हेटौँडा- अनिच्छुक गर्भ बसेका कारण १७ पटकसम्म गर्भपतन गराइसकेकी हेटौँडा उपमहानगरपालिका–६ की ४४ वर्षीया एक महिलाले १७ पटकसम्म गर्भपतन गराइन ।
दुई छोरी र एक छोराकी आमा उनले भनिन्, ‘१७ वटा बच्चा फालिसकेँ यही कारणले मलाई रगत बग्ने रोग निस्किएको छ । अब यही रोगले ज्यान लिन्छ जस्तो छ, निकै समस्या हुने गर्छ ।’ स्वास्थ्य समस्याले अस्पताल आएकी उनले आफ्नो अवस्थाका बारेमा सुनाइन ।
यति पीडा सहेकी उनको अर्को अझै असह्य पीडा छ । उनका श्रीमान् आफूसँग नरहेको र अर्की श्रीमती ल्याएर डेढ वर्षदेखि छुट्टै बस्दै आएको उनले सुनाइन । । अझै दुःखको कुरा त यो छकि उनका श्रीमान् सरकारी कर्मचारीसमेत हुन् । श्रीमानले हेरचाह नगरेपछि उनी अहिले माइती नेपालमा उजुरी गर्न पुगेकी छन् ।
उनले रुँदै भनिन्, ‘परिवार नियोजनको साधन प्रयोग गरौँ भनेर कैयौँपटक बिन्ती गर्दा पनि उनले मान्नुभएन । आज मेरो शरीरको यो अवस्था भयो । अब उहाँ नै साथमा हुनुहुन्न, अर्को श्रीमती ल्याएर अलग्गै बस्न थाल्नुभएको छ ।’
उनी उपचारका लागि हप्तैपिच्छेजस्तो अस्पताल जानुपर्छ । औषधि पनि धेरै खाइसकिन । तर रगत बग्न रोकिएको छैन । सानै उमेरमा विवाह गरेकी उनलाई विवाहको २० वर्षपछि श्रीमानले छाडेको बताइन । उमेर ढल्किँदै गर्दा शरीरमा रोग देखिन थालेपछि उनलाई बाँकी जीवनको बारेमा चिन्ता बढेको छ ।
हर्मनको गडबडीले शरीरमा देखिएका समस्या समाधान गर्न औषधि खाउन्जेल सन्चो हुने र औषधि खान छोडेपछि बल्झिने गरेको उनको भनाइ छ । श्रीमान् सरकारी कर्मचारी भए पनि आफ्नो शारीरिक समस्याका कारण आफूलाई छाडेर अर्की श्रीमती ल्याएको उनको दुखेसो छ ।
हाम्रो समाजमा उनीजस्ता धेरै महिला छन् जो गर्भपतनलाई परिवार नियोजनको साधनका रुपमा प्रयोग गरेर समस्यामा परेका छन् । परिवार नियोजनाको साधन प्रयोग नगर्ने तर बच्चा पनि नचाहने दम्पतीले बच्चा फाल्नका लागि जथाभावी औषधि सेवन गर्दा समस्या हुने गरेको विशेषज्ञ चिकित्सकको भनाइ छ ।
नेपाल सरकारले महिलाको स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी परिवार नियोजनको साधन सर्वसाधारणको पहुँचमा पुर्याएको भए पनि प्रयोग नगर्ने र बच्चा बसेपछि औषधि प्रयोग गर्ने र समस्या भएपछि मात्र अस्पताल आउने गरेकाले समस्या बढ्दै गएको हेटौँडा अस्पतालका महिला तथा प्रसूति रोग विशेषज्ञ चिकित्सक राघबेन्द्र ठाकुरले बताए ।
चिकित्सक ठाकुरका अनुसार गर्भपतनपश्चात् अत्यधिक रक्तश्राव भएर आउने बिरामी धेरै हुन्छन् । चिकित्सक ठाकुर भन्नुहुन्छ, ‘पाठेघरमा बच्चाको केही टुक्रा बाँकी हुन्छ भने केही टुक्रा झरिसकेको हुन्छ । कसैलाई तत्काल रगत दिएर उपचार गर्छौं । यस्तो अवस्था आउने महिलाले बच्चा फाल्नका लागि जथाभावी औषधि प्रयोग गरेको पाइन्छ तर महिला त्यो अस्वीकार गर्छन् । ‘हाम्रो ध्यान बिरामीको जवाफभन्दा पनि उनीहरुको स्वास्थ्य अवस्थामा जान्छ ।’
ठाकुरका अनुसार औषधिको प्रयोगले गर्भपतन गराउनु सुरक्षित मानिए पनि १० हप्ता नाघेपछि औषधि प्रयोग गर्नाले महिलाको स्वास्थ्यमा विभिन्न प्रकारका जटिलता निम्त्याउँछ ।
१० हप्ता नाघेको बच्चा औषधिले फाल्न समस्या हुने र केही टुक्रा गर्भाशयमा नै बस्नाले समस्या आउने उनी बताउँछिन । अस्पतालमा आउने धेरैजसोले परिवार नियोजनको साधन प्रयोग नगरेको पाइएको उनको भनाइ छ ।
सरकारले नै सुरक्षित गर्भपतन गराउँदै आएको भए पनि समाजमा हुने मान्यता, चेतनाको कमी, बलात्कार तथा अन्य आपराधिक घटनाले गर्दा महिलालाई असुरक्षित गर्भपतन गराउन बाध्य बनाएको देखिन्छ । यसको अर्को उदाहरण हुनुहुन्छ हेटौँडा अस्पतालमा ६ महिनाको गर्भ फाल्न पुगेकी १७ वर्षीया एक किशोरी । नाम बताउन नचाहने उनले आफ्नो पेटमा बच्चा रहेको भर्खर थाहा पाएको बताइन ।
उनले भनिन्, ‘साथीलाई घर पुर्याएर फर्कंदा बाटोमा देखेर घर नजिकैको दाइले आफ्नो घर बोलाउनुभयो र मैले नाई नाईभन्दा पनि जान बाध्य भएँ र बलात्कारमा परेँ, रुँदै भन्नुभयो ।’
उनले भनिन्, ‘महिनावारी रोकिएको धेरै भएकाले ममी हस्पिटल आउँदासँगै ल्याउनुभयो । जचाउँदा त बच्चा रहेछ ।’ उहाँ अहिले हेटौँडा अस्पतालले सञ्चालन गरेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको निगरानीमा हुनुहुन्छ । उनी नाबालिक रहेको र जबर्जस्ती करणीबाट गर्भ रहेकाले गर्भपतन गराउन लागेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।
यस्तै गरिबीका कारणले हेटौँडा–८ की अर्की १४ वर्षीया किशोरी पनि माइती नेपाल हेटौँडा कार्यालयको सहयोगमा आइन । १४ वर्ष नपुग्दै १९ वर्षीय युवकसँग भागी विवाह गरिन । गर्भ बसेपछि श्रीमानले छाडेर भागेको उनले बताइन । सार्वजनिक यातायातका ती सहचालकले पुनः अर्की १७ वर्षकी किशारीसँग विवाह गरेपछि न्याय खोज्दै माइती नेपालको सम्पर्कमा आएकी उनलाई बल्ल आफ्नो बालविवाह भएको थाहा भयो । त्यसपछि उनकी सामु पनि गर्भपतनबाहेकको अर्को उपाय थिएन ।
मकवानपुरको सेवाप्रदायक संस्था सुनौलो भविष्यकी गर्भपतनसम्बन्धी परामर्शदाता कल्पना शर्माले भनिन, ‘आफूलाई शङ्का लागेर मेडिकलबाट औषधि खान्छन्, मेडिकलले पिसाब जाँच गर्छ पोजेटिभ देखेपछि औषधि दिन्छ तर कति समयको हो भन्ने जानकारी नै राख्दैन ।’
सरकारले औषधिमार्फत १० हप्तासम्मको गर्भपतन सुरक्षित भएको बताए पनि १५ हप्ता नागिसकेको गर्भवतीले औषधि पसलबाट जथाभावी औषधि सेवन गर्नाले चुनौती थपिएको शर्माको भनाइ छ ।
वाग्मती प्रदेशमा वार्षिक १८ हजारभन्दा बढी महिलाले गर्भपतन गराउने गरेका छन् । यसमध्ये आठ प्रतिशतको त मृत्यु नै हुने गरेको छ । गर्भपतन गराउने महिलामध्ये ५८ प्रतिशतले असुरक्षित गर्भपतन गर्ने गरेको तथ्याङ्कले देखाएको छ ।
सुरक्षित गर्भपतनबारे प्रचारप्रसारको अभावका कारण यो चुनौती अझै जटिल देखिएको छ । मकवानपुरमा अघिल्लो वर्ष ८८९ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । यस वर्षमात्र दुई हजार ३२६ जनाले गर्भपतन गरिसकेका छन् ।
महिलालाई प्रजनन स्वास्थ्यको अधिकार छ । त्यसैले सुरक्षित गर्भपतन सेवा पनि सरकारले प्रदान गर्दै आएको छ । सरकारले निजी स्वास्थ्य संस्थामा १२ हप्ता र सरकारी अस्पतालमा २८ हप्तासम्मको सुरक्षित गर्भपतन गराउँदै आएको छ । बाह्र हप्तासम्मको गर्भ स्वेच्छाले फाल्न पाउने अधिकार महिलालाई छ ।
हाडनाता करणी, जबर्जस्ती करणी, बच्चा विकलाङ्ग हुनसक्ने अवस्था, बच्चाको कारणले आमाको स्वाथ्यमा प्रतिकूल असर पर्नसक्ने अवस्थामा हेटौँडा अस्पतालमा २८ हप्तासम्मको गर्भपतन सेवा उपलब्ध छ । यद्यपि, १८ वर्षभन्दा मुनिका किशोरीको हकमा नातेदार लिएर आउनुपर्ने व्यवस्था छ ।
मुलुकी ऐनको ११औँ संशोधनपछि नेपालमा गर्भपतनले कानूनी मान्यता प्राप्त गरेको हो । गर्भपतन सेवा सञ्चालन गर्न २०६० मा सुरक्षित गर्भपतन सेवा प्रक्रिया थालनी भएको थियो । मकवानपुरमा सूचीकृत सरकारी स्वास्थ्य संस्था १५ वटा र सूचीकृत निजी तीनवटा स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन सेवा सञ्चालन गरेका छन् ।
नेपाल सरकारले २०५९ सालमा गर्भपतनलाई कानूनी मान्यता प्रदान गरेको थियो । त्यसयता गर्भपतनलाई महिला अधिकारसँग जोडेर वकालत गर्ने गरिए पनि यो महिलाको प्रजनन समस्याका रुपमा झनझन जटिल बन्दै गएको जिल्ला समन्वय समिति मकवानपुर उपप्रमुख भगवती पुडासैनीले बताइन ।
उपप्रमुख पुडासैनीले सुरक्षित गर्भपतनबारे महिला र पुरुषलाई सँगै राखेर अभिमुखीकरण गरिनुपर्ने बताइन। सुरक्षित गर्भपतनबारे आमधारणामा परिवर्तन आएमात्र सुरक्षित गर्भपतन सेवा प्राप्त गर्न महिला सहजै स्वास्थ्य संस्थामा आउने पुडासैनीको धारणा छ ।
वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका अनुसार गत आर्थिक वर्षमा यस प्रदेशका सात हजार १६९ जनाले औजार प्रयोग गरेर गर्भपतन गराएको कार्यालयका तथ्याङ्क अधिकृत इन्द्रमणि भण्डारीले जानकारी दिए ।
उनका अनुसार गत आवमा यस प्रदेशका ११ हजार ३३६ जनाले औषधिको प्रयोगले गर्भपतन गराएका छन् । त्यसैगरी चालू आवमा ६ हजार ६८२ जनाले औषधिको प्रयोग गरेर र पाँच हजार ४५९ जनाले औजारको प्रयोगले गर्भपतन गराएको अधिकृत भण्डारीले बताए ।
भण्डारीका अनुसार गत आवमा २० वर्षमुनिका पाँच हजार ९६८ जनाले औषधिको प्रयोग र एक हजार १५० जनाले औजारको प्रयोगले गर्भपतन गराएका छन् । त्यसैगरी चालू आवमा ७१४ जनाले औषधि र ९२२ जनाले औजारबाट गर्भपतन गराएका छन् र ती सेवाग्राही २० वर्षमुनिका रहेको तथ्याङ्कमा उल्लेख छ ।
गर्भपतनका लागि आएकालाई सरकारी सेवा केन्द्रले परिवार नियोजनको प्रयोगबारे सचेतना गराएपछि गत वर्ष दुई हजार ८३४ जनाले परिवार नियोजनको साधन प्रयोग गरेको अधिकृत भण्डारीले जानकारी दिए ।
त्यसैगरी गर्भपतन गराएकामध्ये चालू आवमा एक हजार ६०८ जनाले परिवार नियोजनको साधन प्रयोग गरिरहेका छन् । मकवानपुरमा मात्र दुई हजार ३२६ जनाले गर्भपतन गराएको तथ्याङ्कमा उल्लेख छ ।
गर्भपतन परिवार नियोजनको विकल्प होइन तर महिलाले सन्तानको रहर पुगेपछि थप सन्तानको बोझ कम गर्नका लागि स्वेच्छाले वा श्रीमानको करमा गर्भपतन गर्ने गरेका छन् । जसका कारण वर्षेनी गर्भपतन गराउनेमध्ये आठ प्रतिशत महिलाको मृत्यु हुने गरेको छ ।
गर्भपतनको जोखिम कम गर्न गर्भपतनकै लागि जथाभावी औषधिको उपलब्धता हुन नहुने र महिला पुरुष दुवैलाई परिवार नियोजनको साधनसम्बन्धी आवश्यक जानकारी गराउनुपर्ने विज्ञहरुको सुझाव छ ।
प्रतिक्रिया