चीनबाट फर्काइने नेपालीलाई राख्न खरिपाटीमा भवन खाली गराइयो, स्थानीयद्वारा विरोध | Khabarhub Khabarhub

चीनबाट फर्काइने नेपालीलाई राख्न खरिपाटीमा भवन खाली गराइयो, स्थानीयद्वारा विरोध


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुईवटा भवन खाली गरिएका छन् ।

प्राधिकरणको दक्षिणतर्फको सबैभन्दा तल रहेको प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गराइएको हो ।

चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्न दुई भवन खाली गराएको नेपाल विद्युत् प्राधिकरण खरिपाटीका सहनिर्देशक केशवराज ओलीले जानकारी दिए ।

होस्टेलको तल्लो भवनको सम्पूर्ण सामान प्राधिकरणको माथिल्लो प्रशासनिक भवनमा सारिएको र वातावरण विभाग भवनको सामान पनि सारिएकोे उनले जानकारी दिए ।

भवन खाली गराउन होस्टेलमा रहेका बिरामीलाई फर्काइएको र दुवै भवनका सबै सामान झिकेर माथिल्लो प्रशासनिक भवनमा सारिएको छ ।

नेपाली सेनाको प्राविधिक, स्वास्थ्य मन्त्रालयलगायत टोलीले अध्ययन गरी उक्त ठाउँको छनोट गर्दै प्रतिवेदन बुझाएपछि सरकारले भक्तपुरको खरिपाटीस्थित प्राधिकरणमा ‘आइसोलेसन’ वार्डका रुपमा क्वारेन्टाइन राख्ने निर्णय गरेको बताइएको छ ।

टोलीले अध्ययनका क्रममा १२४ जनालाई यहाँ राख्न सकिने जानकारी गराउँदै ठाउँ खाली गराएको प्राधिकरणले जनाएको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सवीन प्रधानलगायत सुरक्षा निकायको टोलीले शुक्रबार उक्त स्थानको अवस्था र तयारीको बारेमा अवलोकन गरी जानकारी लिएको कर्मचारीले बताएका छन् ।

टोलीले यो ठाउँको छनोट गर्दा स्वास्थ्य मन्त्रालयबाट आएका कर्मचारीले चीनबाट फर्काउन लागिएका नेपालीलाई राख्न आइसोलेसनमात्रै भएकाले माथिल्लो भवनमा कर्मचारीले काम गर्नसक्ने जानकारी गराएको बताउँदै सहनिर्देशक ओलीले सरकारको यो निर्णयसँगै यहाँका कर्मचारीमा त्रास फैलिएको बताए ।

कर्मचारीमा त्रास फैलिएकाले त्यस क्षेत्रमा बसेर काम गर्नसक्ने वातावरण नभएको भन्दै कर्मचारीलाई कहाँ लैजाने भन्ने निर्णय नभएको बताइएको छ ।

प्राधिकरणभित्र अहिले विभिन्न २६ वटा विभाग एवं कार्यालय रहेको र सबै विभाग बन्द गर्नुपर्ने अवस्था आएको बताइएको छ ।

खरिपाटीमा क्वारेन्टराइन राख्ने सरकारको निर्णयसँगै स्थानीयवासीले चर्को विरोध गर्दै आएका छन् ।

स्थानीयवासीले यो ठाउँमा क्वारेन्टाइन राख्न नदिने भन्दै दैनिक आन्दोलन गर्दै आएका छन् । चाँगुनारायण नगरपालिकामार्फत् सरकारलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

चाँगुनारायण नगरपालिकाको छैटौं नगरसभाले चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै विकल्प खोज्न आग्रह गरेको चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।

उनले चीनबाट फर्काइएका नेपालीका लागि खरिपाटीमा क्वारेन्टाइन राख्ने सरकारको निर्णय कुनैपनि दृष्टिकोणले उपयुक्त नभएको नगरसभाले ठहर गर्दै त्यसको विकल्प खोज्न आग्रह गरेको उनले जानकारी दिए ।

चाँगुनारायणको केन्द्र र बस्तीको बीचमा रहेको यो क्षेत्र कुनैपनि दृष्टिकोणले उपयुक्त नभएको भन्दै यो क्षेत्रमा क्वारेन्टाइन राख्दा स्थानीयवासीबाट आउने अवरोध र संकटलाई मध्यनजर गर्दै सरकारलाई अन्यत्र विकल्प खोज्न आग्रह गरेको उनको भनाइ थियो ।

चाँगुनारायण नगरपालिका–८ का वडाध्यक्ष परासर सापकोटा, वडा नम्बर–२ का अध्यक्ष शिवहरि केसी, वडा नम्बर–३ का अध्यक्ष श्यामसुन्दर धिमाल, वडा नम्बर–४ का वडाध्यक्ष बुद्धिलाल महर्जनले चीनबाट फर्काइएका नेपाली खरिपाटीमा राख्ने निर्णयले आमनागरिकमा त्रास र क्रोध जन्माएको बताउँदै बस्तीको बीचमा क्वारेन्टाइन राख्नु कुनैपनि हालतमा उपयुक्त नभएको बताए ।

बस्तीभन्दा दुई किलोमिटर टाढा क्वारेन्टाइन राख्नुपर्ने अन्तर्राष्ट्रिय मान्यतालाई सरकारले मिच्दै बस्तीको बीचमा चीनबाट फर्काइएका नेपाली राख्न खोजेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।

वडा नम्बर–९ का वडासदस्य कमला गिरीले चीनबाट फर्काइएका नेपालीलाई घनाबस्तीको बीचमा राख्ने सरकारको निर्णयले स्थानीय बासिन्दादेखि पर्यटकीय क्षेत्रलाई असर पर्ने भन्दै सच्याउन माग गरिन् ।

यसअघि, नेपाली कांग्रेसले सरकारको यो निर्णयको विरोध गर्दै आन्दोलन र धर्ना दिएको छ भने नेकपा, नेमकिपा र राप्रपा संयुक्तले पनि खरिपाटीमा क्वारेन्टाइन राख्नै नदिने भन्दै विरोध गरेका छन् ।

यता, सूर्यविनायक वीर दल गणमा पनि क्वारेन्टाइन राख्ने भनिएपनि त्यसबारेमा कुनै जानकारी नआएको र राख्ने ठाउँ नभएको नेपाली सेना वीर दल गणले जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ६ : ४४ बजे

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन प्रधानमन्त्री आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जिल्लाहरूमा भारीदेखि अति

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै समीक्षाले भनिन् : महेश बस्नेतले मेरो चरित्र हत्या गरे

काठमाडौं – गायिका समीक्षा अधिकारीले नेकपा(एमाले)का नेता महेश बस्नेतले आफ्नो

एक सातामा ८८ हजारभन्दा बढी अफगानी इरानबाट स्वदेश फिर्ता

काबुल – अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)लाई उद्धृत गर्दै खामा प्रेसले

मुलुकले जबजका सिद्धान्त पालना गरिरहेको छः महासचिव पोखरेल

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले मुलुक

कमल थापाले भने : राजा फर्काउने आन्दोलन पुनः सुरु हुन्छ

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले