उपत्यकामा चालकको लापरवाहीबाट बढी दुर्घटना « Khabarhub

उपत्यकामा चालकको लापरवाहीबाट बढी दुर्घटना


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा सवारी चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष २०७६/७७ मा नौ हजार ४६१ दुर्घटना भएकामध्ये अधिकाशं चालकको लापरवाहीबाट हुने गरेको छ ।

उपत्यकामा चालकको लापरवाहीबाट आठ हजार ४७२ दुर्घटना भएको छ । यस्तै, मादक पदार्थ सेवनबाट ४३५, तीव्रगतिबाट ४२२, ओभरटेकबाट ५८, यान्त्रिक गतिविधि ४९, सडकको दुरावस्थाबाट १६, पैदलयात्रुको लापरवाहीबाट चार र मौसम/चौपायाबाट पाँच दुर्घटना भएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल चालकले सवारी नियम नमान्ने प्रवृत्तिका कारण उपत्यकामा धेरै दुर्घटना हुने गरेको बताउँछन् । “तीव्र गति, मादक पदार्थ सेवन, गाडी तन्दुरुस्त अवस्थामा नराख्ने प्रवृत्तिका कारण पनि बढी दुर्घटना हुने गरेको छ,” उनले भने ।

उपत्यकामा सवारी दुर्घटनाबाट मृत्यु हुनेमा १७ देखि ३५ वर्ष उमेर समूहका बढी रहेका छन् । महाशाखाका अनुसार आव २०७६/७७ मा उपत्यकामा सवारी दुर्घटनाबाट १४५ जनाको मृत्यु भएको छ । जसमा १७ देखि ३५ वर्षका ९४ जना रहेका छन् ।

यस्तै १६ वर्ष मुनिका ७ र ३६ वर्षभन्दा माथिका ४४ जना रहेका छन् । उपत्यकामा गत आव २०७५/७६ मा सवारी दुर्घटनाबाट २५४ जनाको मृत्यु भएको थियो ।

उपत्यकामा सवारी दुर्घटनाबाट मृत्यु हुनेमा दुई पाङ्ग्रे चालक बढी रहेका छन् । आव २०७६/७७ मा सवारी दुर्घटनाबाट ७६ जना दुई पाङ्ग्रे (मोटरसाइकल/स्कुटर) चालकको मृत्यु भएको हो । यस्तै, मृत्यु हुनेमा ४७ पैदलयात्रु, बस दुर्घटनाबाट ६, साइकल दुर्घटनाबाट पाँच, ट्रक दुर्घटनाबाट पाँच, ट्रिपर दुर्घटनामा तीन र कार दुर्घटनाबाट तीन जनाको मृत्यु भएको छ ।

उपत्यकामा बिहान र बेलुकाको समय भन्दा दिउँसोको समयमा बढी दुर्घटना हुने गरेको छ । उपत्यकामा आव २०७६/७७ मा दुर्घटना भएका नौ हजार ४६१ सवारी साधनमध्ये दिउँसोको समयमा बढी दुर्घटना भएको देखिन्छ ।

बिहान १२ बजेदेखि साँझ ६ बजेसम्म तीन हजार ७८६ दुर्घटना भएका छन् । यस्तै, बिहान ६ बजेदेखि १२ बजेसम्म दुई हजार ९०६, बेलुका ६ बजेदेखि राति १२ बजेसम्म दुई हजार २८५ र राति १२ बजेदेखि बिहान ६ बजेसम्म ४८४ दुर्घटना भएका छन् । महाशाखा प्रमुख ढकाल दिउँसोको समयमा सडकमा अत्याधिक सवारीसाधन निस्कने र तीव्र गतिका साथ चलाउने कारण बढी दुर्घटना हुने गरेको बताउँछन् ।

उपत्यकामा एक ट्राफिक प्रहरीले एक हजार २८४ सवारी साधन व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ । उपत्यकामा ट्राफिक जनशक्तिको दरबन्दी एक हजार ८७ रहेपनि हाल एक हजार ४०० भन्दा बढी ट्राफिक प्रहरी कार्यरत छन् ।

काठमाडौं उपत्यकामा ४० ट्राफिक प्रहरी एकाई रहेको छ । यस्तै, उपत्यकामा दुई हजार ८३ किलोमिटर सडक छ । यातायात व्यवस्था विभागका अनुसार आव २०७६/७७ को कात्तिक मसान्तसम्म वाग्मती अञ्चलमा १३ लाख ९६ हजार ५५० सवारीसाधन दर्ता भएका छन् । जसमध्ये नौ लाखको हाराहारीमा उपत्यकामा सञ्चालित छन् । यस्तै, देशभर ३५ लाख ३९ हजार ५१९ सवारीसाधन रहेका छन् ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  १ : ०१ बजे

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही– सर्लाहीमा अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी भएको छ ।

बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न

लन्डन– बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ

ट्राफिक कारबाहीमा एकैदिन पाँच लाख बढी राजस्व असुली

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ८१३ सवारीचालकलाई सवारी

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको