विमानस्थल बन्द भएयता १९ अन्तर्राष्ट्रिय उडान, फर्किए तीन हजार विदेशी « Khabarhub

विमानस्थल बन्द भएयता १९ अन्तर्राष्ट्रिय उडान, फर्किए तीन हजार विदेशी


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वलाई सम्पर्क सञ्जालका रुपमा जोड्ने मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झण्डै एक महिनायता बन्द छ । मुलुक लकडाउनमा रहेको तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको अवस्थामा पनि अन्तर्राष्ट्रिय विमानस्थमा दैनिकजसो उडान भए ।

लकडाउनको अवधिमा करिब दुई दर्जन अन्तर्राष्ट्रिय उडान भएका छन् । चैत १० देखि आज २६ गतेसम्म विभिन्न अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक कम्पनीले १९ वटा अन्तर्राष्ट्रिय उडान गरेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

यी सबै उडान चार्टर्ड र केही कार्गो उडान हुन् । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले लकडाउनको अवधिमा १९ वटा अन्तर्राष्ट्रिय उडानबाट तीन हजारभन्दा बढी विदेशी स्वदेश फर्किएको जानकारी दिए ।

यी उडानमध्ये सबैभन्दा बढी कतार एयरवेजको नौ, नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को चार तथा कोरियन, मलेसिया, मालिन्दो, इत्तिहाद, चेकरिपब्लिकन र टिटान एयरवेजको समान एक–एक उडान भएका छन् ।

यसबीचमा विशेषगरी युरोपेली मुलुक जर्मनी, फ्रान्स, न्यूजिल्याण्डलगायतका तथा मलेसिया, चेकरिपब्लिकन, अमेरिका र बेलायतका नागरिक घर फर्किएका हुन् ।

नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा उनीहरुलाई नेपालका विभिन्न गन्तव्यबाट उद्धार गरी काठमाडौँ ल्याउन सहजीकरण गरेको थियो ।

सम्बन्धित मुलुकका नेपालस्थित दूतावासले नेपालको परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई चार्टर्ड उडान गरी स्वदेश लगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वटा वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

आन्तरिकतर्फ पनि लकडाउन शुरु भएदेखि नै सबै उडान बन्द छ । करिब १० दिन दैनिकजसो आन्तरिकमा उद्धार र कार्गो उडान भए । आन्तरिकमा १० हेलिकप्टर कम्पनीसहित १९ वायु सेवा प्रदायकले उडान गर्छन् ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा कोभिडको सङ्क्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । पछिल्लो पटक वैशाख ३ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको थियो ।

लकडाउनको अवस्थामा सरकारले चैत ९ गतेदेखि नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लगाएको थियो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मङ्गलबार भएको वैठकले आगामी वैशाख १५ गतेसम्म अन्तर्राष्ट्रिय हवाई प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको थियो । अघिल्लो चैत १६ गतेको समिति बैठकले वैशाख ३ सम्म उडान बन्द गरेको थियो ।

बेलायत र जर्मनका ५४० भन्दा बढी नागरिक फर्किए

विभिन्न मुलुकले नेपालमा रोकिएका आफ्ना नागरिकलाई चार्टर्ड उडानमार्फत फिर्ता लगिरहेका छन् । यसैबीच बेलायत र जर्मनले आज ५४० भन्दा बढी नागरिक फर्ता लगेका छन् ।

जर्मनीले कतार एयरवेजको जहाज चार्टर्ड गरी २५८ नागरिक फिर्ता लगेको छ भने आजैँ बेलायतको टिटान एयरवेज मार्फत २५२ भन्दा बढी नागरिकलाई स्वदेश फर्काएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए ।

बेलायतले एक दुई दिनभित्रै थप नागरिकलाई स्वदेश लैजाने तयारी गरेको बताइएको छ । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार मार्च २१ सम्म करिब २५ हजार विदेशी नागरिक नेपाल आएका छन् ।

यीमध्ये तीन हजारभन्दा बढी स्वदेश फर्केका छन् । नेपालमा कूटनीतिक मिसनका झण्डै पाँच हजार विदेशी नागरिक रहेको छन् । अन्य विदेशी नागरिकको अवस्थाबारे अध्ययन भइरहेको बोर्डले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  २ : ४७ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,