मेलम्चीमा सीएमसीले छाडेको निर्माण सामग्री खेर–७० लाखको सिमेन्ट बिग्रियो, डण्डीमा खिया | Khabarhub Khabarhub

मेलम्चीमा सीएमसीले छाडेको निर्माण सामग्री खेर–७० लाखको सिमेन्ट बिग्रियो, डण्डीमा खिया


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– मेलम्ची खानेपानी आयोजनामा यसअघि कार्यरत इटालियन कम्पनी सीएमसीले छाडेको निर्माण सामग्री खेर गएको छ । निर्माणस्थल हेलम्बु गाउँपालिकामा ठूलो परिमाणमा रहेको सिमेन्ट र डण्डी काम नलाग्ने अवस्थामा पुगेको हो ।

निर्माण कम्पनीले काम गर्न छाडेर जाँदा निर्माणस्थलमा गिट्टी, बालुवा, डण्डीलगायतका निर्माण सामग्री थिए । तीमध्ये गिट्टी र बालुवा प्रयोगमा आए पनि अरु प्रयोगमा ल्याउने अवस्था नरहेको आयोजनाले जनाएको छ । लामो समयसम्म खुला राखिएकाले ठूलो परिमाणमा सिमेन्ट प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको वरिष्ठ डिभिजनल इञ्जिनीयर कमलराज श्रेष्ठले बताए ।

झण्डै रु ७० लाख रकम बराबरको सिमेन्ट बिग्रिएको उनले बताए । उनले भने, “अहिलेसम्म निर्माणस्थलमै रहेको सिमेन्टलाई व्यवस्थापन गरिनेछ ।” यहाँ रहेका फलामका डण्डीमा खिया लागेको छ । यहाँ रहेका डण्डी सिमेन्ट पूरै काम नलाग्ने अवस्थामा पुगिसकेको छैन । विभिन्न किसिमका अस्थायी संरचनामा मात्रै डण्डी प्रयोग गर्न सकिने वरिष्ठ डिभिजनल इञ्जिनीयर श्रेष्ठले बताए ।

निर्माणस्थलमा अहिले झण्डै रु ९० लाख बराबरको डण्डी रहेको छ । उनले भने “डण्डी एकडेढ वर्षसम्म उसै रहेकाले खिया लागिसकेको छ ।” यहाँ रहेको बालुवा र गिट्टी भने प्रयोगमा आइरहेको छ । आयोजनाले अहिले निर्माण गरिरहेको चिनियाँ कम्पनी सिनो हाइड्रोलाई बिक्री गरिरहेको छ । त्यहाँबाट आएको रकम सम्बन्धित आपूर्तिकर्तालाई नै दिइएको वरिष्ठ डिभिजनल इञ्जिनीयर श्रेष्ठले बताए । निर्माणस्थलमा एक हजार गाडी बालुवा र गिटी रहेको पाइएको छ ।

एकातिर यहाँ रहेका निर्माण सामग्री खेर गएका छन् भने अर्कातिर सरकारले यी निर्माण सामग्री खरिदबापत सीएमसीले दिन बाँकी भुक्तानी दिन बाँकी छ । खानेपानी मन्त्रालयका सहसचिवको संयोजकत्वमा रकम भुक्तानीका लागि आवश्यक तयारी गर्न प्राविधिक समिति बनाइएको छ । आयोजनामा काम गरेका कामदारलाई ज्यालाबापत दिनुपर्ने रकम दिइसकिएको छ भने सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी बाँकी छ ।

सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी टुङ्गो लगाउन आवश्यक तयारी भइरहेको मन्त्रालयले जनाएको छ । सीएमसीले भुक्तानी गर्न बाँकी रहेको रकम सम्बन्धी माग दाबी भएका आधारमा समितिले आवश्यक अध्ययन गरिरहेको छ ।

मजदूरलाई ज्यालाबापतको रकम दिनुभन्दा कम्पनीलाई सामानको भुक्तानी गर्न केही समय लाग्ने मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । भुक्तानी बाँकी रहेका भनिएका कम्पनीको माग सही छ–छैन भनी जाँच भइरहेको छ ।

सीएमसीले आयोजना अलपत्र छाडेर गएदेखि नै उनीहरुले आफू पीडित भएको भनी सरकारसँग भुक्तानीको माग गरेको प्रवक्ता शाक्यले बताए ।

लामो समयसम्म पनि सम्पन्न नभएको राष्ट्रिय गौरबका आयोजनामा पर्ने यो आयोजनामा रहेका समस्या हल गर्दै असारसम्ममा मेलम्चीको पानी काठमाडौँ झार्ने गरी तयारी भइरहेको छ ।

मन्त्रालयले असारभित्रमा काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउने गरी गत २ गते श्वेतपत्र जारी गरेको थियो । खानेपानीमन्त्री बिना मगरले बाँकी काम सम्पन्न गर्दै चालु आर्थिक वर्षभित्रै उपत्यकामा खानेपानी ल्याउने गरी श्वेतपत्र जारी गरेकी थिइन् ।

पन्ध्र महिनामा निर्माण सम्पन्न गर्ने गरी सरकारले गत असोजमा सिनो हाइड्रोसँग सम्झौता गरेको थियो । कम्पनीसँग गत असोज १२ मा सुरुङ निर्माणका लागि र असोज २४ मा हेडबक्स निर्माणको सम्झौता भएको थियो ।

मेलम्ची खानेपानी विकास समितिका अनुसार अहिलेसम्म आयोजनाको भौतिक प्रगति ९५ दशमलव १२ प्रतिशत रहेको छ भने वित्तीय प्रगति ८९ दशमलव सात प्रतिशत रहेको छ । आयोजनाका १४ गेटमध्ये नौ वटा सम्पन्न भइसकेका छन् भने मुख्य सुरुङ्गको अन्तिम काम (फिनिसिङ) ६० प्रतिशत सकिएको छ । पानी प्रशोधनका लागि दुई वटा प्रशोधन केन्द्र निर्माण गरिएकामा दुबै सम्पन्न भइसकेका छन् । यीमध्ये एउटा एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा र अर्काे जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक सहयोगमा निर्माण भएको हो ।

काठमाडौँ उपत्यकामा रहेको खानेपानीको समस्या हल गर्न मेलम्चीको पानी काठमाडौँ ल्याउन संस्थागत पहल शुरु भएको दुई दशक भयो । यसबीचमा विभिन्न संस्था यसमा काम गरेर गए ।

विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एशियाली विकास बैँकले सन् २००१ मा सम्झौता भएको थियो । पछिल्लो पटक काम गरेको इटालियन कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिक रुपमा टाट पल्टेर कम्पनी फिर्ता भयो ।

पाँच महिनाको अन्यौलतापछि गत असोजमा नयाँ कम्पनी काममा लागेको हो । अहिलेसम्म निर्माणका काममा नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ ले असर नपुर्‍याएको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  २ : ३५ बजे

राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरु

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन

समृद्धिका निम्ति सबै नेपाली एक ढिक्का हुनुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकको भौगोलिक अखण्डता, शान्ति, अग्रगति

राष्ट्रिय प्रशारण लाइनले उज्यालो बन्दै मनाङ

मनाङ– मनाङको पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)

दिव्योपदेश राष्ट्र निर्माणका लागि मार्गदर्शक : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण

राष्ट्रपति पौडेलले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीका अवसरमा शनिबार सिंहदरवारको