राहतको प्रतीक्षामा बाढीपीडित | Khabarhub Khabarhub

राहतको प्रतीक्षामा बाढीपीडित


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङको ढोरपाटन नगरपालिका–९ का बाढीपीडितका लागि प्राप्त भइरहेको राहत ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङमै थन्किएको छ । घरबार गुमाएका बाढीपीडित भने राहतको प्रतीक्षामा बसेका छन् ।

ढोरपाटन–९ मा यही भदौ १७ गते राति भूजीखोलामा आएको बाढीले ठूलो जनधनको क्षति पुगेपछि देशविदेशबाट राहत जुटे पनि सडक सम्पर्क विच्चेछ भएकाले राहत पुर्याउन समस्या भएको छ ।

बाढीका कारण हालसम्म १७ जनाको मृत्यु भइसकेको छ भने २१ जना अझै वेपत्ता छन् । बाढीले ८० वटा घर पूर्ण र ७१ घरमा आंशिक क्षति बनाएको छ ।
बाढीले ठूलो क्षति पुर्याएको खबरसँगै विभिन्न सङ्घसंस्था तथा व्यक्तिले राहत अभियान चलाइरहेका छन् । ताराखोला गाउँपालिका, लोकदोहोरी प्रतिष्ठान बागलुङ, लायन्स क्लब अफ बागलुङ, दलित सञ्जाल बागलुङलगायत दर्जनौँ सङ्घसंस्थाले नगरपालिकाको केन्द्र बुर्तिबाङमा राहत पुर्याएका छन् । भदौ १८ गतेदेखि सङ्कलित हुनथालेको राहत सडक अभावका कारण पीडितसमक्ष पुर्‍याउन समस्या भएको हो ।

एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने भएपछि राहत दिने शुभेच्छुक तथा दाताहरुले नगरपालिकालाई राहत हस्तान्तरण गरेका छन् । यद्यपि गृहमन्त्री रामबहादुर थापा, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपाली कांग्रेसका नेता द्रोण कुँवर तथा जित शेरचनले हेलिकप्टरमार्फत केही राहत भने बाढीग्रस्त क्षेत्रमा पुर्‍याएका थिए ।

विपतपछि बाढीग्रस्त क्षेत्रमा पुगेका सङ्घसंस्था र व्यक्तिले दिएको राहत पनि ढोरपाटन–९ को वडा कार्यालयमा राखिएको छ । पीडित परिवारका सदस्यहरु भौगोलिक रूपमा पनि विकट क्षेत्रमा रहेको र मोबाइल सम्पर्कमा समेत समस्या भएकाले समन्वयमा पनि वडा कार्यालयलाई सकस भएको छ ।

नगरपालिकाले खोज तथा उद्धार कार्य जारी रहेको र तथ्याङ्क सङ्कलन गर्ने काम पनि चलिरहेकाले हाल ढोरपाटन नगरपालिकाको तर्फबाट मात्रै राहत सामग्री वितरण गरिएको ढोरपाटनका नगर–उपप्रमुख करमती पुनले जानकारी दिए ।

“सडक र सञ्चार सम्पर्क विच्छेद, घटनास्थल पुग्नै समस्या तथा पीडितहरुले राहत लिनसमेत नसकेका कारण राहत वितरणमा चुनौती छ”, पुनले भने, “तत्कालका लागि खाद्यान्न वितरण भइसकेको र अन्य राहतहरु क्रमशः वितरण गर्दै जानेछौं।”

पुनका अनुसार भौगोलिक विकटता र सडक अवरुद्ध भएका कारण राहत वितरणमा समस्या भइरहेको छ । सडक खुलाउन नसके खच्चडमार्फत राहत लैजाने उनको भनाइ छ । वडा कार्यालयमार्फत पीडित परिवारलाई एक बोरा चामल, दाल तथा तेल वितरण गरे पनि केही पीडितले नपाएको गुनासो व्यक्त गरेका छन् ।

हालसम्म पीडितहरुको तथ्याङ्क सङ्कलनमै रहेका कारण राहत वितरणमा ढिलाइ भएको वडा कार्यालयले जनाएको छ । गृहमन्त्री र मुख्यमन्त्रीले हेलिकप्टरमार्फत वितरणका लागि लगेको त्रिपाल, भाँडाकुँडा र म्याट्रेससमेत वडाकार्यालयमै थन्किएको छ ।

असली पीडितहरु दाहसंस्कार र वेपत्ताको खोजीमा रहेका कारण राहतका लागि वडा कार्यालयमा समेत आउन सकेका छैनन् । वडा कार्यालयदेखि तीन घण्टाको पैदलयात्राको दूरीमा रहेको र अहिले पैदलबाटो समेत नरहेका कारण पीडितको घरमै राहत पुर्याउन सकिएको छैन । बाढीपीडितले भने राहत नपाएको गुनासो गरेका छन् ।

हालसम्म नगरपालिकाको कुनै राहत नपाएको बाढिपीडित लालबहादुर विकले गुनासो गरे । यस्तै अर्का पीडित तुलबहादुर विकले नगरपालिकाले एक केजी दाल र एक लिटर तेलमात्रै दिएको बताए । नगरपालिकाले राहत दिएको भन्ने सुने पनि आफूले राहत नपाएको पीडितहरुको गुनासो छ ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ९ : ०७ बजे

प्रधानमन्त्रीसँगको भेटपछि ऋचाको प्रतिक्रिया : सानो कदमबाटै विशाल यात्रा सम्भव हुन्छ

काठमाडौं – अभिनेत्री ऋचा शर्माले परिवर्तनको विशाल यात्रा सानो कदमबाट

निजी जीवनमा प्रहार गरेको भन्दै सन्दीपको आक्रोश, साथमा उत्रियो विराटनगर किंग्स

काठमाडौं – नेपाली क्रिकेटर सन्दीप लामिछानेले युट्युब च्यानल प्याराडाइम टिभीले

झिलिमिलीले चम्किएको धरान

धरान –‘फेसन’ र सांस्कृतिक विविधताको सहर भनेर परिचित धरान तिहारको

सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीसँगै हल्का हिमपातको सम्भावना

काठमाडौं – हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक

आजको विनिमय दर : अमेरिकी डलर स्थिर हुँदा यूरो र पाउण्डको मूल्य घट्यो

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय