन थालेपछि यसको चौतर्फी आलोचना हुन थालेको छ ।

उपप्रमुखको नक्कली दस्तखत

योजना अनुगमन संयोजक तथा उपप्रमुखसमेत रहनुभएकी चन्द्रकुमारी बुढाले उपभोक्ता समितिले आफ्नो कीर्ते दस्तखत गरेर रकम भुक्तानी भएको बताइन् ।

आफू नभएको अवस्थामा निमित्त कार्यकारी हीराचन्द्र धरलासँग मिलेर रकम भुक्तानी लिएको भनी फागुन २० गते नगर प्रमुखलाई निवेदन लेखेर कारवाहीको लागि माग गरेपछि कामै नभएको योजनामा पनि रकम भुक्तानी भएको उनले बताइन् ।

त्रिपुरासुन्दरी नगरपालिकाका उपप्रमुख चन्द्रकुमारी बुढाले आफू पर्यटन बोर्डको योजना अनुगमनमा नगए पनि नक्कली अनुगमन प्रतिवेदन तयार पारेर रकम भुक्तानी गरेको बताइन् ।

“मैले बारम्बार निमित्त कार्यकारी धरलालाई काम भएको छैन रकम भुक्तानी नदीनुहोस् भनेको हुँ तर म नै नभएको अवस्थामा मेरो कीर्ते दस्तखत गरी अन्तिम रकम भुक्तानीको लागि अनुगमन प्रतिवेदन तयार पारेर रकम लिएको पाउँदा म अचम्ममा परेकु छु”, उपप्रमुख बुढाले भनिन् ।

नगरपालिकाका तत्कालीन निमित्त कार्यकारी धरलाले नेपाल पर्यटन बोर्डबाट भित्रिएको पर्यटन पदमार्ग तथा नगरपालिकाका केही गम्भस्र नीतिगत निर्णयमा समेत प्रमुख उपप्रमुखलाई समेत जानकारी नदीई झुक्यायर निर्णय गरेको समेत पाइएको छ ।

नगरपालिकाको जिम्मेवार पदमा बसेर आफ्नो पदको दुरुपयोग गर्दै मनोमानी ढङ्गबाट निर्णय गरेको र केही योजनाको रकमसमेत भुक्तानी गरेको पाइएको भन्दै फागुन २३ गते कार्यपालिकाको विशेष बैठक बसेको थियो ।

बैठकले तत्कालीन निमित्त कार्यकारी प्रमुख धरला र पर्यटन पदमार्ग निर्माणमा भुक्तानी गरिएको भनिएको योजनामा छानबिन गरी कारवाहीको लागि सिफारिस गर्ने निर्णय गरेको प्रमुख ओमबहादुर बुढाले बताए ।

त्रिपुरासुन्दरी मन्दिरदेखि कुमारीकोट बगर हुँदै फोक्सुण्डो जाने सुलिगाडसम्मको पर्यटन पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर बुढाले योजनामा काम नभएको स्वीकार गरे ।

“म काम विशेषले जिल्ला बाहिर थिए, समितिका अन्य सदस्य र गाउँलेलाई काम गर्नु भनेको थिए तर गरेका रहेन छन् म फर्केर आउँदा आर्थिक मसान्त सकिन लागेकाले प्रक्रिया मिलाएर रकम भुक्तानी लिएको हो”, बुढाले भने ।

योजना अनुगमन समितिका संयोजक तथा उपप्रमुखको दस्तखत कीर्ते गरेको होइन दस्तखत उहनकै भएको र सबैको सल्लाहामा फ्रिज हुन नदिन उपभोक्ताको खातामा मात्र रकम हालिएको अध्यक्षले बुढाले दाबी गरे ।

कामै नगरेको योजनामा भुक्तानी भएको चर्चापरिचर्चा शुरु भएपछि दुई दिनदेखि काम शुरु गरिएको छ । अहिले काम शुरु भइरहेकाले कार्यसम्पन्न भएपछि सञ्चारकर्मी र योजना अनुगमन संयोजकसमेत रहेका उपप्रमुखकै रोहवरमा रकम कामदारलाई भुक्तानी गरिने पनि उपभोक्ता समितिका अध्यक्ष बुढाले बताए ।

तत्कालीन निमित्त कार्यकारी प्रमुख धरलाले उपभोक्तासँग मिलेर कमिशन खाएर रकम भुक्तानी दिएको भन्ने आरोप निराधार रहेको उनले दाबी गरे ।

“मैले एक रुपैयाँ त के चियासम्म खाएको छैन, प्राविधिकको अन्तिम कार्यसम्पन्न प्रतिवेदन योजना शाखाको टिप्पणीलगायतका कागजातका आधारमा भुक्तानीको लागि लेखालाई सिफारिस गरेको हुँ ।” पछि बुझ्दै जाँदा काम नभएको थाहा पाएपछि खाता रोक्का गरिएको तत्कालीन निमित्त कार्यकारी प्रमुख धरलाले बताए ।

कामै नभएको योजनामा त्रिपुरासुन्दरी नगरपालिका योजना शाखा प्रमुख हेमन्त बोहराले उठाएको टिप्पणी र निमित्त कार्यकारी प्रमुख धरलाले भुक्तानीको लागि गरेको सिफारिस आदेशमा २०७६ वैशाख २८ मा काम शुरु गरेर २०७६ असार १९ मा कार्य सम्पन्न गरेको उल्लेख छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  १० : १५ बजे

चीनमा ठूलो बाढी, एक लाख मानिसलाई स्थानान्तरण

बेइजिङ– दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा

जङ्गलको डढेलो बस्तीमा पस्दा पाँच घर नष्ट

सोलुखुम्बु– सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा

स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन

अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ

जनकपुरधाम– धनुषाको ढल्केबरबाट अपहरणमा परेका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको