चितवन- कोरोना भाइरस संक्रमित र उनीहरुको परिवारलाई हेयको दृष्टिकोणले हेर्नु हुँदैन भन्ने समाचार दिनहुँ आइरहेका छन् ।
सामाजिक सञ्जालमा पनि यस्ता कार्यहरुको व्यापक आलोचना हुने गरेको छ । तर पनि मानिसको व्यवहारमा सुधार आउन सकेको छैन । कोरोना भाइरसको संक्रमण समुदायसम्म नै पुगेको छ तर संक्रमित र उनीहरुको परिवारलाई माया र आवश्यक सहयोग गरौँ भन्ने सकारात्मक सन्देशले भने समुदायमा प्रवेश पाउन सकेको छैन ।
शिक्षित र सम्भ्रान्त समुदाय बसोबास गर्ने समाजमा नै संक्रमितका परिवार पीडित बन्नुपर्ने अवस्था झन् बढ्दै गएको छ । चितवन जिल्ला शिक्षा र स्वास्थ्यका दृष्टिकोणले तराई तथा मधेशका अरु जिल्लाहरुका तुलनामा अगाडि रहेको मानिन्छ । यही जिल्लाका मुख्य शहरी क्षेत्रमा बसोबास गर्ने शिक्षित भनिएको बर्गबाट नै कोरोना भाइरस संक्रमितका परिवारहरु पीडित बन्नुपरेको तीतो यथार्थ यहाँ अहिले पनि कायमै छ ।
पत्रकार वसन्त ढुङ्गानाका दाजुलाई संक्रण देखिएपछि उनी २४ दिनसम्म दाजुसँगै घरमै बसे । उनीहरुको घर भरतपुर महानगरपालिका वडा नं.८ लालिगुराँस चोकमा छ । उनीहरुको २४ दिनको समय पूरै तनावमा बित्यो । दाजुलाई संक्रमण भयो, भाउजू छोराछोरी र उनलाई संक्रमण भएन ।
दाजुको संक्रमणको अवधिभर परिवार पूरै मानसिक तनावमा रहनु पर्यो । उनले दुखेसो पोखे, ‘दाजुलाई लक्षण नदेखिएकाले रोगका कारणले नभएर समाजका कारणले हामीलाई तनाव सिर्जना भयो ।’
उनका अनुसार घरमा बाहिरबाट तयारी खाना कसैले ल्याइदिँदै गर्दा स्थानीयले प्रहरीलाई खबर गथ्र्यो । केही छिनमा प्रहरी आइपुग्थे । उनले भने, ‘मानौँ कि हाम्रो घर कुनै अपराधीको घरजस्तो भयो ।’ उनले अगाडि थपे, ‘कहिलेकाहीँ त यस्तो ठाउँमा किन घर बनाइएछ भने जस्तो पनि भयो, निकै पछुतो लाग्यो ।’
स्थानीयले जानेर नभएर नबुझेर त्यसो गरेको भन्ने सोचेर आफूहरुले चित्त बुझाउने गरेको उनले बताए । गएको साउन २६ गते संक्रमण देखिएपछि दाजुलाई संक्रमणमुक्त हुन लामो समय लागेको ढुङ्गानाले जानकारी दिए ।
जिल्ला अदालत चितवन बार एशोसिएशनका अध्यक्ष कमल पाठककी १०९ वर्षीया मावली हजुरआमाको कोरोना संक्रमणका कारण मृत्यु भयो । उनको स्याहारमा जुटेका पाँच जना सानीआमा, एक नातिनी र एक नातिनी ज्वाइँमा पनि संक्रमण देखियो । पाठकको एकजना सानीआमा अहिले पनि भरतपुर अस्पतालका सघन उपचार कक्षमा उपचाररत छन् ।
खैरहनी नगरपालिका वडा नं ३ का स्थायी वासिन्दा पाठकको भनाइअनुसार त्यसपछि त्यहाँ जोडिएका ६१ सदस्य १८ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्यो ।
परिवारले भोगेको पीडा यहाँ भनेर व्याख्या गर्न नसकिने उनको अनुभव छ । पाठकले भने, ‘क्वारेन्टिनको अवधि पार गरेर पिसिआर नेटेटिभ आउँदा पनि अहिले पनि समाजमा घुलमिल हुन गाह्रो भयो । म नजिक गएँ भने कतिपय बसिरहेका मानिस उठेर हिँड्छन् ।’
सानीआमालाई अस्पतालमा भएको गाह्रो आफैँमा पीडादायी भएको उनी बताउँछन् । सघन उपचार कक्ष बाहिरबाट बिरामी हेर्दै गर्दा मन भक्कानिने गरेको उनले गुनासो गरे । अक्सिजन फाल्ने, शैयाबाट भुईंमा झर्ने जस्ता समस्या हुने गरेको भए पनि डर र त्रासका कारण त्यस्ता बिरामीले उपचार राम्रोसँग पाउन नसकेको उनले बताए ।
संक्रमितमध्येकै अन्य बिरामीले सक्नेले नसक्नेलाई सेवा गरिरहेको उनले बताए ।
भरतपुर महानगरपालिका वडा नं. २ निवासी अमिर रामदामको एकाघरमा बस्ने काकाको कोरोना संक्रमणबाट निधन भएको छ । सँगै बसेका ७४ वर्षीय हजुरबुबा संक्रमित भए । उनले भने, ‘हामीले यतिबेला एक्लो महसुस गरेका छौँ ।’ कतिपय साथीभाइले टेलिफोन गर्दा समेत कोरोना सर्ला जस्तो गरेको उनको भनाइ छ । सीमित सम्पर्कमा आएकाहरुबाट रासन पानी मगाएर गुजारा चलाउने गरेको रामदामको दुखेसो छ । उनले भने, ‘दुःखका बेला समाजले सहयोग गर्ला भन्ने आशा थियो, तर निराश भइयो ।’
नेपाल पत्रकार महासङ्घ चितवनका सदस्यसमेत रहेका रामदामले समाजलाई बुझाउन नसक्दाका कारण समस्या आउने गरेको बताए । रासस
प्रतिक्रिया